६० वर्षको राजनीतिक जीवन दाउमा राख्दै देउवा

विन्दुकान्त घिमिरे

नेपाली कांग्रेसका यस अघिका सबै सभापतिहरू राजनीतिकर्मीको हैसियतबाट माथि उक्लिइसकेका छन् । बिपी कोइराला राजनेताको हैसियतमा पुगेको उदाहरण छ भने, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला राजनीतिज्ञको हैसियतमा पुगेको नजीर छ । देउवा अहिलेसम्म नेपाली कांग्रेसको यस्तो सभापति हुन् जसले आफूलाई राजनीतिकर्मीबाट माथि उठाउन सकेका छैनन् । तर, यतिबेला भने देउवा आफ्नो राजनीतिको दोबाटोमा छन् ।

सत्तारूढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति आउन दुई दिन मात्रै बाँकी छ । तर, सभापति पदका कतिपय आकांक्षीहरू पर्ख र हेरको अवस्थामा छन् । प्रधानमन्त्रीसमेत रहेका वर्तमान सभापति शेरबहादुर देउवाले आपैmँ अघि सर्ने भन्दै छलफल चलाउन थालेको सात महिना बितिसकेको छ, तर उनले यो आलेख तयार गर्दासम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्न सकेका छैनन । इतर पक्षभित्र चार जना आकांक्षी छन् । चार जनामध्येबाट एक जना बनाउने गृहकार्यमा इतरपक्ष छ, तर यो गृहकार्य भ्यागुताको धार्नी भइरहेको छ । चारै जना आकांक्षीको एउटै दावी छ, ‘मैले मात्रै देउवालाई पराजित गर्न सक्छु अरूले सकदैनन् ।’ तर देउवालाई पराजित गर्न सक्ने बस्तुगत आधार भने इतर पक्षका कुनै पनि आकांक्षीहरूले गर्न सकेका छैनन् ।

देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरू चुनिइसकेका छन् । संस्थापन र इतर पक्ष दुवैले आ–आफ्नो पल्ला भारी भएको दावी गरिरहेका छन् । तर अधिवेशन सम्पन्न भएका ६१ जिल्लाको परिणाम हेर्दा संस्थापन पक्ष अगाडि देखिएको छ । अधिवेशन सम्पन्न भएका ६ वटा प्रदेशको परिणामले पनि संस्थापन पक्षको हैसियत ५५ र इतर पक्षको हैसियत ४५ प्रतिशत रहेको पुष्टि गरेको छ । तर यहाँनिर नजरअन्दाज गर्न नसकिने कुरा के हो भने नेता कृष्णप्रसाद सिटौला समूहसँग तालमेल गरेका कारण संस्थापन पक्षका जिल्ला सभापतिहरूको संख्या धेरै देखिएको हो र प्रदेश अधिवेशनमा संस्थापन पक्षले बाजी मारेको हो । संस्थापन पक्षभित्रै उपसभापति बिमलेन्द्र निधिसमेत सभापति पदको उम्मेदवार बन्न लागेका कारण थप रणनीति बनाउने दबाबमा सभापति देउवा छन् । देउवाले अपनाउने रणनीति के होला ? नेता सिटौला र देउवाको एउटै प्यानल बन्ने संभावना रहला कि नरहला ? भन्ने प्रश्नले कांग्रेसको आशन्न महाधिवेशनमा धरै ठूलो अर्थ राख्छ ।

वडा तहदेखि प्रदेश अधिवेशनसम्म देउवा र सिटौलाबीच तालमेल भएको छ । यो तालमेल महाधिवेशनसम्म पुग्न सक्ने संभावना के कति छ ? इतरपक्षले एक जना मात्रै उम्मेदवार अघि सार्ने संभावना के कस्तो छ ? तगायतका तमाम प्रश्नहरू अनुत्तरित छन् । कहिले सम्ममा यी प्रश्नहरूको उत्तर आउला त ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । नेपाली कांग्रेसको संस्थापन र इतर दुवै पक्षले आ–आफ्नो पल्ला भारी रहेकोे दावी गरे पनि बस्तुगत अवस्था त्यस्तो देखिएको छैन । देउवापक्षले प्रदेश–१ मा उम्मेदवार नै प्रस्तुत गर्न सकेन । सिटौलाको उम्मेदवारलाई साथ दिन देउवा वाध्य भए । प्रदेश–१ जस्तो धेरै महाधिवेशन प्रतिनिधि भएको ठाउँमा अत्यन्त सानो गुटको उम्मेदवारलाई साथ दिन देउवा पक्ष किन वाध्य भए भन्ने प्रश्नले पनि धेरै अर्थ राख्छ ।

मुलुकभरीको मोटामोटी सर्भेक्षणमा संस्थापन पक्षको भोट बैंक ५० देखि ५५ प्रतिशतसम्म रहेको अनुमान गरिएको छ । अधिवेशन सम्पन्न भएका ६ मध्ये कर्णाली र सुदूर पश्चिममा देउवा पक्ष धेरै नै अघि भएको देखियो । लुम्बिनी र गण्डकी प्रदेशमा इतर पक्ष थोरै अघि देखियो । बाग्मती र प्रदेश–१ मा दुवै पक्षको बराबरी अवस्था देखियो । तर, करिब ५५ प्रतिशत हिस्सा ओगटेको संस्थापन पक्षको भोट बैंकमा उपसभापति बिमलेन्द्र निधि र नेता सिटौलाको हिस्सा कति छ त ? भन्ने प्रश्नको उत्तर भने आउन सकेको छैन । सिटौलाको हिस्सा करिब १० प्रतिशत रहेको मोटामोटी आँकलन गर्न सकिए पनि निधिको हिस्साबारे आँकलन गर्न सकिने अवस्था छैन ।

आकांक्षीहरूको बाढी
आशन्न १४औँ महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाले सभापति पदका लागि मत माग्न सुरु गरिसकेको धेरै भयो । यद्यपि, प्रदेश अधिवेशनको परिणामले आफूलाई कमजोर सावित गरेपछि एक मात्रै उम्मेदवार बनाउने गृहकार्यमा इतर पक्ष छ । यसैगरी महामन्त्री डा.शशांक कोइराला, पूर्वकार्यबहाक सभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफू सभापति पदमा उम्मेदवार बन्ने बताइरहेका छन् तर यो उनीहरूको बार्गेनिङ मात्रै भएको विश्लेषण गरिएको छ ।

मैदानमा देखिएका यी पाँच जनामध्ये सभापति देउवा सबैभन्दा ठूलो दबाबमा छन्, त्यसपछि दोस्रो दबाबमा वरिष्ठ नेता पौडेल छन् । बाँकी तीन जनालाई खासै ठूलो दबाब छैन । गत १३औँ महाधिवेशनमा देउवा पक्षका महाधिवेशन प्रतिनिधि करिव ४५ प्रतिशत चुनिएका थिए । पौडेल पक्षका महाधिवेशन प्रतिनिधि करिब ५५ प्रतिशत चुनिएका थिए । तर ५५ प्रतिशतभन्दा बढी मत ल्याएर देउवाले सभापति पदमा बाजी मारे । त्यतिबेला देउवाको साथमा नेपाली कांग्रेस भित्रका पाँच जना खुंखार खेलाडी थिए । सबैभन्दा खुंखार खेलाडी खुमबहादुर खड्का देउवाको प्रस्तावक थिए । तर, खड्काको निधन भइसकेको छ । अर्का खुंखार खेलाडी गोविन्दराज जोशी समूहका केबी गुरुङ देउवाको समर्थक थिए । तर, केबी गुरुङले देउवालाई साथ छाडेको घोषणा केन्द्रीय समितिको बैठकमै गरिसकेका छन् भने गोविन्दराज जोशीले देउवालाई धोकेवाज शिरोमणीको दर्जा दिएका छन् ।

गत १३औँ महाधिवेशनमा खुंखार खेलाडी विमलेन्द्र निधिले आफु पछि हट्दै तत्कालीन संस्थापन पक्षका माहिर रणनीतिकार अर्जुननरसिंहलाई तानेर देउवा समूहको महामन्त्री उम्मेदवार बनाएका थिए । तर यतिबेला निधि आपैmँ सभापतिको उम्मेदवार बन्दै छन् । भने अर्जुननरसिंह केसीले पनि देउवाको साथ छाडिसकेका छन् । यसैगरी गत १३औँ महाधिवेशनमा तत्कालीन संस्थापन पक्षका महामन्त्री कृष्णप्रसाद सिटौला देउवालाई सहज हुने गरी संस्थापन पक्षबाटै बागी उम्मेदवार बनेका थिए । करिब तीन सय मत प्राप्त गरेका बागी उम्मेदवार सिटौलाले दोस्रो चरणमा आफ्ना मत दिलाएर देउवालाई जिताएका थिए । तर, यतिबेला सिटौलाले देउवालाई साथ दिने परिस्थिति बन्छ वा बन्दैन ? कुनै टुंगो छैन ।

सिटौला समूहको साथ लिन खोज्दा विजयकुमार गच्छदार समूहको साथ गुम्ने, गच्छदार समूहको साथ लिन खोज्दा सिटौला समूहको साथ गुम्ने अवस्था रहेकोले देउवा निकै ठूलो दबाबमा छन् । गच्छदार र सिटौला दुवैले उपसभापति पाए मात्रै देउवालाई साथ दिने अवस्था छ । तर, उपसभापतिको कोटा दुई वटा मात्रै छ । सिटौला र गच्छदारको प्रदेश एउटै हो । एउटै प्रदेशका दुई जनालाई उपसभापतिको टिममा राख्न सक्ने अवस्थामा देउवा छैनन् ।

यसैगरी गत १३औँ महाधिवेशनमा उपभापति र महामन्त्री पदमा मनोनीत गरिदिने, कार्यवहाक सभापति बनाइदिने आश्वासनका साथ गुट सञ्चालन गरेका खेलाडीहरूलाई आफ्नो पक्षमा ल्याउने सुविधा देउवाले पाएका थिए । तर, यसपटक देउवालाई यो सुविधा छैन । उपसभापति र महामन्त्री मनोनीत गर्ने प्रावधान यसपटकदेखि विधानमा छैन । यसैगरी दुई जना उपसभापतिमध्ये जसले बढी मत ल्याएको छ, उसलाई बाहेक अर्कोलाई कार्यबहाक दिन सकिने व्यवस्था विधानमा छैन ।

दोबाटोमा देउवा
नेपाली कांग्रेसका सभापति देउवा राजनेता वा राजनीतिज्ञ नभएर केवल राजनीतिकर्मी मात्रै हुन् भन्ने कुरामा अहिलेसम्म दुई मत छैन । एउटा राजनीतिकर्मीका लागि सबैभन्दा ठूलो उचाइ भनेको प्रधानमन्त्री पद हो । त्यो पद देउवाले पाँचपटकसम्म प्राप्त गरिसकेका छन् । यसैगरी राजनीतिककर्मीका लागि अर्को उचाइको पद भनेको सबैभन्दा ठूलो पार्टीको सभापति बन्नु हो । त्यो उचाइ पनि देउवाले प्राप्त गरिसके । फेरी प्रधानमन्त्री बनेर वा फेरी पार्टी सभापति बनेर देउवाको राजनीतिक उचाइ बढ्ने अवस्था छैन ।

नेपाली कांग्रेसका यस अघिका सबै सभापतिहरू राजनीतिकर्मीको हैसियतबाट माथि उक्लिइसकेका छन् । बिपी कोइराला राजनेताको हैसियतमा पुगेको उदाहरण छ भने, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला राजनीतिज्ञको हैसियतमा पुगेको नजीर छ । देउवा अहिलेसम्म नेपाली कांग्रेसको यस्तो सभापति हुन् जसले आपूmलाई राजनीतिकर्मीबाट माथि उठाउन सकेका छैनन् । तर यतिबेला भने देउवा आफ्नो राजनीतिको दोबाटोमा छन् ।

देउवाका सामु एउटा बाटो हो, आपैmँ सभापति बन्ने । यो बाटोमा सफल भए भयो भने देउवाको राजनीतिकर्मीको हैसियतले निरन्तरता पाउँछ । उम्मेदवार बनेर पनि जित्न सकेनन् भने देउवाले राजनीतिकर्मीको हैसियतसमेत गुमाउँछन् । देउवाका सामु अर्को बाटो हो, आपूmले चाहेकोलाई पार्टीसभापति र प्रधानमन्त्री बनाउने । यही बाटो रोजेका कारण गणेशमान सिंह राजनीतिज्ञबाट माथि उठेर राजनेताको हैसियतमा पुगेका हुन् । गणेशमानले देखाएको यो बाटो रोजे भने देउवाका लागि राजनीतिज्ञ बन्ने अवसर छ ।

औसत दिमागका देउवाले राजनीतिज्ञ बन्ने बाटो रोज्ने संभावना कम छ । राजनीतिकर्मीको हैसियतमै रमाउने गरी देउवा अघि बढेका छन् । तर आशन्न १४औँ महाधिवेशनमा पराजित हुने छुट प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई छँदै छैन । देउवा कि त उम्मेदवार बन्नै हुन्न, उम्मेदवार बनिसकेपछि कुनै हालतमा पनि जित्नै पर्नेछ । पहिलो कुरा त सभापति पदमा उम्मेदवार बनेर पराजित भए भने प्रधानमन्त्री पदबाट समेत राजीनामा दिनुपर्ने नैतिक दबाबमा देउवा पर्नेछन् । देउवा समूहकै सिनियर नेता गोपालमान सिंहले यो मामिलामा देउवालाई सचेत गराइसकेका छन् ।

दोस्रो कुरा उम्मेदवार बनेर पराजित भएपछि नेपाली कांग्रेसभित्र देउवाको शाख शून्यमा झर्छ । सक्रीय राजनीतिबाट सन्यास लिनुबाहेक देउवाका लागि अर्को विकल्प रहँदैन । तर, उम्मेदवार नबनेको अवस्थामा देउवाको प्रधानमन्त्री पद आमनिर्वाचन नभएसम्मका लागि निरन्तर रहन्छ । कांग्रेसभित्र सर्वमान्य नेताका रूपमा देउवाको स्थान सुरक्षित रहन्छ ।

सभापति पदका दावेदारहरूमध्ये देउवालाई जित्नै पर्ने दबाब भए पनि अन्य उम्मेदवारका लागि भने केही सुविधा छ । वरिष्ठ नेता पौडेललाई दोस्रो मत प्राप्त गरे पनि त्यति ठूलो फरक पर्दैन । बाँकी उम्मेदवारहरूलाई सम्मानजनक भोट पाए मात्रै पनि पुग्ने अवस्था छ । चुनाव जित्नका लागि भन्दा पनि सम्मानजनक भोट प्राप्त गरेर र अर्को महाधिवेशनको तयारीका लागि गुट सञ्चालन गर्ने रणनीतिमा कांग्रेसका अधिकांश उम्मेदवार देखिन्छन् । जसका कारण सभापति पदमा धेरै उम्मेदवार हुने संभावना बढेर गएको हो ।

प्रतिक्रिया