शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री पौडेल

कावासोती । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाइ सिकाइसँग र सिकाइलाई उत्पादन सँग जोड्नुपर्ने बताएका छन् । मंगलबार सरस्वती नमुना माध्यमिक विद्यालय कावासोती– ४ हँसौरा नवलपुरको ४६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रम विद्यालयहरुमा लागू गरी विद्यार्थीलाई विद्यार्थी जीवनबाटै उद्यमशीलतातर्फ प्रेरित गर्दै लैजाने योजना बनाएको बताए ।

पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीहरुमा ब्यवहारिक र सीपमूलक ज्ञानको विकास हुने भन्दै मन्त्री पौडेलले यो कार्यक्रम हाल देशका निश्चित विद्यालयमा लागू गर्ने तयारी गरिएको र आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः लागू गर्दै जाने बताए ।

पछिल्लो समय सामुदायिक विद्यालयतर्फ अभिभावकको आकर्षण बढ्दै जानु सुखद कुरा भएकोले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा सबै सरोकारवालाहरुले सार्वजनिक शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउँनसमेत उनले आग्रह गरे ।

‘सामुदायिक विद्यालयलाई व्यवस्थित र सुदृढीकरण गर्दै लैजाने मन्त्रालयको योजना अनुरुप मन्त्रालयले काम गरिरहेको छ, यसमा तपाइँहरुको महत्वपूर्ण साथ र सहयोग चाहिन्छ’, मन्त्री पौडेलले भने, ‘शिक्षकले चाहे शैक्षिक गुणस्तर सुधार गर्न सक्छन्, त्यसैले सक्षम जनशक्ति उत्पादन गर्न सक्ने गरि गुणस्तरीय सिकाइ क्रियाकलाप गर्नुपर्दछ ।’

मन्त्री पौडेलले शिक्षकले आफ्ना अधिकारको खोजी गर्दै गर्दा आफ्नो कर्तव्यको पालना पनि सहि रुपले गर्नुपर्ने बताए । त्यस्तै मन्त्रालयले शिक्षक अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढाउँने तयारी गरिरहेको बताउँदै मन्त्री पौडेलले विद्यालयमा कोभिड संक्रमणको जोखिमलाई कम गर्न स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब छिट्टै १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै पुगेर कोभिड विरुद्धको खोप सञ्चालन गर्ने जानकारी दिए ।

यसैबीच मन्त्री पौडेलले नमुना विद्यालय कार्यक्रमअन्तर्गत विद्यालयमा निर्माण सम्पन्न भएको नवनिर्मित विद्यालय भवनको समुद्घाटन समेत गरे । वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा संघीय सांसद तिलक महत, गण्डकी प्रदेश सांसद विष्णुप्रसाद लामिछाने लगायतले सम्बोधन गरेका थिए । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया