शिल्पकला यात्रा

सुर्खेत । परम्परागत थाङ्का तथा पौभा कलाको प्रदर्शनी भएको छ । ‘शिल्पकला’ यात्राअन्तर्गत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान शिल्पकला विभागको आयोजनामा नेपालका परम्परागत थाङ्का/पौभाकलाका प्रसिद्ध, दिवंगत, अग्रज र वर्तमानका चर्चित कलाकारको सामुहिक चित्रकला प्रदर्शनी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ । प्रदर्शनीको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले गरेका हुन् ।

प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठान शिल्पकला विभाग प्रमुख बुद्धिबहादुर गुरुङ, प्राज्ञ मानबहादुर दोङ, कलाकार उदयचरण श्रेष्ठ, सुन्दर सिंख्वाल, रामप्रकाश श्रेष्ठसँगै स्थानीय कलाकारको समेत उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा शिल्पकला विभाग प्रमुख बुद्धि गुरुङले भने, ’शिल्पकला विभागले २०७६ सालदेखि नेपालका परम्परागत चित्रकलालाई देशव्यापी रुपमा प्रदर्शन गर्ने अभियान सुरु गरेको थियो । अहिले हामीले कर्णाली र सुदुरपश्चिम प्रदेशमा यस कार्यक्रम लिएर आएका छौं । नेपालीको मौलिक कला भनेकै यही कला हो ।’ अग्रज कलाकार उदयचरण श्रेष्ठले थाङ्का र पौभाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वको चर्चा गर्दै प्रदर्शनी अवलोकन गरेर स्थानीय सर्वसाधारणले आफ्नो देशको मौलिक कलासँग परिचित हुने, यसको महत्व बुझ्ने र यसप्रति अनुरागसमेत बढ्ने आशा व्यक्त गरे । त्यस्तै, प्राज्ञ मानबहादुर दोङले भने, ‘हामी परम्परागत विधाका अर्थात् अध्यात्मिक÷अलौकिक विधाका कलाकार हौं । जति पनि भौतिक विधाका अरु कलाकारलाई चित्र कोर्न सजिलो हुन्छ, हामीलाई उत्तिकै गाह्रो हुन्छ । किनकी हामीले देखेको हुँदैन । एउटा शास्त्रीय ज्ञानको आधारमा चित्र कोर्नुपर्ने हुन्छ ।’ शिल्पकला विभागप्रति आभार व्यक्त गर्दै उनले थपे, ‘यस विधाका चित्रमार्फत सीमित काठमाडौं उपत्यकामा र संसारका विकसित देशसँग मात्र जोडिएका थियौं । हाम्रै देशका अन्य भागमा जोडिन सकेका थिएनौँ । अहिले आफ्नै देशसँग जोडिन पाउँदा खुसी लागेको छ ।’

मेयर देवकुमार सुवेदीले कला र संस्कृतिसँग सारकोर राख्ने कार्यक्रमलाई अझ बृहत रुपमा गराउन जरुरी रहेको धारणा राखे । उनले आगामी दिनमा नगरपालिकाले सुर्खेतका नयाँ तथा लुकेर बसेका पुराना कलाकारलाई समेटेर यस्ता कार्यक्रम गर्ने बताए । उनले भने, मैले वास्तविक नेपालको कला संस्कृति यी चित्रकला मार्फत अनुभव गर्न पाएँ । म निकै खुसी छु ।’ प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले प्रदर्शनीमा राखिएका कलाकृति नेपाली कलाको दृष्टिले महत्वपूर्ण भएको बताए । उनले भने, ‘यो कला सजिलैसँग पनि बन्दैन । देशको गरिमा, इज्जत यसले राखेको छ । यो कला विश्वमा अत्यन्त चर्चित छ । नेपालको सबै ठाउँमा यस्ता प्रदर्शनी गर्न जरुरी रहेको हामीले ठानेका छौं ।’

त्यस्तै, कार्यक्रमको दोस्रो सत्रमा थाङ्का तथा पौभाको विषयमा गोष्ठीसमेत भएको थियो । गोष्ठीको सन्दर्भ पारेर कलाकारद्वय सुन्दर सिंख्वाल र रामप्रकाश श्रेष्ठले स्थानीय कलाकार र अन्य कला अनुरागीलाई पौभा चित्रको प्रशिक्षण पनि दिएका थिए । प्रदर्शनीमा आनन्दमुनी शाक्य, दीपककुमार जोशी, धन बहादुर चित्रकार, माणिकमान चित्रकार, सिद्धिमुनि शाक्य, ज्ञानकर बज्राचार्य, अमृत डंगोल, उजय बज्राचार्य, उदय चरण श्रेष्ठ, कृष्णराम धेमसु, दिनेश चरण श्रेष्ठ, देवेन्द्र सिंख्वाल, न्हुन्छेकाजी बज्राचार्य, पाल्साङ्मो लामा, पूर्ण प्रसाद ह्योजु, निमा लामा ग्याम्छो,भूमिराज चौलागाईं, मुक्ति सिंह थापा, रत्नगोपाल सिंख्वाल, रवि श्रेष्ठ, रितेश शाही, राज प्रकाश तुलाधर, मान बहादुर दोङ, राम प्रकाश श्रेष्ठ, लोक चित्रकार, शंकरकुमार जोशी, समुन्द्रमान सिंह श्रेष्ठ, सूर्यबहादुर चित्रकार, सुन्दर सिंख्वाल, सुदर्शन सुवाल, हरि प्रसाद वैद्य, जिग्मे तामाङ, पुरण ह्योजु र सुरेन्द्रमान शाक्यका कलाकृति राखिएका छन् ।

प्रतिक्रिया