कृषि क्याम्पसहरूमा रिसिभिङको इतिहास

राजन कटवाल क्षेत्री

किसानलाई आफ्नो समस्याको समाधान गर्ने कृषि विज्ञको आवश्यकता छ, कृषि क्याम्पसहरू केवल कृषिका सर्टिफिकेट बाँडिरहेका छन् । किसानको समस्या सर्टिफिकेट देखाएर समाधान हुनेवाला छैन, त्यसका लागि दक्षता र सीपको आवश्यकता पर्छ । अहिलेको पद्धतिले कृषिका विद्यार्थीलाई गहुँ र जौ छुट्याउन सक्ने पनि ज्ञान र सीप दिन सकेको छैन ।

भर्खरै कृषि स्नातक अध्ययनका लागि प्रवेश परीक्षामा नाम निस्किएको विद्यार्थीको फोन बज्छ । उसलाई अनेकौँ विद्यार्थी संगठनहरूले आफ्नो संगठनमा आउन लोभलालच, आश्वासनका साथै धम्किसहितका फोन आउँछन्, उसलाई दिक्दार लाग्छ । उसलाई आफ्नो संगठनमा लैजान संगठनहरूबीच हानाथाप चल्छ, एकअर्काको टाउको सम्म फुटाउन पछि पर्दैनन् । उसलाई भिआइपी झैं व्यवहार भएको देख्दा आफैं छक्क पर्छ । अन्त्यमा ऊ एउटा संगठनमा बस्न तयार हुन्छ । सुरु–सुरुमा उसलाई क्याम्पसको बन्द, हड्ताल, झैझगडा र अध्ययनको अवस्था देखेर दिक्दार लाग्छ । समय बित्दै जान्छ, बिस्तारै ऊ क्याम्पसको परिवेशमा घुलमिल हुँदै जान्छ । हिजो जुन कुरा देखेर दिक्दार लाग्थ्यो, ऊ त्यहि बाटो अँगाल्छ । ऊ अब फेरि प्रवेश परीक्षामा नाम निस्किएका नयाँ विधार्थीलाई फोन गर्न थाल्छ । यो चक्र चलिरहन्छ ।

कृषि क्याम्पसहरूमा परिचित र प्रख्यात शब्द हो रिसिभिङ । सामान्य अर्थमा कृषि अध्ययनका लागि नाम निकालेका नवआगन्तुक विद्यार्थीहरूलाई आफ्नो संगठनमा ल्याउनका लागि विद्यार्थी संगठनहरूको तर्फबाट गरिने कार्य र प्रक्रियालाई रिसिभिङ भन्ने चलन छ । कृषि क्याम्पसहरूमा रिसिभिङको इतिहास पुरानो छ, कृषि क्याम्पसमा यसले जरा गाडेर बसेको छ भन्दा फरक नपर्ला । यसैका लागि विद्यार्थी संगठनहरूबीच झै–झगडा, लडाइँ र बन्द प्रायः भइरहन्छ । रिसिभिङ केका लागि ? भन्ने प्रश्नमा विद्यार्थी संगठनहरूको ओठे जवाफ हुन्छ, आफ्नो संगठनको आकार र सदस्य संख्या बढाउन । अनि संगठनको आकार चाहिँ किन बढाउने ? आफ्नो शक्ति बढाउन । अनि शक्तिचाहिँ किन बढाउने ? यो तेस्रो प्रश्नको चित्तबुझ्दो जवाफ पाउन गाह्रो छ । कोही भन्लान् विद्यार्थी हकहित र अधिकारका लागि, विद्यार्थीको माग पूरा गर्नका लागि, क्याम्पसमा हुने बेतिथि रोक्नका लागि । आदि इत्यादि । यो तेस्रो प्रश्नको उत्तर जसले जे दिए पनि व्यावहारिक रूपमा खासै लागू भएको देखिँदैन ।

कृषि क्याम्पसका विद्यार्थी संगठनहरू आफ्नो सदस्य संख्या बढाउनमा तल्लीन छन । बढी सदस्य संख्या भएका संगठनहरू कम सदस्य भएका संगठनहरूलाई हेपाहा नजरले हेर्ने प्रवृत्ति हावी छ । विद्यार्थी संगठनहरू विद्यार्थी हकहितका निम्ति भन्दा पनि झैझगडा गर्ने, त्यहि झैझगडाको पक्ष–विपक्षमा क्याम्पस बन्द गर्ने, प्राध्यापकहरूद्वारा परिचालित भएर प्राध्यापकको राजनीतिक र व्यक्तिगत स्वार्थका निम्ति आन्दोलन गर्ने आदिजस्ता कार्यमा अग्रसर भएको देखिन्छ । विद्यार्थी संगठनको आकार झैझगडा र नकारात्मक कार्यहरूमा हावी भएको देख्न सकिन्छ ।

एक हिसाबले भन्ने हो भने कृषि क्याम्पसमा विद्यार्थी राजनीतिभन्दा अराजनीति बढी हुन्छ । कोही मानुन् या नमानुन् यथार्थ यही हो । यदि साँचो राजनीति हुने थियो भने कृषि क्याम्पसहरूको आजको दुर्गति हुने थिएन । यदि साँच्चै संगठनहरू हुन् भने, हरेक संगठनका आफ्ना मान्यताहरू छन्, सिद्धान्तहरू छन् । विद्यार्थी संगठनहरू चाहे कम्युनिस्ट समर्थक हुन्, चाहे प्रजातान्त्रवादी समर्थक हुन या अरू कोही समर्थक हुन्, सबैको उद्देश्य भनेको विद्यार्थी हकहितको आवाज उठाउनु, शिक्षामा सुधार ल्याउनु, शैक्षिक विकृति हटाउनु नै हो । तर, कृषि क्याम्पसमा आफ्नो संगठनले गरेका कामजति सबै सही, अर्को संगठनले गरेका सबै काम गलत भन्ने प्रवृत्ति बढी हावी छ । हरेक कुरालाई राजनीतिको चश्माबाट नियाल्ने बानी नै यसको मुख्य कारण हो । यदि साँचो राजनीति हो भने, संगठनको उद्देश्य विद्यार्थी हकअधिकारका लागि लड्ने हो भने किन एकआपसमा झैझगडा गर्नुप¥यो ? विद्यार्थीका मागहरू र उद्देश्यहरू साझा छन् भने किन अर्को संगठनले उठाएका मागहरू गलत नै मान्नुप¥यो ? किन विपक्षी संगठनमा बस्दैमा अरूलाई शत्रुको व्यवहार गर्नुप¥यो ? किन अर्को संगठनले उठाएका कुरा सबै गलत र आफ्ना मात्रै कुरा सही हुन्छन् ? के सबै संगठनहरू विना द्वन्द्व साथमा उभिन सकिँदैन ?

कृषि क्याम्पसमा राजनीति या गुन्डागर्दी गर्ने उद्देश्य बोकेर आउने विद्यार्थी प्रायः नगन्य नै हुन्छन् । भर्खरै +२ मा विज्ञान विषय पढेर आएका विद्यार्थीमा न कम्युनिस्टको ज्ञान हुन्छ, न त प्रजातन्त्रवादको या अन्य कुनैको । जब नवआगन्तुक विद्यार्थीहरू छुट्टाछुट्टै संगठनमा बस्छन्, तब सिनियरको बाटो पछ्याउँछन् । विपक्षी संगठनका सदस्य र तिनलाई हेर्ने कामहरूलाई हेर्ने नकारात्मक दृष्टिकोणको बीजारोपण त्यति बेलै हुन्छ । त्यो बिऊ यति भयानक रूपमा फैलिन्छ कि छोटो समयमै विद्यार्थीमा सही र गलत नहेरी अर्को संगठनका सदस्यहरूलाई शत्रुको नजरले हेर्ने र उनीहरूका हरेक गतिविधिहरू गलत नै हुन्छन् भन्ने पूर्वाग्रही भावना उत्पन्न हुन्छ ।

अर्कोतर्फ विद्यार्थीलाई प्रयोग गरी प्रशासन र प्राध्यापकहरू शक्ति र पदको चरम दुरुपयोग गरिरहेका छन् । प्रशासनिक र प्राध्यापकका पदहरू राजनीतिक भागबन्डाको आधारमा गरिन्छ । प्राध्यापकहरूले आपूmनिकट विद्यार्थी संगठनलाई आफ्नो स्वार्थका निम्ति परिचालन गरेका कैयौँ उदाहरणहरू छन् । लाजमर्दो कुरा त के भने राजनीतिक आबद्धताको आधारमा परीक्षाको अंकमा समेत विभेद गर्ने प्राध्यापकहरू समेत भेटिन्छन् । ६ महिनाको कोर्स ६ घन्टा पनि नपढाइ सिद्धयाउने, सरकारी तलब खाने तर निजी कलेजहरूमा बढी देखिने, आफ्नो स्वार्थका लागि विद्यार्थीलाई उक्साएर क्याम्पस बन्द र आन्दोलन गर्न लगाउनेजस्ता प्राध्यापकका गतिविधिहरू सामान्य भइसकेका छन् । हालै मात्र कृषि र पशु विज्ञान अध्ययन संस्थानको स्नातकोत्तर तहको प्रश्नपत्र बाहिरिएको खबर आउनु र कृषि र वन विश्वविद्यालयमा स्नातकोत्तर तहको पशु विज्ञानको प्रवेश परीक्षामा अनियमितता भएको खबर आउनु प्राध्यापकहरूको भ्रष्टपनको सानो उदाहरण मात्रै हुन् ।

विद्यार्थीको आँखै अगाडि यस्तो गलत कार्य हुँदा पनि कुनै विद्यार्थी संगठन यसको विरोधमा बोल्ने साहस गर्दैनन् । त्यस्ता प्राध्यापकहरू कुनै न कुनै पार्टीमा आवद्ध भएकै हुन्छन् । विद्यार्थीले एकअर्काको टाउको फुटाउँदा, झै–झगडा गर्दा आपूmनिकट विद्यार्थी संगठनको पक्ष लिने तिनै प्राध्यापक हुन् । यसरी प्राध्यापक र विद्यार्थी एकअर्काको गल्ती छोप्नमा लागेर तैँ चुप, मै चुप भएका छन् ।

यही रिसिभिङ र राजनीतिको चपेटामा कृषि शिक्षा परेको छ । विद्यार्थीले राजनीति र रिसिभिङमा भुलेर आफ्नै खुट्टामा बन्चरो हान्ने काम गरेका छन् । चाहे विद्यार्थी आपसमा लडेर होस् या अरू कसैबाट परिचालित भएर होस्, यसबाट असर पर्ने विद्यार्थीलाई नै हो । सीमित स्वार्थका लागि विद्यार्थीहरूलाई खेलाइएको मात्रै छ । महिनौँ हुने बन्द र आन्दोलनले अध्ययन–अध्यापनमा अतुलनीय क्षति त पुरूयाएको छ नै, साथमा क्याम्पसमा विपक्षी संगठनका विद्यार्थीको टाउको फुटाउनु सामान्यजस्तै भएको छ ।

निरर्थक कारणका लागि विद्यार्थीको शक्ति र समय खेर गइरहेको छ । कृषिजस्तो प्राविधिक विषय आज सुगा रटाइमा सीमित बन्न पुगेको छ । प्रयोगात्मक कक्षाहरू आज फाइलका पानामा सीमित छन । आजको कृषि शिक्षाले भोलिको समग्र नेपालको कृषिको भविष्य निर्धारण गर्छ । वर्तमान शिक्षा प्रणालीले कृषि पढेका विद्यार्थीहरू मात्र उत्पादन गरेको छ, कृषि विज्ञहरू होइन । शिक्षा त प्रतिस्पर्धी, व्यावहारिक र समस्याको समाधान गर्ने हुनुपर्छ ।

किसानलाई आफ्नो समस्याको समाधान गर्ने कृषि विज्ञको आवश्यकता छ, कृषि क्याम्पसहरू केवल कृषिका सर्टिफिकेट बाँडिरहेका छन् । किसानको समस्या सर्टिफिकेट देखाएर समाधान हुनेवाला छैन, त्यसका लागि दक्षता र सीपको आवश्यकता पर्छ । अहिलेको पद्धतिले कृषिका विधार्थीलाई गहुँ र जौ छुट्याउन सक्ने पनि ज्ञान र सीप दिन सकेको छैन ।

कृषि शिक्षालाई पूर्णरूपमा निराशावादी सोचले हेर्नु पनि गलत हुन्छ । अधिकांश विधार्थीहरू क्याम्पसमा मिहिनेत गरेर पढ्ने र अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राख्ने नै छन । प्रर्याप्त समय दिएर विद्यार्थीलाई सक्दो ज्ञान बाँड्ने प्राध्यापकहरू पनि प्रशस्तै छन् । तर, उनीहरू सबै विद्यार्थी संगठन र प्राध्यापकको राजनीतिको चपेटामा परेका छन् । विद्यार्थी आन्दोलनलाई पूरै नकारात्मक भन्न पनि मिल्दैन । बेला–बेलामा सबै संगठनहरू मिलेर सकारात्मक कुराका लागि लडेका पनि छन् । तर, त्यस्ता सकारात्मक कार्यहरू ज्यादै न्यून भएका छन् । वर्तमान समयमा विद्यार्थी संगठनको आवश्यकतालाई नकार्न पनि सकिँदैन । तर, के विद्यार्थी संगठनहरू राजनीतिक नै हुनु अनिवार्य छ ? यसमा बहसको आवश्यकता देखिन्छ । चाहे जुनसुकै संगठन होस्, सही कुरालाई खुलेर समर्थन र गलत कुरालाई खुलेर विरोध गर्नु आवश्यक छ । विद्यार्थी संगठनहरू कुनै प्राध्यापक वा कुनै सीमित विधार्थीको स्वार्थका निम्ति नभएर सम्पूर्ण विद्यार्थी र कृषि शिक्षालाई नै टेवा पु¥याउने आवाज लिएर मैदानमा आउनु जरुरी छ । अब विद्यार्थी कुनै संगठनको सदस्यभन्दा पनि दक्ष कृषि विज्ञ भएर चिनिनु जरुरी छ ।

राजनीति गर्न मन हुनेहरू राजनीति गरुन् तर राजनीतिको खोल ओडेर अराजनीति नगरुन् । विद्यार्थी राजनीति होस् त स्वच्छ र स्वस्थ्य राजनीति होस् । क्याम्पस पार्टीका कार्यकर्ता भर्ती गर्ने भर्तीकेन्द्र नबनोस् । प्राध्यापक, कर्मचारी वा प्रशासनिक पदमा दक्षताका आधारमा नियुक्ति दिइयोस् । कृषि क्याम्पसहरू सर्टिफिकेट मात्रै होइन, ज्ञान र सीप पनि बाँडुन् । विद्यार्थीले आज नै भविष्यको बारेमा नसोच्ने हो र रिसिभिङ–राजनीतिको पुरानै चक्रमा फसिरहने हो भने भोलि त्यस चक्रबाट निसक्दा पछुतो र आत्मग्लानीबाहेक केही हुने छैन । संगठन संख्याले होइन, सोच, विचार, सिद्धान्त र असल कामले चल्नुपर्छ भन्ने चेत विद्यार्थीमा आउनैपर्छ । जबसम्म कृषि शिक्षामा सुधार हँुदैन, कृषि क्रान्ति दिवा सपना मात्र हुनेछ ।

प्रतिक्रिया