विवेकशून्य भिड कति घातक ?

गत साता चितवनमा १०औँ महाधिवेशन चल्दै गर्दा नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको देवत्वकरण गर्ने क्रममा एउटा श्रव्यदृश्य प्रचार सामग्री प्रस्तुत गरेको थियो । हाजिरीजवाफ शैलीका प्रश्नोत्तर भएको उक्त प्रचार सामग्रीमा काठमाडौंमा मेलम्ची खानेपानी ल्याउनेदेखि लिएर धरहराको पुननिर्माण गर्नेसम्म, रानीपोखरीको पुननिर्माणदेखि लिएर देशका सबै पालिकामा कम्तिमा १० शय्यासम्मका अस्पताल निर्माणको काम प्रधानमन्त्री हुँदा ओलीले सम्पन्न गरेको उल्लेख छ । यो प्रचार सामग्री हेर्ने तथा सुन्ने कसैको अनुहारमा पनि देश र जनतालाई ढाँटेकोमा आत्मग्लानी देखिएको थिएन । सबैले ताली लगाउँदै सिठी फुक्दै हुर्रेहुर्रे गरिरहेका थिए । एमाले अध्यक्ष ओलीले आफ्ना चरम महत्वकांक्षका लागि देश र जनतालाई ढाँट्ने धृष्टता गर्नु आपैmँमा विडम्वना हो, तर योभन्दा ठूलो विडम्वना एमालेको सिंगो पार्टी पंक्ति नै मतिभ्रष्ट हुने खतरा हो ।

यतिबेलासम्म नेकपा एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो । विभाजन हुँदा पनि देशभर ६ लाखभन्दा बढी पूर्णकालीन कार्यकर्ता एमालेमा छन्, यो धेरै ठूलो संख्या हो । मुलुकको यति ठूलो जनशक्ति कुनै एक व्यक्तिको देवत्वकरणका लागि जस्तासुकै झुठा कुरा पनि आत्मसात गर्न तयार रहनु मात्रै होइन यस्ता झुठा कुरा जनताबीच लैजान तम्सनु भनेको मुलुकका लागि सानो खतरा होइन । मुलुकका लागि धेरै ठूलो नोक्सान हो यो । विवेकशून्य नागरिकको संख्या बढ्नु भनेको मुलुक ध्वस्त हुने संकेत हो ।

एमालेले यो प्रचार सामग्रीमा समावेश गरका अधिकांश आयोजनाहरू वर्षांै अघिदेखिका निरन्तरता हुन् । कतिपय आयोजनाहरू ओलीको कार्यकालमा सम्पन्न भएको कुरा साँचो हो । ओलीले आफ्नो कार्यकालमा केही राम्रा कामको थालनी नगरेका होइनन्, यदि ती कामहरू सम्पन्न भएका छन् वा सन्तोषजनकरूपमा अघि बढेका छन् भने त्यसको जस ओलीले पाउनुपर्छ । पाउनेछन् पनि । उदाहरणका लागि सामाजिक सुरक्षा कोषको अवधारणा कार्यान्वयनमा उभिने सकेको भए त्यसको जस ओलीले नै पाउने थिए । यातायात व्यवसायमा लामो समयदेखि कायम रहेको सिन्डिकेट हटाउने निर्णयमा अडिन सकेको भए पनि ओलीले जस पाउने थिए ।

पूर्ववर्ती सरकारका पालामा निर्माणसम्पन्न भएको जनकपुर जयनगर रेलवेमा सञ्चालन गर्न ल्याइएको दुईवटा रेलहरू त्रिपालले ढाकेर नराखिएको भए पनि ओलीले नै जस पाउने थिए । तर ओलीले आफ्नो कार्यकालभरी मुखबाहेक केही पनि चलाउन सकेनन् । उनले मुखबाहेक केही चलाउन नसक्दैमा खासै ठूलो फरक परेको छैन, तर आपूmजस्तै मुखबाहेक केही नचलाउने कार्यकर्ताको झुण्ड ओलीले तयार गर्नु भनेको मुलुकका लागि अर्को खतरा हो । यतिबेला ओलीका कार्यकर्ताहरू तराईका सिधासाधा जनताको कानमा गएर भन्न थालेका छन्, ‘चाइनाबाट चुच्चे रेल आइसक्नै लाग्यो ।’ पहाडी तथा हिमाली क्षेत्रका सर्वसाधरण जनताकहाँ गएर भन्न थालेका छन्, ‘गण्डकी, कोसी, कर्णालीमा पानीजहाज चल्न थालिसक्यो ।’

कालान्तरमा चीनले सिगात्से हुँदै केरुङसम्म चुच्चे रेल ल्याएछ भने त्यसलाई काठमाडौंसम्म जोड्नु ठूलो कुरा हुने छैन । कुनै दिन भारतले गंगा नदी हुँदै लखनउको नजिकसम्म मिनिपानीजहाज चलाएछ भने नेपालले पनि गण्डकी, कोसी, कर्णालीजस्ता केही नदीमा माइक्रो पानीजहाज चलाउने पहल गर्नु ठूलो कुरा हुने छैन । यी कलान्तरमा हुँदै जाने विकास आयोजनाहरू हुन् । तर ओली सरकारका पालामा आरम्भ भएका केही कार्यक्रम तथा विकास आयोजनाहरू आवश्यक परिमार्जनसहित अघि बढाउनु नितान्त जरुरी छ । उदाहरणका लागि हरेक पालिकामा कम्तिमा १० शय्यासम्मको अस्पताल स्थापना गर्ने निर्णय । एक वर्षअघि मंसिर १५ गते तत्कालीन प्रधानमन्त्री ओलीले बालुवाटारमा बसेर देशभरका ३ सय ९६ पालिकाहरूमा अस्पताल भवन निर्माणको शिलान्यास गरेका थिए । तर, तत्कालीन प्रधानमन्त्री ओलीले कुन प्रयोजनका लागि शिलान्यास गरेका थिए ? भन्ने कुरा जगजाहेर छ ।

संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र भोटमाग्ने क्रममा प्रचार सामग्री निर्माण गर्ने नियतअन्तर्गत ओलीले यो काम गरेका रहेछन् भन्ने रहस्य खुल्यो । भवन निर्माणका लागि बजेट नभएको होइन कि, जग्गासमेत प्राप्ति भइनसकको अवस्थामा ओलीले हतारहतार शिलान्यास गरेको रहस्य खुलेको छ । शिलन्यासपछि ओली थप आठ महिना प्रधानमन्त्री पदमा कायम रहे । यो अवधिमा उनले शिलान्यास गरेका कतिवटा जगमा एउटा इँटा थपिएको छ त ? कुनै पनि जगमा एउटा इँट्टासमेत थपिएको छैन । तत्कालीन प्रधानमन्त्री ओलीले दुर्नियत राखेर शिलान्यास गरेका कारण निर्माणको काम अघि नबढाउने निचोडमा वर्तमान सरकार पुगेको हो भने मुलुकका लागि अर्को दुर्भाग्य हो । हरेक पालिकामा कम्तिमा १० शय्यासम्मको अस्पताल स्थापना मुलुकका लागि आधारभूत आवश्यकता हो । यो आवश्यकता जतिसक्दो छिटो पूरा गर्नुपर्छ । अस्पताल भवन निर्माणको काम सम्पन्न गर्न नै दुई÷तीन वर्ष लाग्ने भएकोले सरकारले यथासक्य छिटो ध्यान पु¥याउनुपर्छ । तर, अरू सरकारी कार्यालयजस्तो सबै पालिकामा एकनासले अस्पताल स्थापना के कति व्यावहारिक छ ? भन्ने कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ । किनकी अस्पतालको स्थापना गर्दा जनसंख्या तथा पायक पर्ने नपर्ने कुरालाई पनि ध्यान दिनुपर्छ ।

प्रतिक्रिया