एमाले महाधिबशेनको सन्देश

जे जसरी भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ महाधिवेशन सम्पन्न भएको छ । केपी शर्मा ओली भारी बहुमतका साथ दोस्रो कार्यकालका लागि अध्यक्षपदमा निर्वाचित भएका छन् । ओलीले आफू मात्रै होइन आपूmले चाहेका व्यक्तिहरूलाई भारी बहुमतका साथ चुनाव जिताएका छन् । महाधिवेशनका नाममा जे जस्ता क्रियाकलाप भए पनि महाधिवेशनको वैधानिकतामाथि पार्टी भित्रैबाट प्रश्न उठ्ने संभावना रहेन । नेतृत्वका लागि विभिन्न पदमा प्रतिस्पर्धा हुनु र प्रतिस्पर्धामा पराजित भएको पक्षले आफ्नो पराजयलाई स्वीकार गर्नु भनेको महाधिवेशनले वैधानिकता पाउनु हो । संवैधानिक प्रवधानका दृष्टिले पनि अबको साढे पाँच वर्षसम्म निर्वाचन आयोगले चिन्ने भनेको पनि एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीलाई हो । १०औं महाधिवेशनभन्दा अघिका गतिविधि अब एमालेको इतिहास बनेका छन् ।

पार्टी विभाजनका लागि सम्पूूर्ण गृहकार्य पूरा गरेर पनि अन्तिम अवस्थामा एमालेमै रहेका नेता भीम रावलको उम्मेद्वारी तथा उनले ल्याएको मत १०औं महाधिवशेनको सबैभन्दा महत्वपूर्ण पाटो हो । रावलले करिब दुई सय मत प्राप्त गरे । करिब १८ सय मत प्राप्त गरी अध्यक्ष पदमा ओली निर्वाचित भए । रावलले पाएको दुई सय मतले एमाले विभाजनको असर निकै ठूलो परेको रहेछ भन्ने संकेत गर्छ । केन्द्रीय तहका प्रभावशाली नेताहरू माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा खासै धेरै आवद्ध भएको देखिएको छैन । त्यसैले एमाले विभाजित नभएर सानो तप्का चोइटिएको मात्रै हो कि भन्ने अनुमान धेरैले गरेका थिए । तर, नवौं महाधिवेशनमा माधव नेपाललाई साथ दिने लगभग ८० प्रतिशत प्रतिनिधिहरूले एमाले छाडिसकेका रहेछन् भन्ने कुरा रावलको यो दुई सय मतले पुष्टि गर्छ । तर, रावल किन र के का लागि प्रतिस्पर्धामा उत्रेका हुन् ? अब उनको राजनीतिक भविष्य कता जाला ? भन्ने प्रश्न भने निकै पेचिलो बनेको छ । पराजय निश्चित हुँदाहुँदै उनी प्रतिस्पर्धामा उत्रेका हुन् ।

पराजय पछि उनले केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत आफू नबस्ने घोषणा गरेका छन् । उनले सक्रिय राजनीतिबाट सन्यास लिन खोजेका हुन् वा अर्को पार्टी गठन गर्न खोजेका हुन् या केही महिना अघि आफ्नै सक्रियतामा गठित नेकपा (एस) मा जान खोजेका हुन् ? यसै भन्न सकिने अवस्था छैन । अध्यक्ष ओलीले पानी पिउने बाटोसमेत नदिएका कारण अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न रावल वाध्य भएका हुन् कि ? भन्ने हो भने पनि माधव नेपाललाई धोका दिने १० भाइ मध्ये अरूलाई राम्रै पुरस्कार दिएको देखियो । गोकर्ण विष्टलाई सर्वाधिक मत दिलाइदिए । अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत सबैजसो नेताहरूलाई ओलीले सम्मानजनक मतका साथ भूमिका दिए । १० भाइमध्ये सबैजसोको हकमा १० बुँदे संझौताको मर्मलाई ओलीले पालना गरे ।

१०औं महाधिवेशनमा ओलीले जसरी पनि अध्यक्ष पद आफूले लिने बुझेरै माधव नेपाल १० बुँदे सहमतिको प्रक्रियामा छिर्नतिर नलागेको कुरा स्पष्ट छ । नवौं महाधिवेशनमा प्राप्त पद अरूका लागि सुरक्षित हुने रावलका लागि असुरक्षित हुने अवस्था थिएन । भर्खर पार्टी विभाजन भएको र माओवादी केन्द्रका केही महत्वपूर्ण नेताहरू एमालेमा समाहित भएको अवस्थामा १०औं महाधिवेशन अली पृथक ढंगबाट गर्न चाहानु अध्यक्ष ओलीको त्यति ठूलो अर्घेल्याइँ होइन । पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको संख्या बढाएरै भए पनि सबैलाई अटाउने प्रयासमा अध्यक्ष ओली अन्तिम अवस्थासम्म जुटेको देखिन्छ ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका अध्यक्ष ओली धेरै ठूलो संकटमा परेका बेला माओवादी पार्टीको महत्वपूर्ण पद छाडेर एमालेमा समावेश भएका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरू निरपेक्ष निर्वाचनमा जा“दा पराजित हुने संभावना पनि थियो । यी नेताहरूको संरक्षणलाई मुख्य प्राथमिकतामा राख्नु अध्यक्ष ओलीका लागि वाध्यता थियो । त्यसैले पनि ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि अन्तिमसम्म प्रयास गरे । तर, रावलका कारण सफल हुन सकेन । सफल हुने संकेत नदेखिएपछि तत्काल निर्वाचन प्रक्रियामा जान छाडेर आपूmले प्राधिकार लिन खोज्नु अध्यक्ष ओलीको गम्भीर गल्ती थियो । यो प्रयासले ओली बद्नाम भए । प्राधिकार लिन उक्साउनेहरू पनि ओली अब पनि गम्भीर भएनन् भने नेकपा एमाले मुलुकका लागि थप समस्या हुन सक्छ । एक वर्ष अघिसम्म मुलुकको राजनीतिमा आफ्नो र आफ्नो पार्टीको हैसियत के थियो ? त्यो हैसियत अहिले कहाँ पुगेको छ ? भन्ने प्रश्नको उत्तर सबैभन्दा धेरै ओलीलाई नै थाहा छ । अझै पनि मुलुकको सबैभन्दा ठूलो पार्टी एमाले हो ।

एमालेले सही दिशा लिँदा मुलुकले नै सही दिशा लिन्छ, एमालेले गलत दिशा लिँदा मुलुक पनि गलत दिशामा जान्छ । पार्टीलाई एकमना रूपमा अघि बढाउने अवसर यसअघि एमालेका कुनै पनि अध्यक्ष तथा महासचिवले पाएका थिएनन् । एक हिसाबले यो ऐतिहासक अवसर हो । आफ्ना आसेपासेमध्ये सही सल्लाह दिने को हुन् र गलत सल्लाह दिने को हुन् ? भन्ने भेउ ओलीले पाउनसके भने मात्रै पनि मुलकका लागि उपलव्धी हुनेछ ।

प्रतिक्रिया