खोजखबर

लोक लयमा माटोको कथा

एससी सुमन २०७८ मंसिर १६ गते ८:०२ मा प्रकाशित

एससी सुमन

कलाको अद्भूत माध्यम माटो हो । माटो काव्य होइन महाकाव्य हो, जीवन हो । माटोविना एकछिन पनि जीवित रहन सकिँदैन । मानव सभ्यताको विकासमा माटोको उपयोगिताको ठूलो भूमिका छ । कमिलाको घर, चराको गुँड, मुसाको दुलो माटोको जादुई प्यारो दुनियाँ छ । प्रकृतिलाई हेरेर मानिसले पनि आफ्नो घर माटोले बनाए । यतिले पुगेन, माटोले बनेका घर, चित्र बनाई सजाउन थाले । यो नै मूर्ति, शिल्प र भित्ती उत्कीर्ण भए ।

माटो सर्वत्र उपलब्ध छ । माटोबाहेक सबै माध्यम मलाई यान्त्रिक लाग्छ । भनिन्छ पुरापाषाण कालपछि नवपाषाण युगमा प्रवेश गर्दाको समयमा कृषिको आविष्कार र पशुपालनको परिणाम स्वरूप मानव पहिलोचोटी अन्नको उत्पादन गर्न सक्षम भयो । तत्पश्चात् अन्य चिजका बारे सोच्न थाल्यो । यसरी कृषि कर्मसँगै पशुपालन, बुनकरी, गृह निर्माणसँगसँगै मृत्तिका शिल्पको श्रीगणेश भयो होला । सर्वप्रथम उब्जाइएको अन्न भण्डारण र अगाडिको वर्षको लागि बिउ सञ्चयको खोजले काँचो माटोले पात्रको आविष्कार भयो भन्न सकिन्छ । बाँसको संरचनामा माटोको लेप लगाई तयार पारिएको संरचनाले सुरक्षित र सहज अन्न भण्डारण ग¥यो । आज पनि तराई भेगमा कोठी र भखारीको रूपमा हामीकहाँ विद्यमान छ । सर्वप्रथम भाँडो माटोबाट बने । यो दुनियाँको पहिलो उत्पादन थियो भने दुनियाँको सबैभन्दा पहिलो यन्त्र कुम्हालेको चक्र थियो । दुनियाँको पहिलो कारखाना कुम्हालेको भट्टी भयो । आज दुनियाँको पर्यावरण खतरनाक अवस्थामा आउँदा विकल्प माटो र कुम्हाले नै हुन् । कुम्हाले जाति होइन कर्म हो । चर्मकार जाति होइन कर्म हो । यहाँ कर्म प्रधान हो ।

अनुमान गरिन्छ, कृषि र मृत्तिका शिल्पजस्ता क्रान्तिकारी खोजको श्रेय महिलालाई जान्छ । किनभने कृषिको प्रारम्भिक अवस्थामा आफ्नो आवासक्षेत्र वरिपरि उम्रेका जंगली घाँसपातबाट अन्न निकाल्ने प्रयोगको अगुवाई महिलाले गरे । यसरी खाना पकाउनेक्रममा चुलो बनाउनका लागि गिलो माटो उपयोगमा ल्याइएको हुनुपर्दछ । यसरी आवश्यकतानुसार मृत्तिका शिल्पको बिस्तार भएको हुनुपर्दछ ।

हाम्रो देश कृषिप्रधान देश हुनाले हामीकहाँ गाउँको संख्या धेरै छन् । केही हदसम्म भौगोलिकस्थिति, धार्मिक तथा सामाजिक संस्कार र आर्थिक तथा राजनीतिक कारणले प्रत्येक गाउँको सामाजिक एवं आर्थिक व्यवस्था एक अर्कोभन्दा भिन्न छ । जसले विभिन्न जातजातिको छुट्टाछुट्टै क्षेत्र विशेषमा बसोवास हुनु र उसको खानपान, रीतिरिवाजमा पनि अन्तर हुनु स्वाभाविक हो । यसरी उनको हस्तशिल्प र कलाकर्ममा पनि विभिन्नता हुने गर्छ । जसलाई किसान संस्कृति भन्न सक्छौँ । किसान संस्कृतिको महत्वपूर्ण पक्ष हो माटो । खेतीको लागि खनजोत र सिँचाइ, भित्तिचित्र र मृत्तिका उत्कीर्णन कला हो । हाम्रो मौलिक कला । हाम्रो लोक परम्पराको रूपमा परापूर्वकालदेखि आजसम्म गाउँमा घरको भित्तामा बन्दै आएको छ ।


भित्तामा चित्र कोर्दा भित्ता रहँदैन, काठ, बाँस, खर माटोको संरचना सजीव भइदिन्छ । जहाँ स्पन्दनको अनभूति हुन्छ । चित्र कोरिँदा भित्ता, भित्ता रहँदैन, अभिव्यक्तिको माध्यम हुन जान्छ, जसले संवाद थाल्छ । मलाई भित्ता मन पर्दैन । हुन त विनाभित्ताको घर हुँदैन । लोकजनले बुझ्ने कलाको खास पारिभाषिक अर्थ सौन्दर्यशास्त्रसँग जोडिन्छ । यसले मूलतः सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्तिलाई द्योतन गर्दछ, जुन शिल्प र शैलीसँग सम्बन्धित हुन्छ । कलाको सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्ति लोककला कलाकारबाट हँुदै आएको छ । हुन त कलाक्षेत्र यति व्यापक छ कि यसको मापन तथा विवेचन र विश्लेषण सहज ढंगले हुन सक्दैन । कलाको परिभाषाले कलाकार जन्मदैन । कला पहिले सृजित हुन्छ, परिभाषित पछि हुन्छ । त्यतिखेर परिभाषाको कुनै अर्थ रहँदैन । परिभाषित त्यसले गर्छ, जसले कलालाई शब्दमा सोच्ने गर्छ । चित्र वा शिल्प शब्द मुक्त हुन्छन् । दृश्यको अनुभव हो । जस्तो कि सूर्यले गर्मीको र बादलले बर्षात्को अनुभव गराउँछ ।

ऐतिहासिक, सांस्कृतिक वैभव र बहुमूल्य परम्परा आज पनि एउटा जीवन्त कलाकृतिको रूपमा हामीसँग छ । यो हाम्रा पूर्वजले हस्तान्तरण गरेको सीप हो, जसमा हामी गर्व गर्छांै । पूर्वदेखि पश्चिमसम्मको तराईको भूभागमा परम्परागत घर निर्माणमा बाँस, खर, गोबर, माटोको प्रमुखता हुने गरेको छ । बाँस, गोबर, माटो सभ्यता, हाम्रो संस्कृति र संस्कारको कथा हो । भित्तिचित्र विभिन्न पर्व–उत्सव तथा अवसरमा बनाइन्छ तर मृत्तिका उत्कीर्णन यस्तो अवसरमा गरिँदैन । किनकि माटोबाट अलंकरण गर्न सजिलो हँुदैन, समय पनि धेरै लाग्ने हुन्छ ।

मुख्यतया माटोको भित्तामा अलंकरण घर बनाउँदा सँगसँगै गरिन्छ र विशेष गरेर वर्षा ऋतु सकेपछि । किनकि बर्षामा खर, बाँस, भित्ताको माटो गलेर जान्छ । अतः प्रतिवर्ष यसलाई मर्मत गर्नुपर्छ । वर्षा सकेपछि वा खेतीपातीबाट फुर्सद भइसकेपछि महिला, पुरुष तथा केटाकेटीले आफ्नो समय यसमा बिताउने गर्छन् । प्रायः आश्विन महिनामा भित्तिचित्र बनाउने धेरै पुरानो चलन हो । वर्षा ऋतुपश्चात् मानिसले भत्केका भित्ता कमिला, बिच्छु, कीराफटयांग्रा, गगँटो आदि सरीसृप जन्तुसँग सुरक्षित हुन गाईको गोबरको प्रयोग गर्न सिके । गोबरमा उभरांकन सुगम हुने हुँदा मलिलो गोरो माटोमा रुपांकरण गर्नको लागि गोबरको मिश्रण थालियो । गोबर, माटोले लिपेको आँगन, भित्ता, रातो, सेतो, खैरो विभिन्न रङको माटोले नै बनाएको संस्कारजन चित्र वा सजावटी लोकचित्रले कुनै न कुनै रूपमा हाम्रो ध्यानाकर्षण गरिरहन्छ ।


मिथिला सभ्यता, संस्कृति, इतिहास र ज्ञान चिन्तनको उद्गमस्थल हो । जहाँ सौर्य, नीति, धर्म, कला, विवेक, मर्यादा, संस्कृति, स्थापत्य, आदिको केन्द्र यहाँ थियो । के धार्मिक, के आध्यात्मिक, के राजनीतिक र कला संस्कृति सबै दृष्टिकोणले यो परापूर्वकालदेखि समुन्नत क्षेत्र हो । प्राचीन आर्यावर्तको मिथिला, मगध, अवध, वैशाली र पाटलीपुत्र आदि राज्यहरू अर्थात् आधुनिक कालमा नेपालको तराई–मधेस, भारतको विहार, झारखण्ड र उत्तरप्रदेशका केही भू–भागमा संस्कृतिको रूपमा रहेको छ । मध्य–तराईदेखि सुरु भई पूर्वीतराईको भू–भागमा विकसित भएको पाइन्छ । विशेषतः कोसी नदीको वारिपारि थारू समुदायका घरका भित्ताको उद्भृत कलाको लोकको विस्तृत स्वरूप देखिन्छ । यो थारू समुदाय तथा यो क्षेत्रको मात्र नभई हामी सम्पूर्णको कला विशिष्टता हो ।

निम्न उद्भृत ‘कुटीर सज्जा’ हो जसले तपाईंको घरलाई मूलतः सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्तिलाई द्योतन गर्दछ । जुन घरधनी वा कलाकारको शिल्प र शैलीसँग सम्बन्धित हुन्छ । उद्भृत भित्ताको अगाडिको भाग डिजाइन गर्ने शैली हो । उद्भृतको वास्तुतत्वको प्राचीन इतिहास छ । यो भारत, फारस, मिश्र, अमेरिकामा प्रयोग गरिएको छ । धेरैजसो प्राचीन रोम र ग्रिसका धार्मिक भवन मन्दिरको साजसज्जाको लागि प्रयोग गरिएको पाइन्छ । आधुनिक डिजाइनमा पनि आफ्नो मौलिकता र प्रासंगिकता बनाइराख्यो । धेरैजसो आज यो सजावटी मोल्डिङ वा पैनलको रूपमा व्यापक प्रयोग हुँदैछ । हाम्रो जीवन्त लोक परम्परामा घर बाहिरको भित्तामा सतही मूर्तिको रूपमा र घरभित्र ‘चक्का’ ‘तक्खा’ फर्निचरको रूपमा, मोखा सजावटी अलंकरण यद्यपि विद्यमान रहेको छ । चक्काको कलात्मक स्वरूप कलाकारको आवश्यकता र उपयोगिता अनुरूप हुने गर्छ । यसमा उपयोग हुने खर, बाँस, डोरी, माटोजस्ता निर्माण सामग्री स्थानीय रूपमै सजिलै उपलब्ध हुन्छ ।

यो निर्माण विधि अत्यन्त सहज र सरल छ । धेरैजसो भित्ता लिप्नेबेलामा नै गिलो माटोको प्रयोग गरिन्छ र यो काम महिलाले बढी गरेको पाइन्छ । भित्ता सुकेको छ भने पानीले भिजाई गिलो माटोले सतहलाई चिल्लो बनाइन्छ । भित्ताको सतहमा तहतहमा काम गरिन्छ । सामान्यतया पहिलो तहमा माटोमा गोबर, धानको भुस, परालको ढुटो मुछि बाँसले बनेको टाटीमा लेपन गरिन्छ । गोबरको मात्राले भित्तालाई कडापन प्रदान गर्छ र मजबुत बनाउँछ, तसर्थ गोबरको मात्रा प्रमुख हुने गर्दछ । पहिलो तहको लेपन गरिसकेपछि एक÷दुई दिन सुकाउनु पर्दछ । त्यसपछि आलंकनको काम थालिन्छ । दोसो चरणमा माटोमा गोबर भुसको मात्रा फरक हुन जान्छ । पूर्वीतराईमा माटो मुछ्दा जुटको मसिनो टुक्रा र कपासको प्रयोग गरिन्छ । जसले गर्दा अलंकरणमा चिल्लोपन ल्याउँछ र आकृतिको रूपाकार बनाउँदा सहजता प्रदान गर्छ । यो अलंकरण भित्ताको सतहबाट माथि उठेको भाग हुने गर्दछ । अलंकरणको विषयवस्तु निश्चित हुँदैन । किनकी यो विशेष अवसर वा उत्सवको लागि गरिँदैन, जस्तो भित्तिचित्र बनाउँदा देखापर्छ । यसको उद्देश्य आफ्नो घर तथा परिवेशलाई सुन्दर बनाउनु हो ।


तराईंमा बसोवास गर्ने प्रत्येक जाति समुदायको आफ्नो बानीव्यहोरा, आवश्यकता, संस्कृति, संस्कार अनुरूपको गृहनिर्माणको वास्तुशिल्प भिन्दाभिन्दै छन् । जसको चर्चा, बहस र अनुसन्धान हुन बाँकी नै छ । चौकोर आकारमा चारैतिर प्रयोजन अनुसारको घर गोसाँइघर, भान्साघर, भण्डारघर, सुत्नेकोठा यथास्थान हुने गरेको पाइन्छ । चारैतिर घरले घेरिएको बीच भागमा आँगन, आँगनको बीचमा मरबा, तुलसी चौरा यसरी नै दलान–दरवज्जा, असोरा, देहैर, धुरखुर, कोन्टा, गोठुल्ला, दुमुहा, मोख, खिरकी, झरोखाजस्ता निर्माण शैली विद्यमान छन् । यिनै संरचनालाई सजाउन मृत्तिका उत्कीर्णन कलाको उपयोग हुँदै आएको छ । आँगन र घरभित्रको प्रवेशद्वार तथा झ्यालको वरिपरी बनाइने मृत्तिका उत्कीर्णन र चित्र शैलीलाई मोखाकला भन्ने गरिन्छ । मृत्तिका उत्कीर्णनको विषयवस्तु निश्चित हुँदैन । भित्ताको तल्लो भागमा बनाइने अलंकरणलाई किनारी, कोर, तथा पाइढ, वोडर भनिन्छ । यसरी घरको भित्री तथा बाहिरी भागमा बोडरले निरन्तरता पाएको हुन्छ । सामान्यतया यसमा पशुपन्छी, फूलपात, ज्यामितस्य मोटिभबाट बनाएको पाइन्छ । आफूसँग भएको पाल्तु पशुपन्छीमा हाँस, परेवा, कुखरा, सुगा, मैना, ढुकुर, मयुरजस्ता आकृति बनाइन्छ । पशुमा हात्ती, घोडा, गाई यदाकदा लहरै उँटको आकृति पनि बनाइन्छ । पशुमा हात्ती सर्वाधिक लोकप्रिय विषय हो । हात्ती मांगलिक तथा समृद्धिको प्रतीक हो । मैथिली क्षेत्रमा सम्मुख हात्ती, घोडा, मयुर, माछाजस्ता आकृतिको बाहुल्यता पाइन्छ । कमलको फूल, फूलपातको लहरा, सूर्यसँगै मानवाकृतिमा आफ्नो दैनिकी, कृषि कार्य गरेको आकृति बनाइन्छ ।

तर कुखुराको आकृति अलंकरण गरिँदैन । थारू समुदायमा मानवाकृति नगन्य देखिन्छ भने हाँस, परेवा, सुगा, मैना, ढुकुर, मयुरसँगसँगै कुखुराको आकृति पनि बनाइन्छ । यसरी एकै गाउँमा बसोबास गर्ने मुस्लिम समुदायको घरका मोटिभ भिन्न हुने गर्दछ । जसको मुख्य कारण इस्लाममा कुनै पनि आकृतिको नक्कल गर्न मनाही छ । जसले गर्दा आकृतिमूलक विषय बनाइँदैन । हुनत आजको बदलिँदो परिवेशमा देश विदेशमा ठूलो संख्यामा मुस्लिम कलाकारले आकृतिमूलक कलाकृति निर्माण गरिरहेका छन् । अतः उनीहरूको अलंकरणमा जुन, तारा, मस्जिदका मीनार, गुम्वजको आकृति बनाइन्छ । यस्ता आकृतिभित्र ऐनाको सानो–सानो टुक्रा, रंगीन सिसा, काँचको चुराको टुक्राले साज–सज्जा गरिन्छ । जसका कारण सजिलै बुझन सकिन्छ कि यो मुस्लिम समुदायको घर भनेर हो । पछिल्लो समय मृत्तिका उत्कीर्णनमा सिसा÷ऐनाको शिल्पको प्रयोग लोप हुने अवस्थामा छ ।


संथाललगायत अन्य जातमा चराको चरित्र, बनावट तथा रूपाकार र विषय संथालहरूको भन्दा भिन्न हुन्छ । यस्ता चित्राकृतिमा चरित्रलाई ठोस तथा रैखिक गुणलाई सन्तुलित रुपमा सामञ्जस्यपूर्ण तरिकाले अंकित गरिन्छ । यसको बनावट हेर्दा वास्तविक बनावटभन्दा धेरै भिन्न हुने गर्छ । यसका रूपाकारको उपस्थापनमा वास्तविक, सरल प्रकृति, सहजता प्रतिभा तथा आवेगको भाव स्वतःस्फूर्त रूपले विकसित भएको पाइन्छ । यसभित्र रहेको सौन्दर्यबोधको उदाहरण हो । आफ्नो वरिपरि पाइने विभिन्न थरीका फूलपातको चरम सरलीकृत आकारलाई रङको माध्यमले गतिशीलता प्रदान गर्छ । इसाई मिसनरीको प्रभाव यहाँको अलंकरणमा परेको पाइन्छ । इसाई धर्मावलम्बीको घरका भित्तामा प्रतीकचिन्ह ‘क्रस’ लाई पनि उपस्थापित गरेका हुन्छ्न, जो सर्वाधिक तराईको पूर्वीजिल्ला झापामा अर्थात् मेची नदीको वारिपारि देखिन्छ । जहाँ सन्थाल जातीको घना बसोबास छ ।

प्रायः सबै समुदायको घरमा पाइने अलंकरणमा सबैभन्दा धेरै ज्यामितीय आकृति नै पाइन्छ । तथापि यसमा प्रयुक्त मोटिभको अध्ययन गर्दा, हामी पाउँछौँ आकृति स्थानीय बोट बिरुवासँग मिल्दोजुल्दो हुन्छ । प्रायः ज्यामितिक रूपाकार प्रकृतिको रूपाकारको रूपान्तरित रूप हुन्छ । फूलपातको यो मोटिभ यहाँको सुजनी तथा रुमालको कोर यानी बोर्डर, थारू महिलाले लगाउने अचरामा गरिएको कसिदाकारीको नमुना पनि भेटिन्छ ।

मृत्तिका उत्कीर्णन अलंकरणमा रङ गर्ने प्रचलन पनि रहेको छ । चहकिलो रंगीचंगी रङको प्रयोग थारू र सन्थाल समुदायमा रहेको पाइन्छ । नीलो, पहेँलो, रातो र हरियो यिनको प्रिय हुन् । मिथिलाञ्चलमा प्रायः गोरो चिकनी माटोले लेबी–छ्छारी तयार पारिएको पृष्ठभूमिमा सेतो चुन र रामरस गेरु माटो रङको प्रयोग गरिन्छ । यो सँगसँगै नजिकको नदी भिरबाट उत्खनन गरी ल्याइएको विभिन्न रङको माटो संकलन गरी राखिएको हुन्छ । अर्थात् यहाँ खनिज रङको प्रयोग हुने गर्दछ । थारू, सन्थालको घरमा विभिन्न रङको माटो सँगसँगै बजारमा पाइने टीका रङको प्रगोग गरिन्छ । कुनै समयमा मिथिला चित्रकलामा प्रयोग हुने खनिज रङसँगै बनस्पति रङको पनि प्रयोग हुने गथ्र्याे । आजकल खनिज रङबाहेक कलाकार बजारु रङमा निर्भर हुने गर्दछन् ।

संथालको घरमा अलंकरणमा रंगाउँदा टेक्सचरको प्रयोग पनि गरिन्छ जो अरू समुदायमा देखिन्न । चराचुरुंगी तथा फूलपातमा रङ भर्दा पहिलो तहको रङ भरिसकेपछि माथिबाट पुनः अर्को रंगले बुट्टा भरिन्छ । जसले गर्दा अलंकरणमा टेक्सचर देखिन्छ । हाम्रो जीवन पनि माटोको थुप्रो हो, यसलाई त्यत्तिकै राख्यो भने कुनै आकार आउँदैन र महत्व पनि बढ्दैन । चलाउँदै गयो, आकार दिँदै गयो भने सोचेजस्तो वा गरेजस्तो आकार आउँछ र महत्व पनि बढ्छ । यसले बौद्धिक विकास मात्रै हुँदैन, एकाग्रता बढाउँछ । धैर्यवान् हुन पनि सिकाउँछ ।

तराईको फाँटमा देखिने घना रुख, रूखमा आफ्नै लयमा गाइरहेका चराचुरुंगी, रूख सँगैको मन्दिर, झकिझकाउ कलश, ढक्की भरी फल र झिझिया नृत्यमा मग्न मौलिक पहिरनमा सजिएका महिला टाउकोमा स–साना प्वाल भएका घैंलालाई बोकेर आफ्नै लोकलयमा नाचिरहेका छन् । यो मैथिल समाजको परम्परागत लोकनृत्य ‘झिझिया’ को दृश्य हो । मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सा लगायतका जिल्लामा मैथिल समाजमा ‘झिझिया’ नृत्यको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व रहिआएको छ । यिनै दृश्यलाई यतिबेला बौद्धस्थित तारागाउँ संग्रहालयको एउटा भित्तामा उतार्न व्यस्त छन मिथिला कलाकार । जनकपुरबाट काठमाडौं आएका कलाकार मञ्जुला ठाकुर, मधुमाला मण्डल, सुधिरा कर्ण र रेवती मण्डलले भुस मुछेको माटोले झिझिया नृत्यको दृश्यलाई भित्तामा आकृति दिँदैछन् । आज यसको व्यापक चर्चा र बहस हुँदैछ । कलाकारले मृत्तिका उत्कीर्णनका लागि माटो तथा भुससमेत जनकपुरबाट नै ल्याएका हुन् । आउँदो फेब्रअरीमा काठमाडौंमा सुरु हुन लागेको ‘काठमाडौं ट्रेनाले’ कला महोत्सवका लागि उनीहरूले परम्परागत लोकनृत्यलाई मृत्तिका उत्कीर्णनको विषय बनाई कला संग्रहालयको भित्तामा उतारेका हुन् ।

मनुष्य जीवनको यथार्थसँग माटोको सन्दर्भ लिई सन्त कवीर भन्छन्–
माटी कहे कुम्हार से,तु क्या रौंदे मोय ।
एक दिन ऐसा आएगा, मैं रौंदूंगी तोय ।’
समय सबैभन्दा बलवान् हुन्छ र समयको गतिबाट परिणाम निश्चित हुन्छ । माटोले कुम्हालेसँग भन्छ, तिमी मलाई किन यति विधि मलेर मुछेका छौ ? एकदिन यस्तो आउँछ, जब तिम्रो विनाश भएर जान्छ र तिमी पनि माटोमा मिलेर जानेछौ ।

प्रतिक्रिया