नेपालको चीन र भारतसँगको सम्बन्ध र परस्पर उच्चस्तरीय आदानप्रदान

लोकनारायण सुबेदी

विभिन्न देशहरूको सम्बन्ध र गतिविधि केलाउने र तदनुरूपको रणनीति बनाउने भारतको ‘रिसर्च एन्ड एनालिसिस विङ’–‘रअ’को नेतृत्व गरिरहेका सामन्तकुमार गोयललाई नै प्रधानमन्त्री मोदीले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भेट्न दूतको रूपमा पठाए । त्यसले अनेक सन्देह र विवाद पनि जन्मायो । त्यसपछि नेपालका सम्बन्धमा विवादास्पद कुरा गर्ने भारतीय स्थलसेना अध्यक्ष नराबणे पनि नेपाली सेनाको मानार्थ अध्यक्षको सम्मान लिने बहानामा नेपाल आए । ती दुबैको नेपाल भ्रमणपछि भारतका विदेश सचिव हर्षबर्धन श्रृंगाला नेपाल आएका हुन् ।

गत वर्षको मंसिर महिनाको दोस्रो साता नेपालको छिमेकीसँगको सम्बन्धमा निकै महत्वपूर्ण साताको रूपमा रहन पुगेको संयोग देखिएको थियो । त्यो साता भारतका विदेश सचिव हर्षबर्धन श्रृंगाला नेपालको दुईदिने भ्रमणमा मंसिर ११ गते काठमाडौं आएर १२ गते फर्किएका थिए । त्यसको लगत्तै मंसिर १४ गते चीनका शक्तिशाली राष्ट्रपति सी जिनपिङका निकट विश्वासपात्र मानिएका चीनको राज्य परिषद्का प्रथम सदस्य तथा जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेई हेंग्फे मात्र एकदिने संक्षिप्त भ्रमणमा काठमाडांै आएर फर्किए । सामान्यतः छिमेकी देशका उच्चस्तरीय अधिकारीहरूको कूटनीतिक भ्रमणहरूलाई स्वभाविकै मानिन्छ र यसलाई सम्बन्धको निरन्तरता, नवीकरण र नयाँ उचाइ दिने रूपमा हेर्ने गरिन्छ । तर, नेपालको सन्दर्भमा दुई छिमेकी देशका उच्च अधिकारीहरूको यसप्रकारको त्यो भ्रमणले क्षेत्रीय र अन्तर्राष्ट्रिय आयाम समेत ओगटेको विदेश सम्बन्धका ज्ञाता सुक्ष्म विश्लेषकहरूले औँल्याउने गर्दै आएका छन् । आजको विद्यमान विश्व र क्षेत्रीय परिप्रेक्षमा हेर्दा यो विश्लेषण बस्तुगत र सत्यको धेरै नजिक रहेको प्रतीत पनि हुन्छ ।

दुई बृहत्तर छिमेकी देशहरू चीन र भारतको बीचमा रहेको नेपाल रणनीतिक दृष्टिकोणले पनि महत्वपूर्ण स्थानमा अवस्थित मानिन्छ । भू–बनौटको कारणले नेपालको सम्बन्ध चीनसँगभन्दा भारतसँग बढी ब्यापक देखिए पनि चीनसँगको नेपालको सम्बन्ध कम पुरानो र कम घनिष्टतम नभएको इतिहासले दर्शाउँछ । विवादविहीन र रहे भएका विवादहरू पनि विवेकपूर्ण समझदारीका आधारमा सुल्झाउने नेपाल–चीन सम्बन्धको इतिहासमा रहिआएको परम्परा छ । आजको आधुनिक विकास खासगरी विज्ञान र प्रविधिको विकासमा आएको अभूतपूर्व उचाइले त अब छिमेकी देशहरूसँग यो सम्बन्ध व्यापक र फराकिलो हुँदै गएको र यो गति अझ बढ्दै जाने व्यापक सम्भावना रहेको छ । यसले गर्दा देशहरूका बीचमा रहेका पुराना सम्बन्धहरूलाई नवीकरण र आधुनिकीकरण गर्नसमेत मद्दत पुग्ने र सम्बन्धमा रहेका असमानता, अन्यौल र असहजताका अप्ठ्याराहरूलाई पर्गेलेर परस्पर समानता, सम्मान र सहजताका आधारमा अघि बढाउन सकिने स्थिति पनि पैदा हुँदै आएको र भइरहेको छ ।

यस स्थिति र आधारमा हेर्दा नेपालको भारतसँगको सम्बन्धको पछिल्लो कडी सहज र सामान्य अवस्थामा भने रहेको छैन । किनभने भारतले दुई वर्ष जति अघि कश्मिरको स्वतन्त्र अस्तित्वलाई समाप्त पार्दै प्रकाशित भारतको राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रको भारतद्वारा वर्षांैदेखि मिचिएको नेपालको जमिन—लिपुलेक, लिम्पियाधुरा र कालपानी समेतलाई गाभेर प्रकाशित गरेपछि भारतीय सत्ताधारी वर्ग नेपालको मिचेको जमिनलाई जबर्जस्त आफ्नो राजनीतिक नक्सामा राख्न र त्यो नेपालको मिचिएको जमिन भारतकै हो भन्ने भान पार्न चाहन्छ भन्ने प्रष्ट भएको थियो ।

नेपालमा जनस्तरमा यसको विरोध वर्षांैदेखि हुँदै आएको थियो र भारतले गलत नक्सा निकालेपछि त्यसको नेपालमा व्यापक विरोध भयो र अद्यापि भइरहेको छ । अनि नेपालले समेत ऐतिहासिक दस्ताबेज र वैज्ञानिक सीमा निर्धारणका प्रष्ट आधारहरू तथा बसोवास, तिरोभरो आदि समेतका महत्वपूर्ण प्रमाणको आधारमा नेपालको आफ्नो राजनीतिक नक्सा जारी गरेर त्यसलाई संसद्ले एकमतले पारित गरेपछि विभिन्न कारणले पहिलेदेखि नै चिसिँदैरहेको नेपाल–भारत सम्बन्ध अझ चिसिन पुगेको थियो । यसलाई चीनको उक्साहटमा नेपालले भारतलाई आँखा देखाउन थालेको भनेर भारतमा खुबै प्रचार पनि गरियो । अरूअरू त्यहाँका स्थल सेना प्रमुख मणिमुकुन्द नराबणेले समेत नेपाललाई देखाइदिने जस्ता कुरा पनि गरे । यस सन्दर्भमा नेपालको आकारप्रकार, सैनिक क्षमता, आर्थिक दूरावस्था आदि जस्ता कुरा पनि भारतीय पक्षले गर्दै रहे । भारतका सामु नेपाल एक क्षण पनि टिक्न नसक्ने जस्ता कुरा पनि उराल्ने र उत्तेजक निष्कर्ष निकाल्नेजस्ता अपरिपक्व कुराहरू पनि भारतमा भइरह्यो ।

तर, नेपालसँगको बिग्रदो सबन्ध, बद्लिँदो विश्व परिप्रेक्ष, कोभिड–१९ महामारीले पैदा गरिदिएको चुनौति तथा साझा भविष्यका लागि विश्वका सबै देशहरू परस्पर मिलेर नजाने हो भने संकट अझ थपिने जस्ता दबाबकारी कुराले समेत हुनसक्छ भारतको वर्तमान सत्ताले नेपालसँगको आपैmँले बनाएको असहज सम्बन्धलाई सहज बनाउन आफ्ना दूतहरू पठाउन थाल्यो । यस क्रममा विभिन्न देशहरूको सम्बन्ध र गतिविधि केलाउने र तदनुरूपको रणनीति बनाउने भारतको ‘रिसर्च एन्ड एनालिसिस विङ’ ‘रअ’को नेतृत्व गरिरहेका सामन्तकुमार गोयललाई नै प्रधानमन्त्री मोदीले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भेट्न दूतको रूपमा पठाए । त्यसले अनेक सन्देह र विवाद पनि जन्मायो । त्यसपछि नेपालका सम्बन्धमा विवादास्पद कुरा गर्ने भारतीय स्थलसेना अध्यक्ष नराबणे पनि नेपाली सेनाको मानार्थ अध्यक्षको सम्मान लिने बहानामा नेपाल आए । ती दुबैको नेपाल भ्रमणपछि भारतका विदेशसचिव हर्षबर्धन शृंगाला नेपाल आएका हुन् ।

यता उत्तरी छिमेकी देश चीनका रक्षामन्त्री वेई हेंग्फे पनि नेपालसँग भएका विभिन्न परियोजनासम्बन्धी सहमति र सम्झौताहरूको कार्यान्वयनको स्थिति के कस्तो रहेको छ भन्ने बुझ्न र नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यकासाथ नेपालको संक्षिप्त भ्रमणमा आएको बताएर वर्तमान सन्दर्भमा चीनको नेपाल र नेपालको विकासप्रति निकै चासो रहेको कुरा प्रष्ट पारेका थिए । उनले नेपाललाई दिँदै आएको सैन्य सहयोग पनि थप गरेर गए । प्रष्ट के छ भने नेपाल चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई)को सदस्य भइसकेको छ ।

चीनले नेपालसँगका परियोजनाको कुरा गर्दा यो ‘बिआरई’ चीनको एउटा महत्वपूर्ण र संवेदनशील विषयबस्तु बन्छ । यसै सन्दर्भमा नेपालले अमेरिकासँग गरेको विवादास्पद ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) सम्झौताको कुरा पनि उठ्छ । किनभने यसलाई अन्तर्राष्ट्रिय सन्दर्भमा ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ (हिन्द–प्रशान्त रणनीति) अन्तर्गतको परियोजना हो भनेर अमेरिकी अधिकारीहरूले बारम्बार औँल्याउँदै आएका छन् । यसको अन्तर्यमा चीनको घेराबन्दीको अमेरिकी योजना रहेको कुरा चीनले नबुझेको छैन । यी सबै सन्दर्भका परिप्रेक्षमा दक्षिण एसियाका विभिन्न देशहरू भ्रमण गर्ने सिलसिलामा चीनका रक्षामन्त्री वेई फंग्हेलेत्यो भ्रमणको आरम्भ नेपालबाट गरेका थिए । भनिँदै आएको कुरा के हो भने ‘चीनले प्रष्ट उद्देश्य प्रयोजनबिना कुनै देशको पनि भ्रमण गर्ने गर्दैन’ । अनि नेपालले चीनको विशिष्ठ व्यक्तित्वहरूको उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदा जहिले पनि ‘नेपाल एक चीन नीतिको पक्षमा रहेको’ कुरा दोहो¥याउने गर्दै आएको छ । त्यतिबेला चीनका रक्षामन्त्रीसँगको शिष्टाचार कुराकानीमा नेपालका तत्कालीन प्रम ओलीले पनि यो कुरा दोहोराएका हुन् । यो चीन बिरोधी कुनै धुरीमा नेपाल रहँदैन र जाँदैन भन्ने कुरा नै हो । यो नेपालजस्तो सानो र दुई विशाल छिमेकी देशका माझमा रहेको देशको लागि महत्वपूर्ण र आवश्यक कुरा पनि हो । यसले पनि प्रष्ट पार्दछ कि अरू कुनै देशलाई भन्दा बढी नेपाललाई आज परराष्ट्र सम्बन्धमा पञ्चशील र असंलग्नताको आवश्यकता छ । सबैसँग सम–मैत्री कायम गर्ने र आफ्नो स्वाधीनता र स्वतन्त्रता अक्षुण्ण राख्दै समानताका आधारमा साझा भविष्यका लागि छिमेकी देशहरू र विश्व समुदायसँग विकास अभियानमा संलग्न हुने दिशा नै नेपालको लागि एक मात्र सही दिशा पनि हो । यसबाट विचलन नेपालका लागि अपूर्व संकट निम्त्याउने र आत्मघाती कुरा हुन सक्तछ । यस बारेमा हल्का र छिचरा कुरा गरेर कतैतिर ढल्किने विचलनले नेपाल र नेपालीको भविष्य खतरामा पर्ने कुरा एक निमेष पनि बिर्सनु हुँदैन ।

आजको चीनको विश्व नीतिलाई सरसर्ती मात्र हेर्दा पनि प्रस्ट देखिन्छ कि वर्तमान विश्व परम्परागत र गैरपरम्परागत दुबै खाले सुरक्षाका समस्याबाट आक्रान्त छ । पछिल्लो समयका समस्याहरूको उल्लेखै गर्ने हो भने ‘इबोला भाइरस’को महामारी, ‘आतंकवाद’, ‘पुनरोत्पन्न भएको इराक तथा सीरियाली युद्ध’ र ‘युक्रेनी संकट’ आदिले वर्तमान विश्वका ज्वलन्त समस्याहरूलाई दर्शाउँदछन् । आज विश्वका सबै देशहरूले यस्ता सहमत हुन नसकिने परिवेशका बीचमा विकासको बाटो खोज्न र रोज्न संघर्ष गरिरहेको अवस्था विद्यमान छ ।

नेपालले साच्चै नै व्यवहारबाटै सबै छिमेकी देशहरू र विश्वभरीका राष्ट्र समुदायसँग सममैत्री सम्बन्धको मान्यतालाई दृढतापूर्वक अघि बढाउन चीनसँगको सम्बन्धलाई अझ उच्चाइमा लाने र सुदृढ पार्ने कुरालाई गम्भीरताकासाथ लिनु र आत्मसात गर्नुपर्दछ । नेपालले चीनसँगको सम्बन्ध, सम्पर्क र सम्भावनालाई के कसरी व्यापक र उपलब्धिमूलक तुल्याउन सकिन्छ भन्ने बारेमा विगतका अनुभवका आधारमा समेत गहन, गहिरो र गम्भीर अध्ययनकासाथ अघि बढ्ने सार्थक प्रयत्न गर्नै पर्दछ । आत्मर्भिर बन्ने र सम्मानपूर्ण तथा सार्थक अन्तरनिर्भरताको बाटो र आजको आवश्यकता नै यही हो । चीनको आजको यस विश्व–नीतिको ठोस परिप्रेक्ष र उसको यस दिशामा निरन्तर बढ्दो अग्रसरताको पृष्ठभूमिमा नै नेपालसँगको चीनको सम्बन्धलाई हेरिनु र हेक्का राखिनुपर्दछ । मञ्जुश्री, बुद्ध, अरनिको, भृकुटी, ह्वेन साङ, फाहियानहरूले बनाएको दुई देशबीचको प्राचीन सम्बन्धको जगमा विकसित भएको दौत्य सम्बन्धलाई आज पनि हामीले बिर्सनु हुँदैन ।

प्रतिक्रिया