ओलीवाद उदय र प्रश्नहरूको अवसान

भरतराज पोखरेल

सर्वसम्मतका नाममा देशभरीबाट प्रतिनिधिका नाममा झिकाइएका पार्टी अध्यक्ष ओली भक्तहरूको रोजाइमा घनश्याम भुसाल वा टंक कार्कीहरू नपर्नु कुनै नौलो कुरा होइन । कोमल ओलीहरू चम्केको पार्टीमा टंक कार्कीहरू ओझेलमा पर्नु के आश्चर्य भयो र ? तर आश्चर्य के भने आफ्ना भक्तहरूका बीचमा पनि निर्वाचनलाई सहज बनाउन पार्टी अध्यक्ष ओली किन सहजै तयार हुनुभएन त्यो चाहीँ आश्चर्यको विषय हो ।

नेपालको पहिलो राजनीतिक पार्टीमा गनिन्छ नेपाल प्रजापरिषद् । १९९३ सालमा स्थापना भएको यो पार्टीका संस्थापक रामहरि शर्मालाई जीवनको अन्तिम कालतिर आफ्नो पार्टी नै घाँडो भइसकेको थियो । ‘जिम्मा लगाउने युवापंक्ति नै तयार गर्न सकिएन, अहिले पार्टी नै घाँडो भयो ।’ जीवनको उत्तराद्र्धमा शर्माको दुःखेसो हो यो । गैर राणाहरूले राणातिर फर्केर सोझो आँखाले हेर्नसमेत नमिल्ने जमानामा टंकप्रसाद आचार्यहरूले स्थापना गरेको यो पार्टी नेतृत्व नपाएर खिइएरै सकियो । केही समय काठमाडौंका चर्चित पूर्वमेयर केशव स्थापितले समेत कार्यवाहक अध्यक्ष भएर यो पार्टीलाई हल्लाइ हेरे, तर पारा लागेन । अन्तिममा ०७४ को चुनावको मुखमा कार्यवाहक सभापति भनिएका गोविन्दप्रसाद दुलालले प्रजापरिषद्लाई नेकपा एमालेमा हुलेर छोडे । इतिहास बोकेको एउटा राजनीतिक पार्टी विलय भयो । सायद अहिले गुगलले पनि देखाउँदैन होला ताजा प्रजापरिषद् ।

एक जमानाका काग्रेस कोषाध्यक्ष कुबेर शर्माले आफैँ अध्यक्ष बनेर पार्टी बनाए हरियाली नेपाल पार्टी । कांग्रेसको आन्तरिक किचलो सहन नसकेर बनाएको उनको पार्टीले गरिखाएको त देखिएन तर उनले गरेको एउटा निर्णय भने गजबको छ । के के खण्ड खातिर आइलाग्यो केही वर्षपछि उनी अध्यक्षको रूपमा रहन मिलेन बरिष्ठ सल्लाहकार यस्तै के बने । उनी बरिष्ठ भएपछि पार्टी अध्यक्षले प्रयोग गर्ने कार्यकारी अधिकार बरिष्ठले प्रयोग गर्ने विधि बनाइयोे । अहिले पार्टी कता छ ? धेरैलाई सम्झना पनि छैन होला ।

अहिले नेकपा एमालेको १०औँ महाधिवेशन चर्चामा छ । दुईखुट्टे गैंडाको केटोले कम्युनिस्ट पार्टीको झण्डा उचालेकोले मात्रै होइन नेतृत्व चयनको तौरतरिकाका कारण पनि चर्चामा छ । सर्वसम्मतका नाममा देशभरीबाट प्रतिनिधिका नाममा झिकाइएका पार्टी अध्यक्ष ओली भक्तहरूको रोजाइमा घनश्याम भुसाल वा टंक कार्कीहरू नपर्नु कुनै नौलो कुरा होइन । कोमल ओलीहरू चम्केको पार्टीमा टंक कार्कीहरू ओझेलमा पर्नु के आश्चर्य भयो र ? तर अश्चर्य के भने आफ्ना भक्तहरूका बीचमा पनि निर्वाचनलाई सहज बनाउन पार्टी अध्यक्ष ओली किन सहजै तयार हुनुभएन त्यो चाहीँ आश्चर्यको विषय हो ।

त्यसो त केही समयअघि सम्पन्न एमालेको गोदावरी विधान महाधिवेशन चर्चामै छ । विधान महाधिवेशनको चर्चा के भन्नु ? बढीजसो त अध्यक्ष ओलीको फ्ल्याक्स डमी (बुख्याचा) मासुभात र ओलीमय पानीका बोतल र चित्रमय ब्यानरको तामझामको पक्ष विपक्षका बद्ख्वाइँ र स्तुति बढ्ता छ । ७० वर्षे प्रावधान होस् कि अन्य झिनामसिना केही होस् ओलीलाई केन्द्रमा राखेर आएको छ । तिथिमितिको छेकबार नभई ओली ७० देखिने भएको भए सितिमिति यो ७० आउने थिएन होला । विषय अन्तै मोडिन कुनै आइतबार पर्खन पर्ने थिएन ।

१० भाइमा दरिएका योगेश भट्टराईहरूको त जाँगर देखिएन सैद्धान्तिक कुराको घान हाल्न मात्रै होइन ढिकीमा चामल फलेझैं फल्न पनि सिपालु घनश्याम भुसालले छलफलका लागि घान हाल्न कोशिस त गरेका थिए तर ‘त्यो पर्दैन’ भनेर विधान अधिवेशनको किनारतिर हुत्याइयो । बल गरेर पर्चा वा कुनै माध्यमबाट आफ्नो मत बाहिर ल्याउने नैतिक धरातल नभएर होला उनी पनि अन्य लेठोतिर लागेनन् । बरु उनैलाई काउकुती लाग्ने खाले गीत सुनाइदिए – घनश्यामले बुद्धी पुर्याए धन्न बेलैमा । बुद्धी पुर्याए नपुर्याएको उनै जानुन् ।

वालुवाटारको पटांगिनीबाट बालकोटको बार्दलीमा पार्टी पुगेको बेला पार्टी अध्यक्षको यो खाले हर्कबढाइँ कति पाच्य होला त्यो अर्को विषय हो । दुईतिहाइको सरकार, सात मध्य ६ वटा मुख्यमन्त्री हाँकेको पार्टी कसरी प्रतिपक्षमा पुग्यो भन्ने विषयमा कतै चर्चा भएन । कसैले प्रश्न गर्ने हुति देखाएन । एक हिसाबले पार्टीको मृत्यु हो यो । विधान अधिवेशन र महाधिवेशन पनि सकियो तर प्रश्न कतै छैन । पार्टी ज्यँुदो देखिने त प्रश्नले हो ।

एक हिसाबले वालुवाटारबाट कुर्सी फालेर बालकोट जाँदाको तामझामको निरन्तरता विधान अधिवेशनमा देखिएको थियो । अनि चितवन महाधिवेशन पनि प्रशंसामै रमायो । सत्तामा भएको र सडकमा भएको बारेमा कार्यकर्ताले खासै भेउ नपाएजस्तो गरे । बरु एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओलीको तस्बिर नराखेर प्रचण्ड वा देउवाको राख्ने ? भन्ने मुखाले जवाफ फर्काउनतिर लागे । विधान अधिवेशनमै पार्टीका नीति सिद्धान्तबारे छलफल नगरेको एमालेले नेतृत्व चयन मात्रै गर्ने महाधिवेशनमा छलफल गरेन भन्नु अहिलेको एमालेलाई नचिन्नु हो । चितवन महाधिवेशनमा एउटा छलफल भएछ, त्यो के भने गोदावरी महाधिवेशनले पारित गरेको आलो विधान चितवनले फेरबदल गर्यो ।
महाधिवेशन भनेपछि सहभागीका लागि निश्चित विधि र प्रक्रिया हुन्छन् नै । सहभागीहरू सबैले प्रक्रिया पूरा गरेका थिएनन् । प्रतिनिधिका आकांक्षीहरू निर्वाचन आयोगमा उम्मेदवारी दिए तर ओलीभक्तहरू सर्वसम्मत भइसकेको भोलिपल्ट मात्रै थाहा पाउने लज्जानक स्थिति पनि बन्यो । प्रतिनिधि कसरी छानिए भन्ने कुरा छान्ने र छानिने जानुन् तर सहभागिता भने उत्साहजनक र अनुशासित थियो ।

थाहा भएकै कुरा हो सहमतिअनुसार आफू शीर्षासनमा बसेर प्रचण्डलाई सत्ता सुम्पेको भए जतिसुकै लथालिंग पारे पनि वामपन्थीको सत्ता कम्तीमा अरू दुई अवधि कसैले हल्लाउन सक्ने थिएन । किन हो प्रचण्डलाई नसुम्पेर देउवालाई सुम्पन राजी भए ? देउवालाई प्रम बनाएको त ओलीले हो, माधव वा प्रचण्डले होइन । नेतृत्वले जित्दै गएका बेला धेरै कुरा जायज लाग्छन् तर यो बेमौसमको बाजा बुझी नसक्नु छ । शक्ति एकीकृत पार्ने लोभ एउटा टुहुरो पार्टीको अध्यक्ष कुवेर शर्मालाई त हुन्छ भने ओलीलाई किन नहुने ? तर विवेक चाहिने यस्तै बेला हो ? पार्टी चलेको भए कुवेर शर्माका भाउ आज कहाँ हुन्थ्यो चलेन दुईदिनको रामछाया भयो ।

जब पार्टीमा प्रश्न होइन ‘एस म्यान’ को जुलुस तयार हुन्छ त्यसपछि पार्टी मृत्युको बाटोमा लाग्छ । ओलीवादको उदयसँगै प्रश्नहरूको अवशान भएको छ । अब एमाले पार्टीको केन्दीय कमिटिको बैठकको कल्पना गरौँ पार्टी जिउँदा छ छैन भन्ने अन्दाज गर्न सकिन्छ । छलफलका विषय के होलान् ? कसले प्रश्न गर्ला, उत्तर दिन आवश्यक ठानिएला कि नठानिएला ? पार्टीको भविष्यको संकेत त्यसैले गर्छ । सिपी मैनाली, नारायणमान बिजुक्छे, मोहनविक्रम सिंहको लाइनमा अरू कोही उभिएको देख्न नपरे हुन्थ्यो । कुवेर शर्माहरूका दुःख मात्रै होइन रामहरि शर्माहरूलाई जस्तै आपैmँले स्थापना गरेको पार्टी आफैंलाई घाँडो नभए हुन्थ्यो । तर, पछिल्लो समय चम्किँदै गएको ओलीवादले पार्टीको अस्तित्व रहँदासम्म यत्तिकै विश्राम लिने छाँटकाँट भने देखिएको छैन ।

प्रतिक्रिया