सुदूरपश्चिम विजयी

काठमाडौं । विकेटकिपर अर्जुन साउदको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको गण्डकी ४९ ओभरमा २ सय ९ रनमा अल आउट भयो । गण्डकीका विकेटकिपर दीपक डुम्रेले ९९ बलमा ७ चौका सहित सर्वाधिक ५६ रन बनाए । ओपनर उत्सव श्रेष्ठले ५२ बलमा ५ चौका र २ छक्का सहित ४० रनमा क्याच आउट भए । अर्जुन कुमाल १३, विष्णु पाण्डे ११, सुजन गौतम २७ रनमा आउट भए । कमल परियारले १३ बलमा ४ चौका सहित २० र सुवास भण्डारीले २८ रनको योगदान दिए । सुदूरपश्चिमका कैलाश ऐरीले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आकाश चन्द र गजेन्द्र बोहराले २–२ विकेट लिए । नारायण जोशीको नाममा १ विकेट रह्यो ।

२ सय १० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा विकेटकिपर अर्जुन साउदले ७९ बलमा ६ चौका र २ छक्का सहित ६८ रनको विजयी इनिङ खेले । राहुल भण्डारी ४२ बलमा ४ चौका सहित ४२ रनमा अविजित रहे । सुदूरका ओपनर गजेन्द्र बोहरा २ र नरेश भट्ट १३ रनमा आउट भए ।

कप्तान खडक बहादुर बोहरा ७७ बलमा ४ चौका सहित ४० रनमा क्याच आउट भए । लोकेश बमलाई अर्जुन कुमालले १५ रनमा बोल्ड आउट गरे । त्यसपछि अर्जुन साउदले परिपक्क ब्याटिङ गर्दै जित दिलाए । गण्डकीका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । सुदीप अर्यालले २, अर्जुन कुमालले १ विकेट लिए ।

यो हारसँगै गण्डकीको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । गण्डकीले आफ्नो अन्तिम खेल विहीबार प्रदेश १ सँग खेल्नेछ । सुदूरपश्चिमले फाइनल खेल्न बाँकी दुबै खेल जित्नु पर्ने हुन्छ । सुदूरले भोली मुलपानीमा प्रदेश १ सँग खेल्नेछ । फाइनल खेल्न प्रदेश १ लाई हराउनै पर्ने हुन्छ । अन्तिम खेल सुदूरले मंसिर १७ मा बागमतीसँग खेल्नेछ ।

लुम्बिनी ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै शीर्षस्थानमा छ । प्रदेश १ ले ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोेड्दै दोस्रो स्थानमा छ । सुदूरपश्चिम ४ खेलमा समान २ मा जित र हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा छ । बागमती ५ खेलमा ३ मा हार र २ मा जित सहित चौथो स्थानमा छ । प्रदेश २ पनि ४ खेलमा २ मा हार र २ मा जित सहित पाँचौं स्थानमा छ । गण्डकी ५ खेलमा ३ मा हार र २ मा जित सहित छैटौं र कर्णाली ५ खेलमा २ अंकका साथ पुछारमा छ । शीर्ष दुई टोलीले मंसिर १९ फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया