दैलेखमा पालिकाबाटै मतदाता नामावली संकलन !

दैलेख । जिल्ला निर्वाचन कार्यालय दैलेखले पालिकाको केन्द्रमा गएर मतदाता नामावली संकलन गर्ने भएको छ । आसन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने तयारी निर्वाचन कार्यालयले गरेको हो । चुनाव लक्षित गरी जिल्लाका नौ वटा पालिकाको केन्द्रमा निर्वाचनको टोली पुगेर मतदाता नामावली संकलन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । तालिका अनुसार पहिलो चरणमा यही मंसिर १७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मंसिर २८ देखि आगामी पुस ८ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

तालिका अनुसार पहिलो चरणमा आठविस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, महावु गाउँपालिका, गुराँस गाउँपालिका भगवतीमाई गाउँपालिकामा मतदाता नामावली संकलन गरिनेछ भने । दोस्रो चरणमा ठाटिकाँश गाउँपालिका, भैरवी गाउँपालिका, नौमुले गाउँपालिका डुंगेश्वर गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिनेछ ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार जिल्लामा पनि ‘कोही नछुटुन् कोही नदोहोरिउन्’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख मनमाया काउचाले बताइन् । उनले भनिन्, ‘नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्नेछ ।’
जिल्लाको नारायण नगरपालिका र दुल्लु नगरपालिका प्रशासनमै नाम संकलन गरिएको छ ।

प्रतिक्रिया