सकियो एमाले महाधिवेशन : ओलीलाई थप राजनीतिक सफलता

काठमाडौं । नेकपा (एमाले) को अध्यक्षमा दोस्रो पटक निर्वाचित भएर केपी ओलीले थप राजनीतिक सफलता प्राप्त गरेका छन् । पार्टीको दसौं महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयनको सर्वाधिकार पाएका ओलीले सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्दागर्दै निर्वाचनको बाटो रोज्न बाध्य भए । ओली दोस्रोपल्ट पार्टी अध्यक्ष बन्न जुन प्रक्रिया अवलम्बन गरे, त्यसले प्रक्रियालाई मात्र वैध बनाएन, ओलीलाई थप शक्तिशाली बनायो । उनी पाँच वर्षका लागि पार्टीको शक्ति आफ्नो हातमा लिन सफल भए ।

विरोधीहरुलाई आँखाको कसिंगर ठान्ने ओलीले आफ्ना आलोचकलाई आगामी पार्टी जीवनमा थप पेलानमा पार्ने निश्चितजस्तै देखिएको छ । प्रतिपक्षीविहीन पार्टी बनाउन शतप्रतिशत प्रयास गरेका ओली असफल भएपछि बाध्य भएर निर्वाचनमा गए । भीम रावलले चुनौती दिएपछि महाधिवेशनस्थलमा नै उनीविरुद्ध नाराबाजी लगाउनेलगायतका क्रियाकलाप भए ।

भारतका नक्सलाइट नेता चारु मजुम्दारको ‘टाउको काट्ने’वर्गशत्रु सफायाको नीतिबाट दीक्षित हुँदै कम्युनिस्ट बनेका एमाले अध्यक्ष ओलीले झापा विद्रोहकै बेला प्रतिपादन गरेको एउटा सिद्धान्त छ – बाँस काट्ने हो भने सुरुमा झिक्राहरु काट्नुपर्छ । झिक्रा फाँडेपछि मात्रै बाँस ढाल्न सकिन्छ ।

ठूलो झिक्रो मानिएका माधव नेपाललाई पाखा लगाइसकेपछि पार्टीमा रहेका सबैले ‘बा आई लभ यू’ भन्छन् भन्ने अपेक्षा उनमा थियो । तर, ओलीको त्यो अपेक्षालाई भीम रावल र घनश्याम भुसालले चुनौती दिएपछि अबका ‘झिक्रा’ यी दुई पात्र नै बनेका छन् । उसो त ओली विगतदेखि नै आफू शक्तिमा आएपछि फरक मत राख्नेलाई पाखा लगाउँदै आएका नेता हुन् ।

२००८ सालमा तेह्रथुमको इवा गाविस–२ तीनसल्लेमा जन्मिएका उनी पार्टीमा कुनै बेला स्पष्ट वक्ता र अडान राख्ने क्षमता भएका व्यक्तिमा गनिन्थे । ओलीप्रति अन्य दलले पनि विश्वास गर्ने तर अहिले उनका त्यो स्पष्टवादिता उखानटुक्कामा सीमित भएको छ । अडानहरु हल्का भाषणका उडान र सीमित कार्यकर्ताका रुझानमा परिणत भएका छन् ।

झन्डै १५ वर्ष प्रमुख पदमा बसेर पार्टी सञ्चालन गरेका माधव नेपाल यति बेला ओलीको साथमा छैनन् । नवौं महाधिवेशनमा ओलीलाई दरिलो साथ दिएका वामदेव गौतम एमालेको राजनीतिमा संलग्न छैनन् । नवौं महाधिवेशनमा पार्टीभित्र प्रतिपक्षीको जस्तो छवि बनाउँदै आएका ओलीको हातमा एमाले पुग्दा धेरै कार्यकर्ता उत्साहित बनेका थिए ।

यसपटक ओली पार्टी अध्यक्ष बन्दा न माधव नेपालजस्ता दरिलो प्रतिपक्षी छन् न त वामदेवजस्ता सहयात्री । पार्टीमा भिन्न मत राख्दै आएका रावलसँग भारी मतान्तरले अध्यक्षमा विजयी भएका ओली निकटका पात्रहरू दूरदृष्टि राख्ने राजनीतिक व्यक्तित्वभन्दा पनि ओलीसँग ‘शरण’ पर्ने खालका नेताहरु छन् । त्यसैले अब ओली पार्टीमा थप शक्तिशाली त भएका छन् नै फरक मत राख्नेप्रति अझ निरंकुश बन्ने चिन्ता पनि त्यत्तिकै छ ।

४२ वर्षदेखि सक्रिय राजनीतिमा रहेका ओली आठौं महाधिवेशनमा खनालसँग पराजित भएका थिए । त्यसो त नेतृत्वमा पुग्ने उनको प्रयास १५ वर्षअघि जनकपुरमा भएको महाधिवेशनबाटै भएको थियो । २०२३ सालदेखि राजनीतिमा प्रवेश गरी पञ्चायतकालमा निरन्तर १४ वर्ष जेल बसेका ओली पार्टीको प्रमुख नभए पनि सधैं राजनीतिको केन्द्रमा छन् । माधव नेपाल झन्डै १५ वर्ष महासचिव हुँदा होस् वा झलनाथ खनाल अध्यक्ष, दुवैको कार्यकालमा ओली पार्टीभित्र शक्तिशाली नेताका रूपमा थिए ।

ओलीको सूची सदर
केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ओली खसेको मतको तीन चौथाई भन्दा बढी मत प्राप्त गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित हुँदा उनीपछिको दोस्रो बरीयताको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन् । दुई पटक पार्टीको महासचिव निर्वाचित भएका पोखरेल वरिष्ठ उपाध्यक्षमा भने प्रतिस्पर्धाविहीन भए । त्यस्तै महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । ६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ सचिवका लागि ९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

पूर्वमाओवादीको गर्विलो उपस्थिति 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक भन्दै आएका छन् यो– पार्टी २०७५ जेठ २ अघिको एमाले होइन । यो त नेकपा एकताको निरन्तरता हो । तत्कालीन नेकपा विभाजनपछि आफूलाई साथ दिएका पूर्वमाओवादी नेता कार्यकर्ताको मनोविज्ञानलाई बुझेर ओलीले एमालेलाई नेकपाको निरन्तरता भनेका हुन् । सर्वोच्च अदालतबाट एमाले र माओवादी अलग पार्टी बनेको फैसलापछि पनि आफूसँगै रहेको माओवादी पंक्तिलाई विचलित हुन नदिन ओलीले कुनै कसर बाँकी राखेका छैनन् ।

सरकारमा ७ जनासम्म मन्त्री, तत्कालीन केन्द्रीय कमिटीमा २३ जना केन्द्रीय सदस्य बनाएका ओलीले १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा तत्कालीन माओवादीलाई करिब १२ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छन् । १९ पदाधिकारीमध्ये तीनजना पूर्व माओवादीका परेका छन् भने केन्द्रीय कमिटीमा ३३ जना सदस्य निर्वाचित भएका छन् । माओवादी छाडेर एमालेमा रहँदा केन्द्रीय कमिटीमा परेका विषमलाल अधिकारी दनुवारबाहेक सबैले निरन्तरता पाएका छन् । तत्कालीन माओवादीबाट नेकपा विभाजनपछि एमालेमा बसेका करिब एक दर्जन नयाँ अनुहारले केन्द्रीय कमिटीमा प्रवेश पाएका छन् भने अन्यले विभिन्न आयोगको सदस्यमा जिम्मेवारी पाएका छन् ।

एमाले महाधिवेशनमा करीव डेढ सयजना तत्कालीन माओवादीका नेता कार्यकर्ता प्रतिनिधि बनेको अनुमान छ । एमाले नै नेकपा एकताको निरन्तरता भएको भन्दै तत्कालीन माओवादीका कार्यकर्ता तान्न ओलीले रणनीतिक रुपमै माओवादी पंक्तिलाई सम्माजनक स्थान दिएका हुन् ।

रावलद्वारा केन्द्रीय सदस्य अस्वीकार 
नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । मंगलबार बिहान भएको निर्वाचनमा रावल, केपी शर्मा ओलीसँग पराजित भएका थिए । नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुले मंगलबार साँझ शपथ लिएका छन् । तर रावलले शपथ लिन मानेनन् । आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले उक्त पद स्वीकार नगर्ने बताए । उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।

सबैभन्दा बढी मत शाक्यलाई 
नेकपा एमालेको दसौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुने क्रममा केपी शर्मा ओलीले १८३७ मत ल्याए । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मंगलबार साँझ यसको घोषणा गरेका हुन् । नवौँ महाधिवेशनमा जस्तो प्यानल नबनाई एमालेले यो पटक अध्यक्षमा उठेका ओलीले ९० प्रतिशत मत ल्याउँदै जित निकाले । उनलाई चुनौती दिएका उपाध्यक्ष भीम रावलको पक्षमा २२३ मत मात्रै गएको छ । तर एमालेकै पदाधिकारीमा निर्वाचित अन्य नेताहरुले ओलीभन्दा बढी मत ल्याउन सफल भएका छन् ।

यसरी ओलीभन्दा धेरै मत ल्याएर मतदातामाझ लोकप्रियता कायम गर्ने नेताहरु अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट र योगेश भट्टराईसहित छन् । यी तीन नेताले १९ सय माथि मत ल्याउन सफल भएका हुन् । सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ९६ जनाले मतदान गरेका थिए । उनीहरु तीनैजना नेता एमालेको आन्तरिक संघर्षका क्रममा माधव नेपाललाई साथ दिएर पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० जनामध्ये हुन् । ओलीकी कट्ट आलोचकसमेत रहेकी शाक्यले उपाध्यक्षमा निर्वाचित हुने क्रममा सबैभन्दा धेरै १९७६ मत ल्याएकी छन् । उपाध्यक्षमै विजयी भएका सुरेन्द्र पाण्डेले पनि १९२५ मत ल्याउन सफल भएका छन् । यो अध्यक्ष ओलीको भन्दा ८६ मत बढी हो । त्यस्तै सचिवमा विजयी भएका गोकर्ण विष्टले १९७६ मत ल्याउन सफल भएका छन् । उनी नवौँ महाधिवेशनमा पनि सर्वाधिक मतसहित सचिवमै विजयी भएका थिए । एमाले सचिवमा विजयी हुने क्रममा योगेश भट्टराईले पनि लोकप्रिय अर्थात् १९६४ मत ल्याउन सफल भएका छन् ।


९ करोड खर्च 
एमालेले महाधिवेशन २ दिन थपिँदा महाधिवेशन खर्च २ करोड बढेको बताएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशनमा ७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा ९ करोड रुपैयाँ पुगेको जनाएका छन् । महाधिवेशन मंसिर १२ गतेभित्र सकाउने तालिका भए पनि सहमतिको प्रयास गर्दागर्दै अन्तिममा चुनाव नै गर्नुपरेपछि एमाले महाधिवेशन १४ गतेसम्म लम्बिएको थियो ।

पार्टीले ९ करोड मात्रै खर्च भएको बताए पनि सबै खर्च पार्टीले व्यहोरेको छैन । देशभरबाट कार्यकर्ता चितवनमा उतार्दा हजारौं गाडी प्रयोग भएका थिए । जसको खर्च केन्द्रीय पार्टी कार्यालयबाट नभई सम्बन्धित कमिटीले गरेका थिए । एमालेले असोज १५–१७ गोदावरीमा भएको विधान महाधिवेशनमा ४ करोड खर्च भएको जनाएको छ ।

प्रतिक्रिया