अब हामी कता ? नेपालमा भाषिक तथा जातीय सवाल

प्राडा निर्मलमणि अधिकारी

हो, कुनै अंग विशेषका लागि खास किसिमको उपचार आवश्यक छ भने त्यो उपचार त गर्नै पर्दछ, तर कुनै अंगमा मात्र केन्द्रित भएर अन्य अंगको ख्यालै नराख्ने प्रवृत्ति झन् हानिकारक हुन सक्छ । सम्पूर्ण शरीरको उपचार गरिनु सही रवैया भएजस्तै राष्ट्रका सवालमा पनि समग्रमा उन्नति, प्रगति, विकास गर्नु हाम्रो कार्यनीति हुनुपर्दछ । विगतलाई खुइल्याएर कुनै जात, जाति, समुदाय विशेषलाई उकास्ने वा थेचार्ने प्रवृत्तिले कसैको पनि हित हुँदैन । तर खेदको कुरा छ कि हाम्रोमा यतिखेर राष्ट्रिय स्तरको चिन्तन भन्दा पनि कुनै एउटा जात, जाति, समुदाय वा क्षेत्रलाई उकास्ने वा थेचार्ने प्रवृत्ति मौलाउन पाइरहेको छ ।

आज दलित भनिने कतिपय जातिका सवालमा कुरा गर्दाचाहिँ हामी विशेष संवेदनशील हुनै पर्दछ । ‘जनजाति’हरूको समस्याभन्दा दलितहरूको समस्या एकदमै पृथक छ । सामाजिक रूपमा छुवाछुत जस्ता विभेदको सिकार बन्नु परेको, आर्थिक रूपमा साथसाथै शैक्षिक हिसाबले पनि अत्यन्त पिछडिनु परेको र देश–विदेश कतै पनि अवसर नपाएको हुनाले अहिले पनि अरूभन्दा हरेक क्षेत्रमा कमजोर अवस्थामा रहेको यस समुदायलाई सबैले सहयोग गरी विशेष अवसरहरू प्रदान गर्नु पर्दछ । राज्यस्तरबाट नै संरक्षण प्रदान गरी यो समुदायलाई हरेक क्षेत्रमा भागिदारी वृद्धि गराउन अघि बढाउनु आजको आवश्यकता हो ।

जब सारा समाजको स्थिति सुध्रिन्छ तब समाजका सबै घटकहरूको स्थिति पनि अवश्यमेव सुध्रिन्छ । तसर्थ हामीले समस्या समाधान गर्दा समग्र समाजको परिप्रेक्ष्यमा हेर्नु र कार्यान्वयन पनि समग्र समाजकै परिप्रेक्ष्यमा गर्नु आवश्यक छ । हो, कुनै अंग विशेषका लागि खास किसिमको उपचार आवश्यक छ भने त्यो उपचार त गर्नै पर्दछ, तर कुनै अंगमा मात्र केन्द्रित भएर अन्य अंगको ख्यालै नराख्ने प्रवृत्ति झन् हानिकारक हुनसक्छ । सम्पूर्ण शरीरको उपचार गरिनु सही रवैया भएजस्तै राष्ट्रका सवालमा पनि समग्रमा उन्नति, प्रगति, विकास गर्नु हाम्रो कार्यनीति हुनुपर्दछ । विगतलाई खुइल्याएर कुनै जात, जाति, समुदाय विशेषलाई उकास्ने वा थेचार्ने प्रवृत्तिले कसैको पनि हित हुँदैन । तर खेदको कुरा छकि हाम्रोमा यतिखेर राष्ट्रिय स्तरको चिन्तन भन्दा पनि कुनै एउटा जात, जाति, समुदाय वा क्षेत्रलाई उकास्ने वा थेचार्ने प्रवृत्ति मौलाउन पाइरहेको छ । यसले समस्यामाथि झन् समस्या थप्छ, तर समाधान दिँदैन ।

समस्याको जरो पत्ता लगाउँदा जातीय समस्याको सवालसँग भाषासम्बन्धी सवाल पनि जोडिएको छ । अतिवादीहरूका कारणले गर्दा ०४७ साल पछिका वर्षरूमा भाषाका निहुँमा पनि विवाद बढेको देखिएको छ । हामीजस्ता व्यक्तिहरू एवं संस्थाहरू भाषा वा अन्य कुनै पनि कारणले खडा हुने (वा खडा गरिने) विवादलाई व्यावहारिक रूपमा सुल्झाउनमा विश्वास राख्दछौँ । प्रत्येक मातृभाषाहरूको संरक्षण, सम्बर्धन एवं प्रवर्धन गर्नु राज्यको दायित्व हो भन्ने हाम्रो नीति छ । नेपालीजातिका प्रत्येक मातृभाषा हाम्रा लागि राष्ट्रिय निधि हुन् । यति हुँदाहुँदै पनि व्यावहारिक तथ्य के हो भने ती मातृभाषाहरूले एउटा सानो क्षेत्र वा समुदायलाई मात्र प्रतिनिधित्व गर्ने, सारा नेपालीजातिलाई एकताको सूत्रमा बाँध्न नसक्ने यथार्थता पनि प्रष्टै छ ।

यता, नेपाली भाषाचाहिँ सम्पूर्ण नेपालीजातिको साझा भाषा हो । यो वास्वतिकतालाई बुझेर नै हामी नेपाली भाषालाई विशेष महत्वका साथ मूल्यांकन गरेका छौँ । जसरी दाइँ गर्दा दाइँमा नारिएका प्रत्येक गोरुको महत्व उत्तिकै हुँदाहुँदै पनि, उनीहरू समान हुँदाहुँदै पनि यदि दाइँ गर्ने नै हो भने एउटा न एउटा गोरुलाई मियोमा नराखी हुँदैन, त्यसरी नै देशका सारा भाषाहरू राष्ट्रिय निधि भएकोमा व्यावहारिक सजिलोको कारणले एवं अन्य थुप्रै सकारात्मक पक्षहरूका कारणले नेपाली भाषा मियोमा रहन पुगेको हो । नेपाली भाषालाई नेपाल राष्ट्रको राष्ट्रभाषा, विश्वमा अनेक भू–भागमा रहेका नेपालीजातिको साझा जातीय भाषा एवं नेपालीत्वको पहिचानका रूपमा स्वीकार गर्दा कसैलाई कुनै समस्या पर्दैन र परेको छैन पनि । सारांशमा भन्नुपर्दा नेपाली भाषालाई नेपाली जातिको जातीय एकताको प्रतिकको रूपमा सम्मान गर्दै अन्य भाषाहरूप्रति पनि उचित सम्मान हाम्रो भाषिक नीति हो । यस नीति अनुसार चल्ने हो भने जातीय समस्यासँगै उठाइएको भाषिक–समस्या स्वतः समाधान हुन्छ ।

अचेल कतिपय व्यक्ति तथा संगठनका तर्फबाट जातीय समस्याको सवालसँग धार्मिक सवाल पनि खडा गर्न खोजेको देखिन्छ । तर धर्मसम्बन्धी विवादको कुनै तुक छैन । नेपालमा सनातन हिन्दूधर्मको विरोध गर्नु, जानेर वा नजानीकन पराइहरूको दलाली गर्ने काम मात्रै हो । ‘जनजाति’हरूलाई हिन्दू धर्मबाट अलग्याउन खोज्नेहरूको आ–आफ्नो व्यक्तिगत स्वार्थ त पुग्ला, तर यसबाट हुने राष्ट्रिय क्षति अकल्पनीय छ । मेरो विश्लेषणमा समस्याको जरो भाषिक वा धार्मिक सवालमा छैन, न त राज्यले कुनै जातिविशेषलाई विशेष पक्षपात गर्नाले यस्तो अवस्था आएको हो । समस्या छ, तर यो समस्या एकदमै बढी मात्रामा छ र त्यो जातिभेदको स्तरकै छ भन्नु बेइमानी हो । यो समस्या त समाजको परिवर्तनका क्रममा हुने स्वाभाविक संक्रमणकालीन हलचल हो ।

जातीय समस्या उजागर गर्छौं वा जातीय आन्दोलनलाई नेतृत्व गर्छौं भन्ने बहानामा यस क्षेत्रमा गलत किसिमका व्यक्तिहरू घुस्नाले तथा सत्तासीनहरूले पनि आफ्नो सत्ताप्राप्तिलाई मात्र महत्व दिने, तर सरकारमा बसेर समय सापेक्ष परिवर्तन, उन्नति, प्रगति, विकास गराउनचाहिँ नसक्नाले ताल बिग्रेको हो । यसैगरी सरकार पक्ष अकर्मण्य र पंगु हुने, र जातीय आन्दोलनका नाममा जात–जाति–जनजातिको द्वेषपूर्ण नारा चर्काउँदै संकीर्णताको घृणित खेल जारी रहिरह्यो भने परिणति त्रासद हुनेछ । कसैलाई सरापेर, ‘बाहुनवाद’ वा ‘जनजातिवाद’ वा ‘दलितवाद’को हाहा–हुहु मच्चाएर र जातीय–ध्रुवीकरणलाई चर्काएर यसको समाधान कदापि हुँदैन ।

अब कता ?
अहिले नेपालमा जातीय साथसाथै भाषिक, धार्मिक, क्षेत्रीय, राजनीतिक, आर्थिक लगायतका अनेकौँ किसिमका द्वन्द्व वा विवादहरूको सगबगाहट चलिरहेको छ । त्यसोहुँदा स्थिति बडो जटिल छ । तर, यति जटिल पनि छैनकि समस्याको समाधान गर्न नै नसकियोस् । हरेक समस्याहरू समाधान गर्न सकिन्छ । सर्वप्रथम त हामी समस्यालाई उल्झाउन होइनकि सुल्झाउनमा इमानदारी पूर्वक प्रयत्नशील हुनु यस दिशामा आधारभूत आवश्यकता हो । मुख्य कुरा जनताको मानसिकता हो । यदि आपसमा फुट्ने नै होभने फूटका बहाना त जति पनि पाइन्छन् । हो, झै–झगडा गर्नका लागि निहुँ जति पनि पाइन्छ । ‘तँ गोरो, म कालो’ भनेर, ‘तँ होचो, म अग्लो’ भनेर ‘तँ पहाडे, म मधेसी’ भनेर, ‘तेरो नाक चुच्चो, मेरो नाक थेप्चो’ भनेर, ‘तँ धनी, म गरीब’ भनेर, ‘तँ छुचो, म जाती’ भनेर, ‘तँ शोषक, म शोषित’ भनेर वा यस्ता एक लाख ओटा वा अझ बढी निहुँ भेटिनेछन् । मारपिट गर्नेनै होभने त ‘तेरो सास कस्तो गनाएको !’ भनेर धक्याए पनि भयो, वा ‘मलाई किन धक्याएको?’ भनेर मुक्याए पनि भयो । होइन, शान्ति, आपसी भाइचारा, स्नेह, प्रेम, राष्ट्रिय एकता, सौहाद्रता, समन्वय, सर्वांगीण विकास, उन्नति, प्रगति चाहने हो भने छाति फराकिलो पार्नै पर्दछ, उदार बन्नै पर्दछ ।संक्षेपमा ‘अब कता ?’ भनेर प्रश्न राखी हामीले त्यसको जवाफमा भन्न चाहेको के भने समस्या समाधानको सही उपाय जातीय आधारमा खोलिएका संघ–संगठन–संस्था–मोर्चा तथा पार्टीको संकीर्ण जातीय अहंकार वा घृणालाई बढावा दिने क्रियाकलाप होइन । आपसी सद्भाव, संवाद, एकताभाव तथा समझदारीपूर्ण सहभागिता नै समस्या समाधानको दिशामा सकारात्मक अग्रसरता हो ।

प्रतिक्रिया