नेपाल ग्लोबल छनोटमा पुग्न असफल

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको २०२३ मा हुने टि२० विश्वकप खेल्ने सम्भावना एसिया क्षेत्र छनोटबाटै समाप्त भएको छ । आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको छ । युएई अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टि२० ग्लोबल छनोटमा पुगेको छ । १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा ७९ रनमा अल आउट भयो । नेपालकी ओपनर इन्दु बर्माले २० बलमा १ चौका सहित १५ रन बनाए । सीता रानामगरले ८ बलमा ३ चौका सहित सर्वाधिक १३ रनमा आउट भइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट भइन् । काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ र करुणा भण्डारी २ रनमा आउट भए । युएईकी समायरा धरणीरकाले ४ ओभरमा ५ रन खर्चेर ४ विकेट लिइन् । खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलको नाममा १ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । युएईकी मध्यक्रमकी चमानी सेनेवित्नेले ३६ बलमा ७ चौका सहित सर्वाधिक ५२ रन बनाइन् । ओपनर थ्रीथा सतिस ४६ बलमा ३ चौका सहित ४७ रनमा आउट भइन् । ओपनर ईशा ओझालाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेकी थिइन् । त्यसपछि थ्रीथा र ईशा इगोडागे ५८ रनको साझेदारी गर्दै अघि बढाएका थिए ।

काभिसा इगोडागे २७ बलमा १ चौका सहित २२ रनमा आउट भइन् । ११ औं ओभरको अन्तिम बलमा स्पिनर संगिता राईले कविता कुँवरबाट क्याच गराएकी थिइन् । त्यसपछि क्रिजमा आएकी चमानीले आक्रामक ब्याटिङका साथ चुनौतीपूर्ण योगफल तयार पारेकी थिइन् । तेस्रो विकेटका लागि थ्रीथा र चमानीले ४९ रनको साझेदारी गरेका थिए । थ्रीथालाई १८ औं ओभरको अन्तिम बलमा सीता रानामगरले बोल्ड आउट गरेपछि अर्धशतक बनाउन चुकेकी थिइन् ।

नेपालका कविता कुँवरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, सीता रानामगर र संगिता राईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएई ५ खेलमा १० अंकका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरियो ।

प्रतिक्रिया