पुलिसमा जागिर नखाएर भो ?

२००८ सालको कुरा हो । काठमाडौं, चाबहिलका कान्छा डंगोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियोे । २००७ पछि प्रजातन्त्रको परिवेश र उमंगका बेला उनीसहितका महिलालाई एक टोलीले एक्कासी लिएर सिंहदरबारमा तालिम दिन सुरु गरेको थियो । त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए । त्यस बेला महिलाको टोली चारूमती बहालमा महिला सशक्तीकरणको छलफलमा सरिक थिए । त्यहाँबाट नै चैतमाया लगायतलाई सामूहिक रूपमा लगिएको थियो । प्रजातन्त्र पुनःस्थापना हुनुअघि नेपाली कांग्रेसको मुक्ति सेनाले आन्दोलन गरिरहेको थियो । भर्खर प्रजातन्त्र प्रवेश गरेकाले सुरक्षा संरचना भर्खरभर्खर बामेसर्दै थियो ।

उतिबेलाको समय नै उस्तै । महिला केवल चुलोचौकामा सीमित रहनुपर्ने नेपाली समाजको पुरानो चलन । सामान्य लेखपढ गरेर घरबाहिर जागिर गर्ने महिलाले निकै संघर्ष र हिम्मत जुटाउनुपर्ने अवस्था थियो । त्यसमाथि सेना, प्रहरीजस्तो सुरक्षा अंगमा काम गर्ने सोच प्रायः महिलाको सपनामा पनि आउँदैन थियो । जब महिला आन्दोलनले विश्व तातिँदै गयो, तब त्यसको राप नेपाली समाजमा प¥यो । विस्तारै महिलाको उपस्थितिको रेखा कोरिन थाल्योे । कतिपय अवस्थामा अन्तर्राष्ट्रिय सन्धिसम्झौताको पक्ष राष्ट्रको हैसियतले पनि नेपाल सरकारका विभिन्न अंगमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बाध्यता आइलाग्यो । विशेषगरी राणाशासनको अन्त्यसँगै मौलाएको प्रजातान्त्रिक व्यवस्थाले महिलाका लागि अवसर र चुनौतीका चाङ लगाइदियो । चैतमाया त्यस्तै अवसर र चुनौतीका चेपुवामा परेकी थिइन् ।

झण्डै चार महिनाजति चैतमायासहितको महिला टोलीलार्ई प्रहरीसँग सम्बद्ध विभिन्न तालिम दिने र खेल खेलाउने गरियो । त्यस बेलाका प्रहरी हाकिम नरशमशेर जबरा आफैँ आएर तालिमेलाई सिकाउथे । राणा नेपालका दोस्रो प्रहरी महानिरीक्षक थिए । उनले राणाले प्रहरी प्रमुख हो भन्ने कुरापछि मात्रै थाहा पाएको सुनाइन् । तालिम सकिने बेलासम्म पनि उनीसहितका महिलालाई केका लागि तालिम लिइँदैछ भन्ने भेउसम्म थिएन । चैतमायाका अनुसार सबै महिला मिर्मिरे बिहान टुँडिखेलको फराकिलो चौरमा सिक्ने, खेल्ने गर्थे । त्यसबेला भाग्न नपाउने गरी बन्दोबस्ती मिलाइएको थियो । प्रहरीमा भर्ना भएको भन्ने कुराको कसैले सुइँकोसमेत पाएन । दबाबमा परेर सुरु भएको जागिरे जीवनपछि भने सहज भएको उनको अनुभव छ ।

उनी कल्पनामै नभएको प्रहरी पेसामा अनायासै तानिइन् । खेलकुद गरेको चार महिनापछि बल्ल मात्रै प्रहरी भएको थाहा भयो । त्यो चाल पाएपछि चैतमायासहितका सबैले प्रहरीको जागिर नखाने अड्डी लिए । लिउन् पनि कसरी ? कडा मिहिनेत, चनाखो जीवनशैली र उछलकुदको प्रहरी पेसा महिलाका लागि सहज लाग्ने कुरै भएन । त्यसमाथि घरपरिवारको सहयोग र समर्थन पनि उतिबेला थिएन । महिला प्रहरी हुनु झनै चुनौती थियो तर उनीहरूकोे जागिर नखाने पुकारा कसैले सुनेनन् । बरु प्रहरी अधिकारीबाट धम्कीको सामनासमेत खेप्नुप¥यो । ‘हामीले जागिर खान्नौँ भन्दा कि तालिमको पैसा तिर, नत्र जेल जानुपर्छ भने,’ ८८ वर्षीया चैतमायाले प्रहरी प्रमुखले भनेको कुरा सुनाउँदै भनिन्, ‘अनि पुलिसमा जागिर नखाएर भो ?’

त्यसपछि उनको प्रहरी जीवन सुरु भयो । प्रहरीमा भर्ना भएकामा श्रीमान् केदार राजवंशीलाई पनि चित्त बुझेको थिएन तर सरकारको नुन खाइसकेपछि उनले पनि ‘हुन्न’ भन्न सकेनन् । ‘प्रहरीमा जागिर खाएका निहुँमा सात दिनमै श्रीमानसँग विवाद भए पनि पछि विस्तारै उहाले स्वीकार गर्नुभयो,’ चैतमायाले बताइन् । घरपरिवारको जिम्मेवारी श्रीमान् र परिवारलाई सुम्पिँदै उनले जागिरे जीवनको यात्रा सुरु गरिन् । सुरुमा उनकोे दरबन्दी ट्राफिकमा भए पनि जहाँ खटायो, त्यहीँ जानुपर्ने बाध्यता थियो । त्यतिबेला अपराधका रूपमा केही मारपिट, चोरीका घटना हुन्थे । उनले ‘ड्युटी’मा खटिँदा सयौँ अभियुक्त वा आन्दोलनकारी महिला, पुरुषलाई पक्राउ गरेकी थिइन् । २०१४ सालकोे सत्याग्रहमा उनी झन् धेरै खटिनु प¥यो । सत्याग्रहको राप सबैतिर फैलिएको थियो ।

उनले प्रहरी पेसामा नुनको सोझो मात्र गरिनन्, देशको रातो झण्डामुनि नेपाली महिलाकै शिर गर्वले ठाडो बनाइन्, देश सेवामा जीवन सुम्पेर आधा आकाशको सान बढाइन् । त्यति मात्रै होइन्, पहिलो महिला प्रहरी बनेर ‘सत्य सेवा सुरक्षणम्’को प्रहरी नारालाई महिला वर्गले पनि उँचो राख्न सक्छ भन्ने चरितार्थ गरिन् । उनलाई अहिले हिँडडुलमा अर्काको सहारा चाहिने बेला भइसकेको छ । प्रहरी सहायक निरीक्षकबाट ०३९ सालमा सेवानिवृत्त चैतमायाले प्रहरी हुनुमा गर्व गर्दै भनिन्, ‘प्रजातन्त्र खुलेपछि त ओहो ! कुरा गरिसाध्य छैन, त्यस्तो खुसीको क्षण थियो, त्यही बेला हामीलाई लग्यो ।’ उनले विगत सम्झँदै भनिन् । उनका विगत सहज थिएन, तर, अहिले सुन्नेका लागि रोमाञ्च लाग्ने खालको छ ।

उनका अनुसार त्यस समयमा प्रहरीमा मात्रै होइन, अन्य क्षेत्रमा पनि जागिर खाने महिला नै थिएनन् । महिलाको काम भनेको घरभित्रको चुलोचौकोमा मात्रै सीमित थियो । ‘प्रहरीमा जागिर खाने हाम्रो इच्छा थिएन, पुलिसमा जाने भनेर लगिएको पनि होइन, कांग्रेसका नेताले त्यसै सिंहदरबार लगेका थिए, चार महिनापछि पो प्रहरी भयौँ भने, आफू त छक्कै परेको,’ उनले भनिन् । त्यस बेला महिलाको २५ जनाको दरबन्दी थियो । त्यसमा पहिलो नाम ‘चैतमाया डंगोल’, वैशाख १ दर्ता भयो । ‘भर्ना हुँदा भाइहरू (प्रहरी जवान) तीन मोहर खान्थे किस्ता, हवल्दारको दुई रुपैयाँ थियो, महिला भाग्छन् भनेर त्यतिखेरै हामीलाई ३० रुपैयाँ दिइएको हो,’ उनले पुरानो कुरा सम्झँदै भनिन् । जाडामा खाकी रङको ऊनी र गर्मीमा जिन्सको पोसाक दिइन्थ्यो उनीहरूलाई ।

चैतमायाले झण्डै ३२ वर्ष प्रहरीमा सेवा गर्दा प्रहरी नायब निरीक्षक (सइ) हुने समय भएको थियो । ‘चिठ्ठी आउनै लाग्दा घरको समस्याले जागिर छाडेँ,’ उनले सुनाइन् । प्रहरी हुँदाका अनेक अनुभव उनीहरूसँग छ । ‘कति हेलाँ गर्थे त्यस बेला, सबै सहेर काम गर्नुपरेको थियो, सुरुसुरुमा डर पनि लाग्यो, लाज पनि हुन्थ्यो । अरूले ‘पुलिसनी’ भनेर जिस्क्याउँथे, पछिपछि हेलाँ गर्ने, जिस्क्याउनेलाई लखेट्थेँ,’ उनले काम गर्दाको स्मृति सुनाइन् । पाँच दिदीबहिनीमा उनीसहित तीन जना प्रहरीमा लागे । उनीले पछि माहिली बुद्धमाया र साहिँली श्रीमानीलाई प्रहरीमा लगाइन् । बुद्धमाया भने अहिले बितिसकी ।

आफूलाई प्रहरीमा भर्ना हुँदा लाज लाग्ने गरे पनि अब त्यस्तो अवस्था नरहेको उनले बताइन् । अहिले त खुसीसाथ भर्ना हुन्छन् । ‘महिलामा पनि केटासरह नै काम गर्न सक्ने तागत छ,’ उनले ठोकुवा गरेर भनिन् । अहिले विभेद नभएकाले पनि काम गर्न सजिलो रहेको उनले सुनाइन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री आजभन्दा झण्डै ७० वर्ष पहिला महिला प्रहरी हुनु आफैँमा चुनौतीको विषय भएको मान्दछन् । ‘चैतमायाको जीवन कुनै तिलस्मी कथाकी नायिकाको जस्तै छ,’ आइजिपी थापाले भने ।

नेपाल प्रहरीले उनलाई गत असोज २० गते मनाइएको ६६औँ प्रहरी दिवसका अवसरमा पहिलो महिला प्रहरीका रुपमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान ग¥यो । उनले मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाका हातबाट सम्मान लिइन् । उनी बसेकै ठाउँमा पुगेर गृहमन्त्री बालकृष्ण खाणले दीर्घायुको कामना गर्दै विगतमा शान्तिसुरक्षा कायम गर्न गरेको योगदानको प्रशंसा गर्नु भुलेनन् । देशका उच्च व्यक्तिले आफू बसेकै ठाउँमा भेट्न आउँदा चैतमायाले त्यतिबेला हर्षित मात्रै भइनन्, प्रहरी भएर देशको सेवा गरेकोमा गर्व पनि गरिन् । त्यसो त उनले गोरखा दक्षिणबाहु चौथो, प्रहरी सेवा पदकलगायत पनि प्राप्त गरिसकेकी छन् ।

कामको दौरान उनी चितवन, नुवाकोट र तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुर पनि खटिएकी थिइन् । २०२१ सालमा बन्दीपुरबाट दमौली सार्दा आन्दोलन भएको थियो र भिड नियन्त्रणमा महिला प्रहरीलाई अगाडि राखिएको थियो । त्यसमा सरिक भएकी चैतमायाले महिला प्रहरी देखेपछि आन्दोलनकारी हच्किएको बताएको प्रहरीले प्रकाशन गरेको एक पुस्तकम उल्लेख छ । अहिले विभिन्न प्रहरी तालिमहरूमा पहिलो महिला प्रहरीका रूपमा उभिएर प्रेरणा दिन उनले छाडेकी छैनन् । कानुनतः ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ तर नेपाल प्रहरीमा अहिले पनि तिनको संख्या न्यून छ । हाल नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक, आठ÷आठ प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक, २९ प्रहरी नायब उपरीक्षक, १ सय १७ प्रहरी निरीक्षकसहित ८ हजार ३ सय ५६ महिला प्रहरी कर्मचारी छन् । सबैभन्दा बढी जवान महिला छन् । कुल प्रहरीको दरबन्दी ७९ हजार ५ सय ३८ भए पनि हाल ७६ हजार १ सय १ प्रहरी कार्यरत रहेकामा झण्डै ११ प्रतिशत मात्रै महिला छन् ।

२०१२ सालमा ऐन आएपछि मात्रै प्रहरी संगठन् औपचारिक रुपमा गठन भएको मानिन्छ । त्यही दिनको सम्झनामा प्रहरी दिवस मनाउने गरिएको छ । ऐनमा लालमोहर लाग्नुअघि नै प्रहरी भर्ना गरिएको थियो । त्यसमाथि महिला पनि सहभागी थिए । चैतमाया त्यसैको एउटा उत्पादन हुन् । प्रहरीको इतिहास खोतल्दा विसं १९५५ तिर तराईमा हुने आपराधिक क्रियाकलाप रोक्न अमिन प्रहरी स्थापना भएको पाइन्छ । पहाडतिर मिलिसियो बनाइएको थियो । विसं १९६७ मा काठमाडौँमा कोतवाली प्रहरीको स्थापना भएको थियो ।

प्रतिक्रिया