माघ २३ गते गणेश गुरुङ एकल साँझ

काठमाडौं । कौडा किङको उपनाम पाएका गणेश गुरुङको आगामी माघ २३ गते राजधानीमा एकल साँझ गरिने भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समिति, घलेगाउँ लमजुङको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा गायक गुरुङले डेढ दर्जनभन्दा बढी आफ्ना सिर्जनाहरु प्रत्यक्ष वाद्यवादनमा सुनाउने जानकारी दिए ।

२०५८ सालबाट मनकामना केवलकारमा चोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका गायक गुरुङका ल्वाङ सुपारी, सल्ला धुपैले, गोगन पानीमा, सुनको औठी, दाइ त मेरो लाहुर जाने, गोरखा मनकामना, गोरखा डाँडा, सिरानचोक, गाउँ चिनारीलगायत तीन सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् भने चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा रहेका छन् ।

२५ भन्दा बढी गुरुङ चलचित्रमासमेत गायन, संगीत र अभिनयका माध्यमले क्रियाशील रहेका गायक गुरुङ पछिल्लो समय कौडा किङका रुपमा पनि परिचित छन् ।

एसियाकै नमूना गाउँ तथा नेपालकै प्रथम स्मार्ट भिलेजका रुपमा रहेको घलेगाउँले धेरै कलाकारहरुको स्तरोन्नती गर्ने क्रममा सहयोग गर्दै आएको छ । लोक, आधुनिक र चलचित्र गायनको क्षेत्रमा दुई दशकदेखि सक्रिय रहँदै आएका गुरुङ एकल साँझ गर्न पाउनु आफूलाई भाग्यमानी ठानेको आयोजक संस्थाका अध्यक्ष प्रेम घलेले बताए ।

यसभन्दा अगाडि कसैले पनि उनको एकल साँझ नगरिदिँदा आफूहरु भाग्यमानी बनेको क्होलासोथर गाउँपालिकाका अध्यक्षसमेत रहेका घलेले बताए । सालिन, भद्र, अनशासित कलाकारको रुपमा मुलुकको मौलिक गीत संगीतमा सदैव सक्रिय रहँदै आएका गायक गुरुङले आफ्नो समुदाय र भाषाभाषीको समेत सम्बद्र्धन र प्रबद्र्धनमा उल्लेख्य योगदान दिएको अध्यक्ष घलेले बताए ।

‘सेवा नै धर्म हो’ भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘गणेश गुरुङ एकल साँझ’ले अनाथ बालबालिकाको शिक्षा, चेतना अभिबृद्धि एवं समाज विकासका लागि केही योगदान पुर्याउने लक्ष्य राखेको छ ।

विशेष गरी समाजमा रहेको कला संस्कृति एवं सामाजिक गतिविधिलाई अझ समुन्नत बनाउनका लागि र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत संगीतका माध्यमले थोरै भए पनि योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘गणेश गुरुङ एकल साँझ’ लाई आयोजना गरेको आयोजक अध्यक्ष प्रेम घलेले जानकारी दिए । कार्यक्रम राष्ट्रिय नाचघर जमलमा हुने घलेको भनाइ छ ।

प्रतिक्रिया