चितवनमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

चितवन । राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका–१, मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिवार आगलागी भएको थियो ।

आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फकी ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ । शनिवार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतवार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ । रासस

प्रतिक्रिया