‘प्रारम्भिक ज्योतिष शिक्षा’ सार्वजनिक

काठमाडौं । ज्योतिष तथा लेखक डा. जनकराज भट्टद्वारा नेपाली भाषामा लिखित ‘प्रारम्भिक ज्योतिष शिक्षा’ पुस्तक सार्वजनिक गरिएको छ । भृकुटीमण्डपस्थित वाल्मीकि विद्यापीठमा विश्वम्भरा ज्योतिष विज्ञान परिषद्ले उक्त कृतिको पूर्वउपकुलपति प्राध्यापक माधवराज गौतमले विमोचन गरे । गौतमले ज्योतिषका विविध पक्षलाई सरल तरिकाले बुझ्न कृति उपयोगी रहेको विचार व्यक्त गरे । पूर्वीय संस्कृति र दर्शनका विविध पाटालाई नजिकबाट नियाल्न कृति सफल हुनेमा आफू आशावादी रहेको उनले जनाए ।

वाल्मीकि विद्यापीठका प्रमुख प्रा.डा.भागवत ढकालले ज्योतिषका जिज्ञासुलाई यथेष्ट प्रारम्भिक खुराक पस्केको धारणा राखे । उनले कृति ज्योतिष र यसका बारेमा रुचि राख्ने जोकोहीका लागि निकै सरल सामग्रीका रुपमा आएको बताए । आठ अध्यायमा ज्योतिषका बारेमा चर्चा गरिएको उक्त कृतिको प्रारम्भिक परिचय, कुण्डली अध्ययनका पूर्वाधार, दशाफल, कुण्डली विश्लेषण, ग्रहशान्ति, फलित ज्योतिषका केही व्यावहारिक पक्ष, वास्तु प्रकरण र उपयोगी उपाय संग्रह रहेका छन् ।

पुस्तकमा पात्रो हेर्ने सरल तरिका, राशिको नाम जुराउने तरिका, कुण्डली निर्माणका सरल विधि, दशाफल, राशि परिचय, नामराशिको प्रयोजन, ग्रहशान्तिका सरल विधि, ग्रह दशा शान्तिका सरल उपाय, सिजेरियन डेलिभरिको समय निर्धारण विधि, वास्तुका आधारभूत पक्ष, मालाद्वारा मन्त्र जप गर्ने तरिका, उपयोगी मन्त्रहरू र सप्तबार व्रतकथा जस्ता विषयवस्तुहरू समावेश गरिएका छन् । २४५ पृष्ठको सो पुस्तकमा ज्योतिषमा रुचि राख्ने सर्वसाधारण व्यक्तिले स्वाध्यायबाट ज्योतिषका व्यवहारिक विषयवस्तुबारे जानकारी लिन सहज रुपमा सक्ने छन् ।

पुस्तकका बारे प्रकाश पार्दै लेखक भट्टले आधुनिक कम्प्युटर प्रविधिको विकासले फलित ज्योतिषलाई सहज र सर्वसुलभ बनाएको बताए । उनले भने, ‘यो पुस्तक सर्वसाधारणलाई सिक्न चाहने व्यक्तिहरुका साथै ग्रहशान्ति व्रत पूजापाठ आदि कर्म गर्नेहरुका लागि उपयोगी होओस् भन्ने उद्देश्यले लेखिएको हो । यसमा आधुनिक प्रविधिको प्रयोग गरी ज्योतिष सिक्न चाहनेका लागि विभिन्न उपायहरू बताइएका छन् ।’
लेखक भट्टले ज्योतिषशास्त्र वैदिक कालदेखि विकसित हुँदै आएको सुनाउँदै आधुनिकताका नाममा अनेक विकृतिले ज्योतिष शास्त्रलाई ग्रसित तुल्याएको जिकिर गरे ।

प्रतिक्रिया