लोप हुने खतरामा राउटे समुदाय

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अस्तित्व संकटमा पर्न थालेको भन्दै विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त हुन थालेका छन् । गत एक वर्षको अविधमा ६ जना बालबालिकासहित १७ जना राउटेको अकालमा मृत्यु भएको थियो । यसरी अकालमा बालबालिकाको मृत्यु हुन थालेपछि यो जाति संकटमा परेको उनीहरूको भलाइका लागि काम गर्दै आएको सामाजिक विकास सेवा केन्द्र (सोसेक) ले जनाएको छ । अत्यधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही, कुपोषणजस्ता कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान जान थालेको सोसेकमा कार्यरत लालबहादुर खत्रीले बताए । विगत चार वर्षदेखि राउटे बस्तीको रेखदेखमा खटिएका उनका अनुसार २०७७ असारदेखि २०७८ असारसम्म जन्मिएका नौ मध्ये ६ जना शिशुको ६ महिनाको उमेरभित्रै मृत्यु भएको तथ्यांक छ । उनीहरूको जनसंख्याका आधारमा यो ठूलो संख्या हो । त्यसैले यही गतिमा गइरहे राउटे समुदायको अवस्था गम्भीर हुने देखिन्छ ।

भर्खरै जन्मिएको शिशुलाई समेत दिनभरि बस्तीमै छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेको खत्रीले बताए । उनीहरूमा बालबालिकोको कसरी सुरक्षा गर्ने र खान पानमा ध्यान दिने भन्ने चेतना छैन । अर्कोतर्फ जंगलमा बस्ने उनीहरूका दैनिकी पनि कष्टकर नै छ । आफूहरुलाई सुधार गनेतर्फ पनि उनीहरु लागेको पाइँदैन । अहिलेको अवस्था हेर्दा सानादेखि ठूलासम्ममा मदिरा पिउने । अरूले दिएको सहयोगलाई सही रूपमा उपयोग नगर्ने बानी देखिन्छ ।

राउटे समुदायका गतिविधिलाई लामो समयदेखि प्रत्यक्ष रूपमा नजिकबाट नियाल्दै आएका उनले भने, ‘मदिराको कुलत छुटाउन नसकिए राउटे समुदाय नै लोप हुने खतरा छ ।’ यो अवधिमा अत्यधिक मदिरा पिएर, भिरबाट लडेर तथा दीर्घ रोगका कारण अरू ११ जना राउटेले पनि ज्यान गुमाएका छन् । पछिल्ला दिनमा राउटे समुदायले अध्यधिक मदिरा पिउने गरेको भन्ने खबर निरन्तर आउने गरेको छ । राउटे समुदायका अगुवाहरू पनि अत्यधिक मदिरा पिउने बानीका कारण आफ्नो समुदाय नासिने हो कि भन्ने चिन्ता लाग्न थालेको बताउँछन् । अरू समुदायसँग घुलमिल बढेसँगै उनीहरूले खाएको देखेर आफ्ना जनताले पनि मदिरा पिउन सिकेको राउटे मुखियाहरू दाबी गर्छन् । उनीहरुका अनुसार बाहिरी संगतले पनि राउटेको दिन चर्चा बिग्रिएको हो ।

बजारमा पाइने विभिन्न खाले रक्सीका साथै लोकल रक्सी चार–पाँच वर्षदेखि अत्यधिक रूपमा खान थालेको र जति प्रयास गर्दा पनि आफ्ना जनतालाई मदिरा पिउनबाट रोक्न नसकेको राउटेका एक पूर्वमुखिया महिनबहादुर शाही गुनासो गर्छन् । दिक्दारी मान्दै उनले भने, ‘जति भने पनि नमानेपछि कसो गर्ने हो ? नखाऊ भन्दा खान्नँ भन्छन्, तर गाउँसहरबाट बेलुका टिल्ल भएर आउँछन् ।’ राउटे मुखिया सूर्यनारायण शाही पनि आफ्नो समुदायका मानिसहरूले अत्यधिक मदिरा सेवन गर्न थालेको भन्दै चिन्ता प्रकट गर्छन् ।

संघीय सरकारले राउटे समुदायका प्रतिव्यक्तिलाई मासिक तीन हजार रुपैयाँ र कर्णाली प्रदेश सरकारले मासिक दुई हजार रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता दिन्छन् । प्रत्येक राउटे परिवारले चार महिनामा न्यूनतम २० हजारदेखि दुई लाख रुपैयाँसम्म सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको तथ्यांक छ । तर, उनीहरूले यसलाई धेरैजसो मदिरा पिउनमा खर्चिने गरेको उनीहरुलाई नजिकबाट हेरिरहेका बताउँछन् । सरकारले दिने भत्ताका साथै विभिन्न संघसंस्था, व्यक्तिले गर्ने सहयोग र आफैँले पनि कमाउने हुँदा उनीहरूसँग पैसाको खासै अभाव नहुने गरेको जानकारहरू बताउँछन् । सरकारी र गैरसरकारी संस्थाले दिने चामल, दाल, तेल, लत्ताकपडाका साथै आफूहरूले प्रयोग नगर्ने खालका सामान गाउँलेलाई सस्तोमा बेचेर पनि राउटेहरूले मदिरा खाने गरेको खत्रीले बताए । जति सहयोग पाए पनि उनीहरूको दैनिकी भने पुरानै अवस्थाको छ ।

पछिल्लो समय आमाको दूध खान छोडेका बालबालिकादेखि महिला र वृद्धवृद्धाले अत्यधिक मदिरा पिउने गरेको राउटे समुदायको भलाइका लागि काम गरिरहेकाहरू बताउँछन् । हातमा पैसा पर्नासाथ मदिरा पिइहाल्ने बानी परेका राउटेहरूलाई त्यस्तो कुलतबाट समयमै मुक्त गर्न नसके यो समुदायको अस्तित्व नै नरहने खतरा उनीहरू औँल्याउछन् । राउटे मुखिया सूर्यनारायण शाहीले पनि आफ्नो समुदायमा जाँडरक्सीको कुलतको समस्या रहेको बताएका छन् । राउटे समुदायका मानिसको उपचार तथा सुरक्षाका लागि राउटे बस्तीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिएका छन् । तर, उनीहरू भने त्यसको सेवा लिनभन्दा कुलतमा बढी आकर्षित भएको देखिन्छ ।

अहिले प्रदेश सरकारको तर्फबाट एक जना, सोसेकको तर्फबाट दुई जना कर्मचारी राउटे बस्तीमा खटिएका छन् । यसरी खटिएका कर्मचारी र प्रहरीले राती १० बजेसम्म राउटे बस्तीको रेखदेख र निगरानी गर्ने, बिरामी पर्दा उपचार गर्ने, बालबालिकालाई खेलाउने, मुखियासँग समन्वय गर्ने, आवश्यक सल्लाहसुझाव दिने काम गरिरहेका छन् ।

राउटे समुदायको संरक्षण लागि विभिन्न प्रयत्न भइरहेका छन् । तैपनि राउटे समुदायका मानिसहरूलाई मदिराको कुलतबाट मुक्त गर्न नसकिएको उनीहरूको रेखदेखमा खटिएकाहरूको दाबी छ । राउटे समुदायमा मदिरा नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गर्नुका साथै बस्ती वरपरका मान्छेलाई मदिरा नबेच्न आग्रह गर्ने काम भइरहेको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख अनिता ज्ञवालीले बताइन् ।

आफ्नो तर्फबाट महिनाको दुई हजार रुपैयाँ भत्ता दिँदै आएको कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई सामाजिकीकरण गर्ने प्रयास थालेको जनाएको छ । राउटे समुदायका समस्या पहिचान गरिएको र ती समस्या समाधान गर्न राउटेसम्बन्धी छुट्टै नीति ल्याउन लागिएको ज्ञवालीले जानकारी दिइन् ।

राउटे समुदायको मूलप्रवाहीकरणसम्बन्धी नीतिमा शिक्षा, स्वास्थ्य, आयआर्जन, मौलिकताको संरक्षण, सहयोगका लागि एकद्वार नीतिजस्ता विषय समेटिएका छन् । अहिले १ सय ४० जनाको संख्यामा रहेका राउटे समुदायलाई यो नीतिले विभिन्न कुलतबाट मुक्त गराउँदै मूलप्रवाहीकरणमा सघाउने सबैको अपेक्षा गरेको छ ।

प्रतिक्रिया