नेपालसँगको व्यापारमा चिनियाँ अवरोध कहिलेसम्म ?

प्रमोद गिरी

सरकारी तथ्यांकअनुसार नेपाल र चीनबीच वार्षिक करिब २ खर्ब २० अर्ब रुपैयाँको व्यापार हुन्छ । बार्षिक २ खर्ब १५ अर्बभन्दा बढीको सामान चीनबाट आयात हुने गरेको छ । कुल व्यपापारको करिब १५ प्रतिशत चीनसँग हुन्छ । तर, नेपालको कुल निर्यातको २ दशमलव ७ प्रतिशत मात्र चीनमा हुने गरेको छ । नेपाली सामान निर्यात हुने मुलुकमा चीन छैटौँ नम्बरमा पर्छ । वर्षमा पाँच अर्ब रुपैयाँको हाराहारीमा निर्यात हुन्छ ।

विश्वको दोस्रो महाशक्ति चीन नेपालको छिमेकी मात्र होइन प्रमुख व्यापारिक साझेदार मुलुक पनि हो । नेपालको व्यापारमा भारतपछिको दोस्रो ठूलो कारोबार चीनसँगै हुन्छ । पछिल्ला दशकमा नेपालको चीनबाट हुने आयात निकै बढ्दो क्रममा छ । यो हाम्रा लागि खुसीको विषय पनि हो । तेस्रो देशसँगभन्दा छिमेकी मुलुक भारत र चीनसँग हुने व्यापार मूल्य, भन्सार र यातायात खर्चका हिसाबले फाइदाजनक हुन्छ । यातायात लागत घट्दा व्यापारीको लागत कम पर्न गई अन्ततः उपभोक्ता लाभान्वित हुन्छन् ।

तर, दुई पक्षीय व्यापारको परिमाण बढ्दै गए पनि नेपाल र चीनबीचको व्यापारमा निरन्तर गतिरोध आइरहेको छ । विषय भौगोलिक, राजनीतिक र दैवीप्रकोप जेसुकै हुन सक्छ तर व्यापारमा समस्या एकपछि अर्को आइनै रहेका छन् । यी समस्याको प्रत्यक्ष घाटा नेपाली व्यापारी, नेपाल सरकार र नेपाली उपभोक्ताले नै बेहोर्नुपरेको छ । यस सन्दर्भमा व्यापार विज्ञ बेन्जामिन ग्राहामको भनाइ मननयोग्य छ, ‘व्यापार र लगानीमा तिमीले कति कमायौभन्दा पनि गुमायौ कि गुमाएनौ भन्ने पक्ष पनि महत्वपूर्ण हुन्छ ।’ हो, व्यापार गुमाउन होइन कमाउन गरिन्छ । आयातकर्ता र निर्यातकर्ता दुवैले आफूलाई फाइदा हुने देखेपछि सामान लेनदेन गर्ने हुन् । तर, चीनले विभिन्न कारण देखाएर जसरी हुन्छ आफूलाई मात्र लाभ हुने गरी व्यापारिक गतिविधि गर्दा नेपाली व्यापारीले नोक्सानी बेहोर्नुपरेकोे छ ।

सरकारी तथ्यांकअनुसार नेपाल र चीनबीच वार्षिक करिब २ खर्ब २० अर्ब रुपैयाँको व्यापार हुन्छ । वार्षिक २ खर्ब १५ अर्बभन्दा बढीको सामान चीनबाट आयात हुने गरेको छ । कुल व्यापारको करिब १५ प्रतिशत चीनसँग हुन्छ । तर, नेपालको कुल निर्यातको २ दशमलव ७ प्रतिशत मात्र चीनमा हुने गरेको छ । नेपाली सामान निर्यात हुने मुलुकमा चीन छैटौँ नम्बरमा पर्छ । वर्षमा पाँच अर्ब रुपैयाँको हाराहारीमा निर्यात हुन्छ ।

यो तथ्यांकले स्पष्ट गरेको छ, आयातको हिस्सा ज्यादै ठूलो भए पनि निर्यात नाम मात्रको छ । दुई मुलुकबीच व्यापारमा ठूलो असन्तुलन छ । जब निर्यातको हिस्सा सानो र आयातको हिस्सा ठूलो हुन्छ निर्यात कम हुने मुलुक घाटामा पर्छ । नेपाल र चीनबीचको अवस्था पनि यही हो । नेपाल र चीनबीचको व्यापार खासगरी २०७२ साल यता निरन्तर अवरोधको अवस्थामा छ । भूकम्प र बाढीपहिरोले सीमा क्षेत्रको सडक भत्किएपछि अवरुद्ध व्यापारमा अहिले पनि खासै सुधार हुन सकेको छैन । बीचमा केही सुधार आएको व्यापार दुई वर्ष यता फेरि सुस्त बनेको छ । चीनबाट आयात गरिएका सामानलाई मुख्य प्रवेश विन्दु तातोपानी नाका र रसुवागढी नाकामा परिमाणात्मक बन्देज चीनले नै लगाएको छ । दुई देशको सीमासम्म आइपुगेका सामान नेपाल प्रवेश गर्न पाइरहेको छैन । चीनबाट सामान लिएर दैनिक करिब तीन सयसम्म कन्टेनर सीमामा आइरहेका छन् तर खासाबाट नेपाल दैनिक थोरै संख्यामा मात्र कन्टेनरको भन्सार जाँच गरिन्छ । हाल एक हजारको हाराहारीमा कन्टेनर नाकामा रोएिका छन् । कन्टेनर रोकिँदा स्याउलगायत कतिपय खाद्यसामग्री सडिसकेको अवस्था छ । यसले गर्दा नेपाली व्यापारी समस्यमा परेका छन् । गर्मीका कपडा जाडोमा पनि नआइपुग्दा व्यापारमा ठूलो घाटा भएको व्यापारीले गुनासो गरे पनि यसलाई सुन्ने र सम्बोधन गर्ने कोही छैन । दसैँ र तिहारलाई लक्ष गरी ल्याएका सामान भन्सारमै रोकिएका छन् । तातोपानी मात्र होइन रसुवागढी भन्सारको अवस्था पनि यस्तै छ । यी दुई नाकाका अतिरिक्त मुस्ताङको कोरला, हुम्लाको यारी, दोलखाको लाम्बगर, खताप्लेजुङको ओलान्चुङ गोला, गोरखाको लार्के, मुगुको मुग भन्सार पनि व्यापारिक नाकाका रूपमा प्रयोगमा आएका छन् । तर, कोरोना भाइरस फैलिएपछि यी नाका पनि ठप्प छन् । यसबाट चिनियाँ सामग्रीमा भरपर्दै आएका उत्तरी क्षत्रका बासिन्दामा पनि समस्या भएको छ । यो कुनै क्षेत्रगत समस्या नभई राष्ट्रिय समस्या हो । यसमा दुवै देशका सरकार गम्भीर हुन जरुरी छ । नेपालको पराष्ट्र मन्त्रालयले चिनियाँ अवरोध हटाउन पहल गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

चीन सरकारले पनि समस्या समाधान गर्छु भन्दै टार्दै आएको छ । चीनले नेपाललाई संकट पर्दा सहयोग गर्दै आएको छ । भूकम्प, बाढी पहिरो, कोभिडलगायत जुनसुकै समस्यामा चीनको ठूलो साथ र सहयोग छ । तर, व्यापारमा भने घुमाउरो पाराले बारम्बार अवरोध भइरहेको छ । यतिबेला कोरोनाको कारण देखाएर सीमामा सामान रोक्नु नितान्त गैरजिम्मेवारी हो । रोक्ने हो भने सामान बिक्री नै रोक्नुपर्छ । बिक्री भइसकेको सामान दुई देशको सीमानामा आइपुगेपछि रोक्न मिल्दैन । यो त केबल नेपाल र नेपालीलाई दुःख दिने नियतबाहेक केही होएन । बेल्ट एन्ड रोडलगायत चीनका प्रत्येक योजना र कार्यक्रममा नेपालले खुलेर सहयोग गर्दै आएको छ । व्यापारमा पनि चिनियाँ सामानको आयात बढ्दै गएको छ । गत आर्थिक वर्ष चीनतर्फको आयात उच्च बढेको छ भने निर्यात करिब ४० प्रतिशतले घटेको थियो । चालु वर्षको अवस्था पनि यस्तै छ ।

 वरोधका कारण पनि नेपाली उत्पादन निर्यात सम्भाव्यता अनुसार हुन सकेको छैन । नेपालको राजनीतिमा सक्रियता देखाउने नेपालस्थित चिनियाँ दूतावास यस मामिलामा भने मौन जस्तै छ । नेपालका लागि चीनको मुख्य प्रतिनिधि दूतावास नै हो । नेपालका मामिलामा कसरी अगाडि बढ्ने भन्नेमा दूतावासकै सल्लाह र सुझावका आधारमा चीन सरकारले नीति तय गर्छ । विदेशी लगानी स्वीकृतमा पनि चीन सबैभन्दा अघि छ । आर्थिक वर्ष ०७७÷७८ मा उद्योग विभागले १८ सय ३९ उद्योगका लागि १ खर्ब ६७ अर्ब ५८ करोड रुपैयाँ चिनियाँ लगानी स्वीकृत गरेको छ । यो तथ्यांकले चिनियाँहरू नेपालमा लगानी गर्न आकर्षित भएको देखाउँछ । चिनियाँ लगानीकर्ता प्रति नेपालले पनि विश्वास र स्वागत गरेको छ । तर, विशाल अर्थतन्त्र भएको मुलुक भएर पनि नेपालको व्यापार प्रवद्र्धन भएको देख्न चाहिरहेको छैन ।

नेपाल चीन व्यापार संयुक्त कार्यदलको बैठक बेलाबेला बस्ने गरेको छ । गत आवमा पनि बैठक बसी आपसी समन्वय र सहयोगमा व्यापार पूर्वाधार निर्माण तथा विस्तार र व्यापार सहजीकरण गर्ने सहमति भएको थियो ।

चीनले नेपाललाई पारवहन मार्ग दिने हस्ताक्षर नै गरेको छ । चीनले कोरोनालाई मात्र कारण देखाएको छैन । पार्किङ, पूर्वाधारमा पनि कमी भएको भन्दै भन्सारबाट सामान छुटाउन अवरोध गर्दै आएको छ । चीनले तातोपानी र रसुवागढीको सडक र व्यापार पूर्वाधार सुधारमा सहयोग गर्ने बताउँदै आएको छ । तर अहिलेसम्म पनि बनाउन आनाकानी गर्दै आएको छ । एडिबी, विश्व बैंकलगायत दातृ निकायको लगानीमा सीमा क्षेत्रका सडक निर्माण गर्न मिल्दैन । भौतिक पूर्वाधारको अभावले यी नाका जेनतेन सञ्चालनमा छन् । तातोपानीबाट पछिल्लो समय थोरै सामान आयात भइरहे पनि रसुवागढीबाट हुने आयात प्रायः ठप्प छ । हाल चीनसँगको नाकामा देखिएको अवरोधलाई अनौपचारिक नाकाबन्दीको संज्ञासमेत दिन थालिएको छ । वार्षिक अर्बौंको व्यापार घाटा बेहोर्दै आएको नेपालको व्यापारमा विभिन्न कारण देखाएर अवरोध गर्नुले चीनको नियतमा शंका गर्नुपर्ने भएको छ ।

अमेरिकालाई पछि पार्दै चीन विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । योसँगै उसमा अवसर र चुनौती दुवै थपिएका छन् । अब चीनको दायित्व आफ्नो मात्र नभई समग्र एसियाकोे विकासमा पनि सहयोग गर्नु रहेको छ । त्यसमा पनि नेपालको विकासमा उसको योगदान महत्वपूर्ण रहन्छ । व्यापारको अवरोध लामो समय रहने हो भने नेपाली व्यापारीको पनि चीनप्रतिको विश्वास घट्ने निश्चित छ । यसको असर चीनको व्यापारमा पर्नेछ ।

प्रतिक्रिया