कोरोनाको नयाँ भेरिएन्टको नाम ‘ओमिक्रोन’

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ भेरिएन्टलाई लिएर चिन्ता प्रकट गरेको छ । प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको छ । विश्व स्वास्थ्य संगठनले यो भेरिएन्ट निकै तीव्र गतिमा र ठुलो संख्यामा म्युटेट हुने जनाएको छ । यो भेरिएन्टका कयौं म्युटेशन चिन्ता पैदा गर्ने खालका रहेकाले सुरुवाती साक्ष्यका आधारमा विश्व स्वास्थ्य संगठनले ती म्युटेशनका कारण संक्रमणको खतरा बढेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले यो भेरिएन्टबारे २४ नोभेम्बरमा पहिलो पटक दक्षिण अफ्रिकाबाट जानकारी पाएको थियो । यसका अतिरिक्त बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यो भेरिएन्ट पहिचान गरिएको छ । यो भेरिएन्ट पहिचानमा आएसँगै विश्वका कयौं मुलुकले दक्षिण अफ्रिकासँग आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, बोत्सवाना, लेसोथो र इस्वातिनीबाट आउने आयरल्याण्ड र ब्रिटेनबाहेकका नागरिकलाई ब्रिटेन प्रवेशमा रोक लगाइएको छ ।

अमेरिकी अधिकारीहरुले पनि दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बावे, नामिबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक र मलावीबाट आउने उडानमा रोक लगाउने फैसला गरेका छन् । यो प्रतिबन्ध सोमबारबाट लागू हुने जनाइएको छ । यस्तै, युरोपेली संघ अन्तर्गत स्वीट्जरल्याण्डले पनि दक्षिण अफ्रिकी मुलुकबाट आउने उडानमा अस्थायी रोक लगाएको छ । कोरोनाको नयाँ भेरिएन्ट देखा परेको खबर फैलिएसँगै विश्वको शेयर बजारमा शुक्रबार तीव्र गिरावट देखिएको छ । ब्रिटेनका प्रमुख शेयर सूचकांकमा करिब चार प्रतिशतको गिरावट आएको छ भने जर्मनी, फ्रान्स र अमेरिकाको बजार पनि झरेको छ ।

प्रतिक्रिया