केवरत भाषाको कोशेढुङ्गा : केवरत शब्दसङ्ग्रह

रञ्जन घिमिरे

बहुभाषी मुलुक नेपालका भाषामध्ये केवरत भाषा एक लोपोन्मुख भाषा हो । केवरत भाषा मोरङ जिल्लामा बसोबास गर्ने केवरत जातिको मातृभाषा हो । यस जातिका मानिसहरू एकापसमा संवाद गर्दा र घर व्यवहार सञ्चालन गर्दा यही भाषा प्रयोग गर्दै आएका छन् । मोरङका रैथाने बासिन्दा केवरतहरूको यो भाषा लामो समयसम्म कथ्य परम्परामा नै अगाडि बढ्यो । यस भाषाका लगभग चार हजार जति मौलिक शब्दहरूको सङ्कलन गरी तिनलाई नेपाली भाषामा अथ्र्याउने कामसमेत चतुर्भुज केवरतले गरेका छन् । उनले वि.सं. २०६७ सालमा नेपाल प्रज्ञा–लघु अनुसन्धान परियोजनाअन्तर्गत केवरत शब्दहरू सङ्कलन गरेका हुन् । केवरत भाषाका शब्दहरू समावेश गरी केवरत र नेपाली भाषा गरी द्वैभाषिक रूपमा केवरत शब्दसङ्ग्रहको प्रकाशन वि.सं.२०७० मा भएको हो ।

केवरत भाषाका शब्दहरूको सङ्कलन गरेर चतुर्भुज केवरतले समुदायका लागि उल्लेखनीय काम गरेका छन् नै साथसाथै राष्ट्र«का निम्ति पनि महत्त्वपूर्ण योगदान पु¥याएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका तत्कालीन उपकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रकाशकीयमा केवरत भाषालाई नेपालका अल्पसङ्ख्यक आदिवासी जनजातिले बोल्ने भाषाहरूमध्ये एउटा भाषा भनेका छन् । उनले प्रस्तुत ग्रन्थ नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा विभागले लोपोन्मुख भाषाहरूको वर्णनिर्धारण, शब्द सङ्कलन र प्रारम्भिक व्याकरणको निर्माण जस्ता विषयमा विज्ञ एवम् सरोकारवालालाई अध्ययन अनुसन्धान गर्न लगाउने कार्यक्रमको सन्दर्भमा यो केवरत भाषाका शब्दहरूको सङ्ग्रह तयार पारिएको उल्लेख गरेका छन् । उनले केवरत शब्द सङ्ग्रहलाई केवरत भाषाको शब्दकोश बनाउने यात्राको आरम्भविन्दु भनेका छन् । यस कार्यलाई केवरत शब्दकोश निर्माण गर्ने कार्यमा यो सङ्ग्रह सहयोगी हुने मन्तव्य प्रस्तुत गरिएको छ ।

केवरत भाषाका मौलिक शब्दहरूको सङ्कलन कार्य भएको यस ग्रन्थमा केवरत भाषाका शब्दहरूलाई वर्णानुक्रममा राखिएको छ । यस शब्द सङ्ग्रहको प्रविष्टि चयनमा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपातजस्ता पद वर्गको यथोचित सङ्कलन गरिएको छ । केवरत भाषाका कतिपय शब्दका अर्थलाई प्रस्ट पार्नका निम्ति केवरत भाषामै उदाहरणसमेत दिइएको छ । यस सङ्ग्रहअन्तर्गत ज्ञानविज्ञानका विविध क्षेत्रमा प्रयुक्त हुने केही पारिभाषिक तथा प्राविधिक शब्दहरू, बोलीचालीमा क्रममा नव प्रचलनमा आएका शब्दहरूको प्रविष्टि गरिएको छ । केवरत भाषाका शब्दहरूको समावेश गरी प्रकाशित प्रस्तुत पुस्तक केवरत भाषाका निम्ति त महत्त्वपूर्ण छ नै साथ साथै राज्यका निम्ति पनि अमूल्य निधि हो । वास्तवमा कुनै पनि सम्बन्धित जातजाति तथा जनजातिको सम्पत्ति मात्र नभएर राज्यको सम्पत्ति हो ।
मानव सभ्यताकै अमूल्य र सुन्दरतम निधि हो । केवरत भाषा पनि केवरत जातिको सम्पत्ति मात्र नभएर नेपालकै अमूल्य गहना हो ।


भाषा मानव मनका भाव तथा विचार विनिमयको सशक्त माध्यम हो । यसले मानव मानव बिचका बोलीचालीलाई त सहज बनाउँछ नै साथसाथै यसका साथै सम्बन्धित जाति एवम् समुदायको संस्कार, संस्कृति, अमूर्त लोकसम्पदाको संवहनसमेत गर्दछ । कुनै पनि जातजातिले भाषाकै माध्यमबाट जाति एवम् समुदायका पुर्खाका ज्ञानराशि, लोकजीवन, लोकवार्ता जस्ता लोक आभ्यासिक व्यवहारका अखण्ड ज्ञान राशिलाई हस्तान्तरण र पुस्तान्तरण गर्दछ । भाषाको अभावमा जातजातिका मौलिक पहिचानका पक्षहरू गौण हुन पुग्छन् । भाषाकै माध्यमबाट जातजातिका कथ्य साहित्यका विषयवस्तुहरू पुस्तान्तरण र हस्तान्तरण हुँदै आएको पाइन्छ ।

यस ग्रन्थमा समावेश गरिएका केवरत भाषाका शब्दहरूलाई शब्दकोशीय ढाँचामा अथ्र्याउने काम भएको छ । प्रस्तुत शब्द सङ्ग्रहमा केवरत भाषाका शब्दहरूलाई पदवर्गका आधारमा पहिचान गरी नेपाली भाषामा सचेततापूर्वक अथ्र्याइएकाले यो ग्रन्थ गैर केवरत भाषीका निम्ति समेत निकै उपयोगी रहेको छ ।

सङ्कलक/सम्पादक : चतुर्भुजदास केवरत
संस्करण : पहिलो, वि.सं. २०७० (१२०० प्रति)
प्रकाशक : नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँ
मूल्य : रु. १६५/–

प्रतिक्रिया