लिभरपुलले पोर्टाेलाई हरायो

लण्डन । च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गर्दै समूह चरणमा लगातार पाँचौ जित दर्ता गरेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टाेलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३८औं मिनेटमा अग्रता लिएपनि साडियो मानेको गोलले मान्यता पाएन । भिएआरमा उनी अफसाइड पोजिसनमा देखिएका थिए ।

५२औं मिनेटमा अलकान्ताराले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ७०औं मिनेटमा मोहम्मद सलाहले जोर्डन हेन्डरसनको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे । जितपछि समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलको ५ खेलबाट १५ अंक पुगेको छ । पराजित पोर्टाे ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यही समूहको अर्काे खेलमा एसी मिलानले एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । मिलानको जितमा जुनियर मेसिएसले खेलको अन्त्यतिर निर्णायक गोल गरे । जितपछि मिलानको ५ खेलबाट ४ अंक पुगेको छ ।

पराजित एट्लेटिकोको पनि ४ अंक नै रहेपनि गोल अन्तरमा तेस्रोमा छ । अब समूह चरणको अन्तिम राउन्डमा एसी मिलानले लिभरपुलसँग तथा एट्लेटिकोले पोर्टाेसँग खेल्दैछ । यो नतिजापछि यो समूहबाट नकआउट चरण पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । पोर्टाे, एट्लेटिको म्याड्रिड र एसी मिलानको अघिल्लो चरण पुग्ने समिकरण छ ।

प्रतिक्रिया