मत-विमत

एमालेको आठौँ महाधिवेशन वा प्रतिगमन र अभिनायकवादको पूर्व अभ्यास ?

मोहनविक्रम सिंह २०७८ मंसिर १० गते ७:११ मा प्रकाशित

मोहनविक्रम सिंह

दुईतिहाई बहुमत प्राप्त गर्ने प्रकारले नै एमालेले तयारी गरिरहेको छ । अहिलेको उनीहरूको महाधिवेशन पनि त्यही उद्देश्यको लागि पूर्वअभ्यास वा पूर्वतयारी हो । अहिलेको एमालेको महाधिवेशन वास्तवमा आगामी चुनावका लागि नै पूर्वतयारी हो भन्ने कुरा आमरूपमा बुझ्न सकिन्छ । तर कुरा त्यो भन्दा गम्भीर छ । कैयौँ गुणा बढी गम्भीर छ । घटनाक्रमको विकास एमाले वा ओलीले भनेजस्तो हुँदै गयो र चुनावमा उनीहरूलाई बहुमत वा दुईतिहाइ बहुमत प्राप्त भयो भने त्यसका दुईवटा परिणामहरू हुनेछन् ।

चितवनमा एमालेको दशौँ महाधिवेशन हुँदै छ । प्रकट रूपमा त्यो महाधिवेशन आगामी चुनावको लागि तयारी हो । सत्ताबाट हटेपछि एमालेको सम्पूर्ण ध्यान आगामी चुनावतर्फ नै छ । उनीहरूको जोड मध्यावधि चुनावतर्फ नै छ । त्यो चुनाव उनीहरूले भने जस्तो मध्यावधि चुनाव हुने छ वा समय पूरा भएर आम निर्वाचन हुनेछ ? त्यो कुरा आउने दिनहरूमा नै प्रष्ट हुनेछ । तर त्यो चुनाव जुनसुकै प्रकारको भए पनि त्यसमा दुईतिहाइ बहुमत प्राप्त गर्ने प्रकारले नै एमालेले तयारी गरिरहेको छ । अहिलेको उनीहरूको महाधिवेशन पनि त्यही उद्देश्यको लागि पूर्वअभ्यास वा पूर्वतयारी हो ।

अहिलेको एमालेको महाधिवेशन वास्तवमा आगामी चुनावका लागि नै पूर्वतयारी हो भन्ने कुरा आमरूपमा बुझ्न सकिन्छ । तर, कुरा त्यो भन्दा गम्भीर छ । कैयौँ गुणा बढी गम्भीर छ । घटनाक्रमको विकास एमाले वा ओलीले भनेजस्तो हुँदै गयो र चुनावमा उनीहरूलाई बहुमत वा दुईतिहाइ बहुमत प्राप्त भयो भने त्यसका दुईवटा परिणामहरू हुनेछन् । प्रथम, देश प्रतिगमनतिर जानेछ । द्वितीय, देशमा अधिनायकवादी वा फासिष्ट शासन कायम हुनेछ । ओलीले गत वर्षहरूमा जुन प्रकारको व्यवहार गर्दै आएका छन् वा उनले जुन प्रकारको कार्यशैली अपनाउँदै आएका छन्, त्यसमाथि सर्सरी प्रकारले पनि विचार गर्ने हो भने ओलीको नेतृत्वमा देश प्रतिगमन र फासिष्ट शासनतिर जाने कुरा निश्चित छ । पाँच दलीय गठबन्धन, जनताको व्यापक आन्दोलन तथा सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट नै ओलीको बारम्बार संसद्को विघटन गरेर देशलाई प्रतिगमन र फासिष्ट शासनतिर लैजाने प्रयत्न असफल भएको थियो र उनको सरकार पनि अपदस्थ भएको थियो ।

जुन कारणहरूको परिणामस्वरूप ओलीको देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने प्रयत्न असफल भएको थियो, त्यो कुरा उनले (ओलीले) राम्ररी बुझेका छन् । त्यसरी उनले अहिले ती तीन वटै कारणहरूमाथि आक्रमण गरिरहेका छन् । उनको सबैभन्दा बढी हमला पाँच दलीय गठबन्धनमाथि नै छ । पाँच दलहरू मध्ये पनि उनको सबैभन्दा बढी हमला माधव र खनाल पक्ष वा उनीहरूको एकीकृत (समाजवादी) माथि नै छ । उनीहरूले ओलीको विरुद्ध मात्र होइन, उनको देशलाई प्रतिगमन र फासिष्ट शासनतिर लैजाने षडयन्त्रका विरुद्ध विद्रोह गरेका थिए । त्यसरी ओलीको षडयन्त्रलाई असफल पार्नका लागि उनीहरूको विद्रोह नै निर्णयात्मक कारण बनेको थियो । ओली माधव–खनाल पक्षका केही सांसदहरूलाई फुटाएर आफूतिर लैजान सफल भएका थिए । तर, उनको सारा प्रयत्नका बाबजुत केही सांसदहरू आफ्नो अडानमा कायम रहेका थिए र उनीहरूले एकीकृत समाजवादीको गठन गरे । ती सांसदहरूलाई खारेज गराउन सके अहिलेको गठबन्धन सरकार अल्पमतमा पर्दथ्यो र उनको मध्यावधि चुनावको उद्देश्य सफल हुन सक्दथ्यो ।

त्यसैले एकीकृत समाजवादीका १४ जना सांसदलाई खारेज गराउन उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दिएका छन् भने त्यही कारणलाई अगाडि सारेर संसद्को बैठकलाई लगातार अवरुद्ध गर्ने प्रयत्न गरिरहेका छन् । अहिले सर्वोच्च अदालतमा चलेको आन्दोलन वा प्रधानन्यायाधीशको राजीनामालाई पनि उनीहरूले त्यही उद्देश्य पूरा गर्नका लागि प्रयोग गर्न प्रयत्न गर्दै छन् । उनीहरूको उद्देश्य यो छ, सर्वोच्चमा चलेको आन्दोलन र प्रधानन्यायाधीशको राजीनामाको मागका सन्दर्भमा कुनै तरिकाले उनलाई(प्रधानन्यायधीशलाई) आफ्नो पक्षमा लैजान सकेमा उनीद्वारा आफ्ना प्रतिगामी उद्देश्यहरूका पक्षमा फैसला गराउन सकिन्थ्यो । ओलीले त्यही योजनाअन्तर्गत काम गरिरहेका छन् । उनको त्यो योजना सफल भएमा सम्पूर्ण देशको लागि नै घातक सावित हुनेछ ।

ओलीले दुई–दुईपल्ट संसद्लाई विघटन गरेर देशलाई प्रतिगमन र फासिष्ट शासनतिर लैजान जुन प्रयत्न गरेका थिए, त्यसका विरुद्ध देशमा व्यापक जनमत तयार भएको थियो र शक्तिशाली आन्दोलन पनि उठेको थियो । त्यो जनमत उनका विरुद्ध नै गयो भने चुनावमा उनले खोजेजस्तो सफलता प्राप्त हुन सक्ने छैन र उनका प्रतिगामी र अधिनायकवादी सबै उद्देश्यहरू धराशयी हुनेछन् हुनु पनि पर्दछ । उनीहरूको महाधिवेशनको एउटा मुख्य उद्देश्य जनमतलाई आफ्नोतर्फ मोड्नु हो । त्यसैले चितवनको उनीहरूको उद्घाटन कार्यक्रममा व्यापक जनसमूहलाई उतार्ने योजना बनाइएको छ । उनीहरूको महाधिवेशन वास्तवमा एउटा देखावटी नाटक मात्र हो । वास्तवमा त्यो महाधिवेशन नै होइन, किनभने त्यसमा संसारका कुनै पनि राजनीतिक पार्टी वा कम्युनिस्ट पार्टीहरूमा पनि अनिवार्य रूपले रहँदै आएको एउटा मुख्य एजेन्डालाई नै हटाइएको छ, जस्तै कि नीति र कार्यक्रमसम्बन्धी छलफल । तैपनि त्यो महाधिवेशनमा व्यापक जनसमूहलाई उतार्ने प्रयत्न गर्नुको पछाडिको उद्देश्य जनमत तयार पार्नु मात्र हो । यो साँच्चिकै आश्चर्य र दुःखको कुरा हो, लामो राजनीतिक अनुभव भएका एमालेका नेता र कार्यकर्ताहरूले किन त्यस प्रकारको महाधिवेशनप्रति, जसको कुनै अर्थ र मूल्य छैन, समर्थन गरिरहेका छन् र त्यसमा सहभागी भइरहेका छन् ? उनीहरूले कति ठूलो गल्ती गरिरहेका छन् ? कुनै दिन इतिहासले उनीहरूलाई बताउनेछ ।

एमालेको लागि पाँच दलीय गठबन्धन वास्तवमा एउटा ठूलो समस्या भएको छ । त्यो गठबन्धनका कारणले नै विघटित संसद्को पुनस्र्थापना भएको थियो र ओली सरकार अपदस्थ पनि भएको थियो । त्यो गठबन्धन चुनावसम्म पनि कायम रहेमा त्यसले नै ओलीलाई हराउने र उनका प्रतिगामी र अधिनायकवादी सपनाहरूलाई पनि असफल पार्ने सामथ्र्य राख्दछ । देशमा पाँच दलीय गठबन्धनबाहेक ओलीलाई चुनौती दिनसक्ने अर्को शक्ति देशमा छैन । त्यसैले ओलीले त्यसमाथि सबैभन्दा बढी हमला गरिरहेका छन् । उनको हमलाको प्रकृति पनि अत्यन्तै निम्नस्तरको र अराजनीतिक प्रकारको छ । उनका भाषणहरूमा राजनीतिक कम हुन्छ र व्यक्तिगत प्रकारका गालीगलौज र आक्षेपहरू नै बढी हुन्छन् । तर, त्यस प्रकारका भाषणहरूमा पनि उनका कार्यकर्ताहरूले ताली बजाउँछन् । निश्चय नै त्यसको कारण यो हो कि एमालेमा लामो समयदेखि कार्यकर्ताहरूलाई सैद्धान्तिक र राजनीतिक प्रकारले होइन, सिद्धान्तहीन र अराजनीतिक तरिकाले प्रशिक्षण गर्ने काम गरिएको छ । त्यस प्रकारको प्रशिक्षणको कारणले नै उनीहरूका नेता बन्न पुगेका छन् । तर त्यसको परिणाम देशका लागि कति घातक हुनेछ ? इतिहासले नै त्यो कुरा बताउनेछ ।

ओलीको आक्रमणबाट ता पाँचदलीय गठबन्धन टुट्ने छैन तर स्वयं त्यसभित्रका कमजोरीहरूको कारणले वा त्यसभित्रका अन्तर्विरोधहरूको कारणले टुट्ने ता होइन ? त्यस प्रकारको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । यदि पाँच दलीय गठबन्धनका सबै नेता र कार्यकर्ताहरूले त्यो गठबन्धनको भूमिका र दायित्वलाई राजनीतिक प्रकारले ठीकसित बुझ्न सके भने, खास गरेर ओलीको नेतृत्वमा देशमा बढ्दै गएको प्रतिगमन र फासिष्ट शासनको खतरा तथा त्यसका विरुद्धको संघर्षको ऐतिहासिक आवश्यकतालाई ठीकसित बुझ्न सके भने गठबन्धन अवश्य पनि आफ्नो ऐतिहासिक भूमिका खेल्न सफल हुनेछ । तर अहिले उनीहरूमा पहिलेदेखि चल्दै आएका विभिन्न प्रकारका अन्तर्विरोधहरू वा चुनावको बेलामा सम्भावित प्रतिस्पर्धालाई नै मुख्य बनाएर आपसमा संघर्ष थाले भने गठबन्धन कमजोर हुनेछ वा टुट्नेछ । त्यसको फाइदा तात्कालिक रूपमा प्रतिगमनलाई पुग्नेछ र अन्तमा त्यसबाट सम्भावित दुष्परिणामहरूलाई सम्पूर्ण देशले भोग्नुपर्नेछ । त्यस्तो हुन नदिन गठबन्धनका पक्षधर सबै राजनीतिक शक्तिहरूको बीचमा उच्च प्रकारको राजनीतिक सतर्कता र दूरदर्शिताको आवश्यकता छ ।

ओलीको नेतृत्वमा देश कसरी प्रतिगमनतिर जानेछ । त्यसका लक्षणहरू अहिलेदेखि नै देखा पर्न थालेका छन् । तिनीहरू मध्ये तीन वटा लक्षणहरू उल्लेखनीय छन् । प्रथम, ओलीको हिन्दूकरणको दिशामा अग्रसरता र, द्वितीय उनको राजावादीहरूसित र, तृतीय, भारतका कट्टर हिन्दूवादी शासकवर्गहरूसित बढिरहेको साँठगाँठ । ती लक्षणहरूले यो कुराको आभाष दिन्छन् कि ओलीको नेतृत्वमा देश धर्मनिरपेक्षताबाट हटेर हिन्दू राष्ट्रतिर तथा गणतन्त्रबाट हटेर राजतन्त्रतिर जानेछ । त्यसरी जनताको महान् आन्दोलन तथा त्याग र बलिदानद्वारा प्राप्त उपलब्धिहरू समाप्त हुनेछन् । त्यो अर्थमा ती उपलब्धिहरू प्राप्त गर्नका लागि हामीले अर्को ५० वर्ष संघर्ष गर्नुपर्नेछ । त्यसरी हामीले नयाँ पुस्ताका काँधमा एउटा ठूलो भारी बोकाएर जानेछौँ । राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षता समाप्त गर्नको लागि करिब १२ वर्षदेखि अभियान चलाइरहेका छन् । अब ओलीको नेतृत्वमा एमाले राजावादीहरूसँग मिल्न जाँदैछ । राजावादी र ओलीको नेतृत्वमा देखा पर्न थालेको प्रतिगमनको त्यो खतरालाई भारतीय साम्राज्यवादले समर्थन गरिरहेको छ । त्यसैले अहिले देखा परिरहेको प्रतिगमनको त्यो खतरा ०१७ र ०५९ सालको भन्दा बढी गम्भीर हुनेछ । तर, त्यो खतरालाई रोक्न सकिन्छ र रोक्नु पनि पर्दछ ।

कुरा माथि जे भनियो, त्यो भन्दा कैयौँ गुणा गम्भीर छ । ओलीको नेतृत्वमा देश प्रतिगमनको दिशामा मात्र होइन, अधिनायकवाद वा फासिष्ट शासनको दिशामा जाने पनि गम्भीर खतरा छ । ओलीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैली पहिलेदेखि नै थाहा भएको कुरा हो । नेकपाभित्रको विवादको बेलामा उनले चरम प्रकारको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैलीको प्रदर्शन गरेका थिए । उनले त्यो बेला बहुमतको निर्णय नमान्ने जुन अभिव्यक्तिहरू दिएका थिए वा आफ्नो बहुमत हुन नसक्ने बैठकहरूमा नजाने जुन कार्यशैलीको प्रदर्शन गरेका थिए, त्यसले उनको चरम प्रकारको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैलीलाई नै बताउँछ । आफ्नो संगठनमा अल्पमतमा पर्दै गएपछि उनले त्यस प्रकारको कार्यशैलीको प्रदर्शन गरेका थिए । त्यही कारणले नै नेकपामा फुट पनि भयो ।

ओलीको त्यस प्रकारको कार्यशैली सरकार सञ्चालन र संसद्मा पनि देखा प¥यो । संसद्मा अल्पमतमा पर्ने स्थिति उत्पन्न भएपछि उनले संसद्को नै विघटन गरे । पछि सर्वोच्च अदालतले विघटित संसद्को पुनस्र्थापना गरेपछि पुनः त्यसलाई बिजनेसविहीन बनाएर असफल पार्ने प्रयत्न गरे । बहुमत सांसदहरूले उनका विरुद्ध राष्ट्रपतिकहाँ समावेदन दिएपछि उनी अल्पमतमा परेको कुरा प्रष्ट भयो । त्यही पनि उनले राष्ट्रपतिद्वारा आफूलाई नै प्रधानमन्त्री बनाउन लगाएर रातारात संसद्को विघटन गर्न लगाए । पछि सर्वोच्चले विघटित संसद्को पुनस्र्थापना ग¥यो र उनको सरकारलाई अपदस्थ ग¥यो । त्यसपछि उनले सर्वोच्च अदालतमाथि नै हमला गर्दै आएका छन् । उनले पुनस्थापना गरिएको संसद्लाई पनि अवरुद्ध गरिरहेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसले उनको चरम प्रकारको अधिनायकवादी शैलीलाई नै बताउँछ ।

उनले पहिले एमालेको विधान महाधिवेशनको आयोजना गरे । संसारमा कहीँ पनि र नेपालमा कुनै राजनीतिक पार्टीले पनि विधान महाधिवेशनको आयोजना गर्दैन । त्यो अधिवेशनको उद्देश्य आफ्नो संगठनमा उनलाई सर्वशक्तिसम्पन्न गराउनु नै थियो । अहिले हुन लागेको महाधिवेशनमा पनि उनले उद्घाटनपछि नीति र कार्यक्रमसम्बन्धी एजेन्डालाई काटेर सिधै निर्वाचनमा जाने कार्यक्रम बनाएका छन् । त्यसको उद्देश्य पनि आफूलाई सर्वशक्तिसम्पन्न वा तानाशाह बनाउनु नै हो ।

यी कुराहरूबाट यो कुरामा कुनै शंका रहन्न कि चुनावमा उनले भने जस्तो दुईतिहाइ बहुमत प्राप्त गरेमा उनले देशमा फासिष्ट शासन नै कायम गर्नेछन् । उनको जोड चुनावमा दुईतिहाइ बहुमत प्राप्त गर्नेतिर नै छ । त्यस प्रकारको बहुमत प्राप्त गरेमा उनले संविधानमा संशोधन गर्ने काम गर्नेछन् र देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने प्रयत्न गर्नेछन् । उनको त्यस प्रकारको प्रयत्नलाई असफल पार्नु अहिलेको ऐतिहासिक राजनीतिक आवश्यकता भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय