कांग्रेस महाधिवेशन देउवालाई शक्ति दुरुपयोगको आरोप !

काठमाडौं । अहिले नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रहुँदै जिल्लाको अधिवेशन चलिरहेको छ । यस क्रममा विभिन्न ठाउँमा झडपसमेत भएको छ । कांग्रेसले आन्तरिक निर्वाचन गराइरहँदा कांग्रेसभित्रको सत्ता पक्षले पार्टीभित्रकै प्रतिपक्षलाई अन्याय गरेको गुनासो आइरहेको छ । सत्ताको शक्तिमा निष्पक्ष निर्वाचनसमेत नभएको उनीहरूको गुनासो छ । योबीचमा दुई ठूला घटना भएका छन्, आफूहरूले निर्वाचन जित्ने पक्का भएसँगै देउवा पक्षका नेताहरू जाइलागेको पौडेल पक्षका नेताहरूको भनाइ छ ।

६ मंसिरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा भएको निर्वाचनपछि मतगणनाका क्रममा पौडेल पक्ष हाबी भएपछि देउवा पक्षले हातपात गरेको आरोप छ । उक्त घटनामा पौडेल पक्षका उम्मेदवार दीर्घबहादुर केसीलाई गम्भीर चोट लागेको छ । त्यस्तै, प्युठानमा समेत देउवाइतरको उम्मेदवार मतपरिणाममा हाबी देखिएपछि देउवा पक्षले ढुंगामुढा गरेको आरोप लगाइएको छ ।

प्युठानमा क्रियाशील सदस्य छनोटदेखि नै विवाद सिर्जना भएको थियो । प्युठानका एक नेताका अनुसार कुनै पनि विवाद नभई क्रियाशील सदस्यता विवाद टुंगिए पनि देउवा पक्षले उजुरी हाली क्रियाशील सदस्यमा विवाद निकालेको हो । पछि सहमतिको नाममा भागवण्डा गर्न जिल्लाका नेता बाध्य भएका थिए । महाधिवेशन प्रतिनिधिबाहेक सबै भागवण्डामा टुंग्याइएको थियो प्युठानमा ।

जिल्ला सभापतिमा देउवाइतर पक्षबाट विष्णुकुमार गिरी र देउवा पक्षबाट शिवप्रसाद रिजालले प्रतिस्पर्धा गरेका थिए । ६४ मत गणना हुन बाँकी रहँदा गिरीले ६६ मतले अग्रता लिएपछि देउवा पक्षीय उम्मेदवार रिजालले बाहिरबाट गुण्डा मगाएको शेखर कोइराला पक्षीय नेताहरूको आरोप छ । ‘उहाँले पिसाब फेर्न जान्छु भन्नुभयो अनि आफू बाहिर बसेर मदिरा सेवन गरेका कार्याकर्तालाई भित्र पठाई ढुंगामुढा गरियो । एक प्रहरी घाइते भए भने आक्रमणकारी पनि ४÷५ जना घाइते भएका छन्,’ ती नेताले भने ।

दुईपक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाइ फायर गर्नुपरेको प्युठान प्रहरी प्रमुख सत्यनारायण थापाले बताए । देउवाइतर पक्षले अग्रता लिएसँगै भएको झगडा र नेता/कार्यकतासमेत घाइते हुँदा सामान्य छानबिनसमेत नभएपछि देउवाले गराउने निर्वाचनमा कांग्रेस नेताहरू नै सशंकित देखिन थालेका छन् । रुपन्देहीमा भएको घटनापछि घाइते केसीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेका थिए । त्यसक्रममा केसीले खाँणसँग आफूमाथि कुटपिट गर्ने सोमबहादुर गुरुङ ‘सेते’ लाई कारबाहीको माग गरेका थिए । सेते तरुण दलका जिल्ला अध्यक्षसमेत हुन् । तर, गृहमन्त्री खाँणले पार्टीभित्र आन्तरिक कारबाहीका लागि पहल गरिने प्रतिक्रिया दिए । केसीले सरकारको तर्फबाट गरिने र कानुनी कारबाही चलाउन माग गरे पनि सरकारले यो घटनालाई बेवास्ता गरेको छ ।

पौडेल पक्षले दर्जनभन्दा बढी नेता/कार्यकर्ता घाइते भएको भन्दै दोषीउपर कारबाहीको माग गरिरहे पनि देउवा पक्षकै नेता गृहमन्त्री रहेको अवस्थामा कारबाही नहुने देखिएको छ । यसरी पार्टीभित्रको आन्तरिक निर्वाचनमा शक्तिको दुरुपयोग गरेको देउवा नेतृत्वको सरकारले आगामी डेढ वर्षभित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराउनुपर्नेछ । पार्टीका नेताहरूलाई निष्पक्ष निर्वाचनको विषयमा आशंका जन्मिदै गर्दा देउवाकै नेतृत्वमा हुने आमनिर्वाचन कसरी स्वच्छ र निष्पक्ष हुन सक्ला ? आशंका गरिएको छ ।

प्रतिक्रिया