एमाले नेतृत्व सर्वसम्मत नहुने निश्चित

काठमाडौं । पार्टी विभाजन लगतै हुनलागेको नेकपा(एमाले)को दशौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टी अध्यक्ष केपी ओलीको आकांक्षा पूरा नहुने निश्चित जस्तै भएको छ । ओलीकै अतिरिक्त चासोलाई सम्बोधन गर्दै अधिकांश प्रतिनिधि सर्वसम्मत भए पनि केन्द्रीय नेतृत्वमा अधिकांश आकांक्षी देखिए पछि सर्वसम्मतको तारतम्य मिलाउन ओलीलाई सकस मात्रै होइन असंभव जस्तै देखिएको छ ।

प्रतिगमन विरोधी आन्दोलन भन्दै संसद विघटन विरुद्धको सडक आन्दोलनमा सक्रिय भए पनि अन्तिम अवस्थामा ओलीलाईन पंतीवद्धभएका चर्चित दश भाइमध्यका एक पार्टी उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन भने अन्य आकाक्षीहरु घोषणा गरिसकेका छन् भने कतिपयले आफु सर्वसम्मतको लिष्टमा परे सर्वसम्मतको वकालत गर्ने लिष्टमा नपरे प्रजातान्त्रिक प्रकृया भन्दै उम्मेदवारी दिने तयारीमा छन् । केन्द्रीय सदस्यमा त सर्वसम्मतको कुनै सम्भावना नै छैन भने पदाधिकारीमा पनि अध्यक्ष ओलीका अत्यन्तै निकट विस्वासपात्र समेत पद पुगेको छैन ।

बरिष्ठ उपाध्यक्षमा इस्वर पोखरेलले अघि नै घोषणा गरेपनि सिमित पद र असिमित आकाक्षी हुदा उनी पनि सर्वसम्मत हुने अवस्था छैन । रामबहादुर थापा वादल र सुवास नेम्वाङको थान्को नलगाएसम्म उनी सर्वसम्मत हुन कठिन छ । महासचिवमा शंकर पोखरेलले मुख खोले पनि विष्णु पौडेललाई उचित स्थान नदेखाएसम्म महासचिव पनि सर्वसम्मत हुन कठिन छ । दस बुदे समातेर पार्टीमै बसेका उपमहासचिव घनश्याम भुसाल लगायत सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टहरुको व्यवस्थापन पनि सर्वसम्मत तरिकाले हुन असम्भव जस्तै छ । पार्टी अध्यक्ष ओलीले महाधिवेशन भनेको नेता व्यवस्थापन मात्रै होइन भनेर निर्वाचनको संकेत गरिसकेका छन् ।

सचिवमा उठ्ने तयारी गरेको छु : भट्टराई
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफू १०औं महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिले नै माथिल्लो पदमा जान नखोजेको बताए । उनले भने, ‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।’ उनले अहिले नै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झैं हुने बताए ।

एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा
एमाले पोलिटव्यूरो सदस्य एवं प्रदेश–१ का पूर्व मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनमा सहभागी हुन बिहीबार (आज) भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिएका हुन् । उनी एमालेको ९औं राष्ट्रिय महाधिवेशनबाट पोलिटव्यूरो सदस्यमा निर्वाचित भएका थिए । यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको राईको भनाइ छ ।

सचिवमा यामलाल कँडेलको दावी
नेकपा एमालेको आसन्न महाधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश सहसंयोजनक एव् पूर्वमन्त्री यामलाल कँडेलले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । कर्णालीले कम्तिमा एक पदाधिकारी दाबी गरिरहेको समयमा उनले सचिव पदका लागि मत माग्न सुरु गरेका हुन् । ‘हामी जहिल्यै अन्य प्रदेशका नेताहरुबाट नेतृत्व लिरहेका थियौं ।’ महाधिवेशन प्रतिनिधि शुशिला विश्वकर्माले भनिन, ‘यो पाली नेकपा एमालेले कर्णालीलाई माया गर्ने अपेक्षा छ । कर्णाली बाट यामलाल एकमात्र पदाधिकारीमा दाबी गर्ने नेता हुन ।’ उनले देशै भरका महाधिवेशन प्रतिनिधिले कर्णालीलाई सहयोग गर्ने र कर्णालीलाई न्याय दिने दाबी गरिन् ।

मेरो उम्मेदवारी सचिवमा : महेश बस्नेत
एमाले नेता महेश बस्नेतले १०औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । चितवन विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै नेता बस्नेतले आफूले पार्टी सचिवमा उम्मेदवारी दिने बताएका हुन् । केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका थिए। ‘मैैले काठमाडौंमै सचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेको छु,’ उनले भने, ‘यस पटक महाधिवेशनमा सचिवको रुपमा सर्वसम्मत वा निर्वाचन हुँदा पनि अध्याधिक मत दिएर विजयी बनाउन अनुरोध गर्दछु ।’ पार्टी अध्यक्ष ओलीको विश्वासपात्र हुदाहुदै पनि आन्तरिक दाउपेचमा लागिरहेका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा पनि महेश बस्नेतले सचिव ताकेपछि सचिव पदमै भए सर्वसम्मत नभए चुनाव लड्ने तयारीमा लागेका छन् ।
उता पूर्व मन्त्री शेरबहादुर तामाङ्ले सचिवमा दावी गरेका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै आफू सचिवको उम्मेद्वार रहेको बताए । उनले भने “म काममा विश्वास राख्छु । कायकर्ताले दिएको जिम्मेवारीमा बस्छु । तर अपग्रेड हुने चाहना छ ।”

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः थापा
चितवन, नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका थापाले पत्रकारहरूसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताए ।

नेता थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताए । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उनले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिए । उनले भने, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”

कुल प्रतिनिधि २१७५ जना, महिला प्रतिनिधि ६२७
एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ जना हुने भएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा उद्घाटनस्थल नारायणी किनारमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका संयोजक योगेश भट्टराईले प्रतिनिधिको संख्याबारे जानकारी दिएका हुन् । ‘महाधिवेशनमा कुल २१७५ जनाको सहभागिता हुनेछ । भुगोलबाट, जनसंगठनबाट, विभागबाट, सम्पर्क कमिटीहरुबाट र प्रवासका कमिटीहरुबाट निर्वाचित र केन्द्रीय कमिटीबाट १०६ जना गरी २१७५ जनाको प्रतिनधित्व हुनेछ’, उनले भने, ‘१०३ जना पर्यवेक्षक हुनुहुन्छ ।’
कुल प्रतिनिधिमा ६२७ जना महिला प्रतिनिधि हुने र दलित उत्पीडित समुदायबाट २०९ जना प्रतिनिधिले भाग लिने भट्टराई जानकारी दिए ।

चार देशका पाहुना आउने
यसैबीच एमालेले १० औँ राष्ट्रिय महाधिवेशनमा ८ मुलुकका राजनीतिक दलका नेताहरु सहभागी हुने जानकारी दिएको छ । बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका १५ जना नेताहरू सहभागी जानकारी दिए । चीनलगायत अन्य २५ देशका दलहरूले भने महाधिवेशन सफलताको लागि शुभकामना सन्देश पठाएका पनि भट्टराइले बताए । कोरोनाका कारण धेरै देशले शुभकामना मात्रै पठाएका भट्टराइको भनाई छ ।

चीनिया कम्युनिष्टपार्टीबाट नआउने, भाजपाका २ नेता आउने
उत्तरको छिमेकी चीनको सत्तारुढ दल चिनिया कम्युनिष्ट पार्टीका प्रतिनिधि सहभागी नहुने भए पनि भारतीय सत्तारुढ दल भाजपाबाट २ जना निम्तो मान्न आउनेभएका छन् । उद्धाटन सत्रमा भाजपाका तर्फबाट पूर्व केन्द्रीय मन्त्री डा हर्षवर्धन र भाजपाका राष्ट्रीय सचिव हरीश द्विवेदी सहभागी हुने एमालेले जनाएको छ ।

प्रचण्ड नजाने
नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी नहुने भएका छन । पार्टीको तर्फबाट नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् । त्यसैगरी नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने महाधिवेशनमा सहभागी हुने भएका छन् । उनी हेलिकप्टरमार्फत चितवन जाने कार्यक्रम तय भएको छ । एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भने महाधिवेशनको निम्तो दिएको छैन् ।

नेकपा स्थापनादेखि एमालेको दशौँ महाधिवेशनसम्म
स्थापनाः विसं २००६ वैशाख १० गते
संस्थापक नेता– पुष्पलाल

पहिलो महाधिवेशन
विसं २०१० माघ १० –२० गते
पाटन, ललितपुर र काठमाडौंँ
महामन्त्री– मनमोहन अधिकारी

दोस्रो महाधिवेशन
विसं २०१४ जेठ १५ – २५ गते
दरबारमार्गस्थित फोहरादरबार, काठमाडौँ
महासचिव– डा केशरजङ्ग रायमाझी

तेस्रो महाधिवेशन
विसं २०१९ वैशाख ४ –१५
महासचिव– तुल्सीलाल अमात्य

चौथो महाधिवेशन
विसं २०४६ भदौ ९ – १४ गतेसम्म, सिरहाको
विष्णुपुरकट्टी, सर्रे अम्बास
नेकपा(एमाले)को आयोजना
महासचिव– मदनकुमार भण्डारी

पाँचौंँ महाधिवेशन
विसं २०४९ माघ १४ – २० गते
दशरथ रङ्गशाला–कमलादी, काठमाडौँ
मूल नारा–‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौंँ,
माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौंँ
अध्यक्ष– मनमोहन अधिकारी, महासचिव– मदनकुमार भण्डारी

छैटौँ महाधिवेशन
विसं २०५४ माघ १२ – १८ गते, नेपालगञ्ज, बाँके
मूलनारा–‘विकृति र विसङ्गतिका विरुद्ध सङघर्ष गरौँ,
विचारधारात्मकरूपमा पार्टीलाई एकताबद्ध पारौँ
अध्यक्ष– मनमोहन अधिकारी, महासचिव–माधवकुमार नेपाल

साताैं महाधिवेशन
विसं २०५९ माघ १८ – २२ गते, जनकपुर, धनुषा
मूल नारा– ‘प्रजातन्त्र, शान्ति र समग्र विकास,
प्रतिगमनविरुद्ध अग्रगामी निकास !’
महासचिव–माधवकुमार नेपाल ।

आठौंँ महाधिवेशन
विसं २०६५ फागुृन ५– १४, बुटवल, रुपन्देही
मूल नारा– ‘‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान !’
अध्यक्ष – भलनाथ खनाल, महासचिव– ईश्वर पोखरेल

नवौंँ महाधिवेशन
विसं २०७१ असार १९ – साउन १ गते, भृकुटीमण्डप, काठमाडौंँ
मूल नारा– ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौंँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ !’
अध्यक्ष– केपी शर्मा ओली, महासचिव– ईश्वर पोखरेल

दशाैं महाधिवेशन
विसं २०७८ मङ्सिर १० – १२ गते, नारायणगढ र सौराहा, चितवन
मूल नारा– ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गराँैं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गराैं !’

प्रतिक्रिया