एमाले कम्युनिस्ट आन्दोलनबाट पतन भयाे : माधव नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिस्ट आन्दोलनबाट पतन भएका कारण आफूहरूले विद्रोह गरेको बताएका छन् । समाजवादी प्रेस संगठन सुर्खेतद्वारा बिहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमाले विकृति, विसंगति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको बताए ।

तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी संगठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने भन्दै उनले भने, ‘अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौं ।’ एमालेले बिहीवारदेखि चितवनमा हुन लागेको दशौं महाधिवेशनमा अतिथि वक्ताका रूपमा बोलाएन, तपाईंको सन्देश के छ भन्ने प्रश्नमा उनले भने, ‘नजाने बाटोका बारेमा नसोधेकै राम्रो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताए । नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव डा. बेदुराम भुसाल, प्रमेश हमालसहित नेता सुर्खेत आइपुगेका हुन् ।

प्रतिक्रिया