मनिषाले गरिन् कंगना र आलियाको चर्चा

मुम्बई । बलिउड अभिनेत्री मनिषा कोइरालाले अभिनेत्रीद्वय कंगना रनौट र आलिया भट्ट तथा अभिनेता रणवीर कपुरको प्रशंसा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले आफूलाई मनपर्ने कलाकारका बारेमा बताउने क्रममा उनीहरुको प्रशंसा गरेकी हुन् । अभिनेत्री आलियाको काम गर्ने तौरतरिका र शैली निकै राम्रो तथा कंगना प्रतिभाशाली कलाकार भएको मनिषाले जिकिर गरेकी छन् ।

यस्तै, उनले अभिनेता कार्तिक आर्यनलाई राम्रो अभिनेता र रणवीर कपुरलाई महान् कलाकारको संज्ञमसमेत दिएकी छन् । उनले भनिन्, ‘मैले आलिया भट्टको काम हेरेको छु र मलाई लाग्छ, उनी मैले गरेको कामभन्दा धेरै अगाडि छन् । यस्तै, कंगना पनि शानदार छन् । मैले चलचित्र ‘क्विन’ हेरेपछि उनको अभिनय मन पराएँ ।’

अभिनेत्री कंगनाले सन् २००६ देखि अभिनय यात्रा थालेकी हुन् । अहिलेसम्म उनले ३० भन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । अभिनय यात्राका क्रममा उनले चारपटक राष्ट्रिय चलचित्र पुरस्कारसमेत जित्न सफल भएकी छन् । यसैगरी, अभिनेत्री आलियाले सन् २०१२ बाट अभिनय यात्रा सुरु गरेकी हुन् । उनले अभिनय गरेका ‘हाइवे, ‘उड्ता पञ्जाब’, ‘राजी’ र ‘गली ब्वाई’ बलिउडमा निकै राम्रा चलचित्रका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया