गुफाको तेल निकाल्ने बाइडेनको आदेश

डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकको रणनीतिक तेल भण्डारबाट ५ करोड ब्यारेल तेल निकाल्ने आदेश दिएपछि डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । ट्रम्पले ३ वर्षअघि आफूले भरेका भण्डारबाट तेल निकाल्ने आदेश भन्दै बाइडेनको आलोचना गरेका हुन् । पूर्वअमेरिकी राष्ट्रपति समेत रहेका ट्रम्पले तेल निकाल्ने बाइडेनको आदेश रणनीतिक भण्डारमाथिको हमला भएको पनि बताए । बाइडेनले अमेरिकालाई पेट्रोलियम निर्यात गर्ने मुलुक (ओपेक) को कृपामा बाँच्ने मुलुक बनाउन खोजेको पनि उनको आरोप थियो ।

‘मेरो विचारमा तेलको हालसम्मकै उच्च भाउ कृत्रिम रुपमा घटाउने उद्देश्य बोकेर बाइडेनले भर्खरै भरिएका रणनीतिक तेल भण्डारमाथि हमला गर्दैछन्’, ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी १ वर्षअघि ऊर्जामा आत्मनिर्भर थियौं तर हाल ओपेकको कृपामा छौं । क्यालिफोर्नियाका केही भागमा ग्यासको भाउ ७ डलर (प्रति ग्यालन) पुगेको छ, मुलुकभर बढिरहेको छ र उनीहरूले रणनीतिक भण्डारबाट तेल निकालिरहेका छन् । यो पाराले मुलुक चल्छ र ?’

‘तेलको मूल्य निकै कम हुँदा मैले ३ वर्षअघि ती भण्डार पूरा भरेको थिएँ’, ट्रम्पको विज्ञप्तिमा भनिएको छ, ‘युद्ध जस्ता गम्भीर आपतकाल बाहेक अन्य अवस्थामा तेल भण्डारलाई प्रयोग गर्नु हुँदैन ।’ मंगलबार बाइडेनले रणनीतिक तेल भण्डारबाट ५ करोड तेल निकाल्ने आदेश दिएपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । बाइडेनको आदेशपछि ऊर्जा मन्त्रालयले रणनीतिक भण्डारबाट सो परिमाणको तेल निकाल्न लागेको सीएनएनले जनाएको छ ।

अमेरिकाले १९७५ देखि टेक्सास र लुइजियाना राज्यका गुफामा तेल भण्डारण गर्दै आएको छ । अमेरिकी तेल भण्डारलाई विश्वकै ठूलो मानिन्छ । यी दुई राज्यका गुफामा झण्डै ७२ करोड ब्यारेल तेल रहेको बताइन्छ । विश्व बजारमा तेल आपूर्तिको अभाव पूर्ति गर्ने र मूल्य घटाउने उद्देश्यसहित अमेरिकाले पछिल्लो कदम चालेको हो । चीन, भारत, जापान, दक्षिण कोरिया र बेलायतसहितका मुलुकसँगको समन्वयमा रणनीतिक भण्डारबाट तेल निकाल्ने तयारी भइरहेको समाचारमा उल्लेख छ ।

तेल निर्यात गर्ने राष्ट्र र ठूला कम्पनीले माग अनुसार तेल आपूर्ति नबढाएपछि भारतले समेत आफ्नो रणनीतिक भण्डारबाट ५० लाख ब्यारेल तेल निकाल्न लागेको छ । देशका पूर्वी र पश्चिमी तटमा अवस्थित ३ वटा गुफामा भण्डारण गरिएको झण्डै ३ करोड ८० लाख व्यारेल तेलबाट उक्त परिणाम बराबरको तेल निकालिने भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया