दृष्टिविहिन विद्यार्थीका लागि छात्राबास निर्माण

मुगु । जिल्लाका सदरमुकाम गमगढी नजिकै रहेको एक विद्यालयमा दृष्टिविहिन विद्यार्थीका लागि छात्राबास निर्माण गरिएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिर चैनको विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरुलाई मध्यनजर गर्दै छात्राबास भवन निर्माण गरिएको हो ।

छात्राबास भवन नहुँदा विगत लामो समयदेखि दृष्टिविहिन विद्यार्थीहरु एक कोठामा असजिलो गरेर बस्न बाध्य भएका थिए । दृष्टिविहिन विद्यार्थीहरुलाई बस्ने व्यवस्थासहित छात्राबास निर्माण भएपछि दृष्टिविहिन विद्यार्थीहरु खुशी भएका छन् ।

छायाँ नेपाल, छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोग र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेक मुगुको सहजिकरणमा छात्राबास निर्माण भएको हो ।

छायाँ नेपालको ६९ लाख १५ हजार दुई सय, छायाँनाथ रारा नगरपालिकाको २२ लाख ३२ हजार र हिरिष्डेक मुगुको ४ लाख ६२ हजार गरेर ९६ लाख ९ हजारमा खाने बस्ने सुविधासहितको सुविधासम्पन्न छात्राबास निर्माण गरिएको छायाँ नेपालका कार्यक्रम संयोजक मिनबहादुर रावलले बताए ।

उनले दृष्टिविहिन विद्यार्थीहरुलाई पठनपाठन र बास बस्न असजिलो छ भन्ने कुरा विभिन्न निकायमा जानकारी गराएसँगै भवन निर्माणमा हातेमालो गरेर दृष्टिविहिन विद्यार्थीहरुका लागि छात्राबास भवन निर्माण गर्न सफल भएका र निमार्ण सम्पन्न भएको छात्राबास भवन विद्यालयलाई हस्तान्तरण गरेको बताए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले छात्राबासको निर्माण साथै दृष्टिविहिन विद्यार्थीहरुलाई अबका दिनमा राहत भएको बताए ।

शिक्षाको क्षेत्रमा नगरपालिकाले ठूलो लगानी गर्दै आएको र अबका दिनमा समस्यामा परेका दृष्टिविहिन विद्यार्थीहरुलाई मध्यनजर गरी काम गर्दै जाने नगरप्रमुख शाहीले बताए ।

यसैबीच छायाँ नेपाल, छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोग र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेक मुगुको सहजिकरणमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्कीवडाको विद्यालयमा पनि भवन निर्माण गरिएको छ ।

६६ लाख बराबरको दुईतले विद्यालय भवन निर्माण गरिएका हो । दुवै भवनको मंगलबार विधिवतरुपमा उद्घाटन गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया