कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नैनसिंह महरकाे घोषणा

काठमाडौं । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज डडेल्धुरामा आयोजित कार्यक्रममा उनले यसपटक आफू केन्द्रीय सदस्य पदमा उठ्ने बताए । ‘केन्द्रीय समिति सदस्य पदमा उठ्न मैले आज गृहनगरबाटै यात्रा थालें,’ महरले भने । उनले सभापति पदमा भने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई नै एक कार्यकाल सभापतिमा जिताउनुपर्ने बताए । उनले पार्टी रूपान्तरणको प्रयास सुरू गरिनुपर्ने पनि बताए । साथै उनले गुटको अन्त्य हुनुपर्ने पनि बताएका छन् ।

उनले पार्टीका सबै संरचनामा एक व्यक्ति एक पद र दुई कार्यकालमात्रै लागू गरिनुपर्ने एजेन्डा अगाडि सारेका छन् । उनले शिक्षा र स्वास्थ्य सबैका लागि नि:शुल्क हुनुपर्नेसमेत एजेन्डा राखेका छन् । उनले क्रियाशील सदस्यता वितरणमा गुटको प्रभाव देखिने गरेकोमा यसपटक त्यो क्रम कम गर्दै लगिएको पनि बताए । क्रियाशील सदस्यता वितरणमै गुटरहित बनाएपछि मात्रै केन्द्रमा गुट नहुने उनको भनाइ छ । महर २०७३ भदौमा नेविसंघ अध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया