हायातमा पुस्तान्तरण

काठमाडौं । नेपाली कला तथा हस्ताकलाका क्षेत्रमा योगदान दिएका दश जना अग्रज कलाकारलाई सम्मान गरिएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको १८औं हस्तकला मेला तथा १६औं हस्तकला प्रतियोगिताको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार अग्रज कलाकार बुद्धरत्न शाक्य, हरिप्रसाद शर्मा, कृष्णराम चित्रकार, सिंहबहादुर बाराही, बुद्धरत्न शाक्य, तीर्थरत्न शाक्य, पुर्ण चित्रकार, सानुमाया शाक्य, रवीन्द्र ज्यापु र कृष्ण प्रजापतिलाई ताम्रपत्रसहित सम्मान गरे । सम्मान कार्यक्रममा महानगर प्रमुख शाक्यले अग्रज कलाकारको सम्मानले सीप र सिर्जना हस्तान्तरण र संरक्षणमा महत्वपूर्ण सघाउ पुगेको बताए । उनले भने, ‘कला र संस्कृति बचे नेपालको मौलिकता र पहिचान बच्छ । यसका लागि सबैले हातेमालो गरी काम गर्नुपर्दछ ।’

कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले अग्रज कलाकार सम्मानले नयाँ पुस्ताका कलाकारमा काम गर्नेे उत्साह थपिने विचार व्यक्त गरे । नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले मौलिक कलाको संरक्षण, प्रवद्र्धन र विकासका लागि कलाकारको सम्मान र प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले अग्रजको सम्मानले कलाकारमा ऊर्जा भरिने विचार व्यक्त गरे । कला प्रदर्शनी समितिका संयोजक प्रदीप शाक्यले ‘पुस्तान्तरण’ शीर्षकमा गरिएको कला प्रदर्शनीमा दुई दर्जन कलाकारका कलाकृतिको राखिएको जानकारी दिए । उनले ७० वर्ष नाघेका १० जना कलाकारलाई महासंघले सम्मान गरेको सुनाउँदै उनीहरुको सीप हस्तान्तरण र मौलिकता बचाउन सबैले पहल लिनुपर्नेमा जोड दिए । संयोजक शाक्यले जारी प्रदर्शनीमा समेत तीन पुस्ताका कलाकृति राखिएको जानकारी दिए । उनले भने, ‘नेपालमा पहिलेदेखि सीप र सिर्जनाको पुस्तान्तरण हुँदै आएको छ । यसक्रममा ककलामा परिवर्तनसमेत भएको पाइन्छ । जस्तो आर्टको डिजाइन, विषयवस्तु, बुट्टा आदिमा परिवर्तन हुनुमा के–केले प्रभाव पार्यो । ती विषयवस्तुसँगै राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक, भूमण्डलीकरण, सञ्चार र यातायात आदिले पनि पुस्तान्तरणमा परिवर्तन गरेको छ ।’

संयोजक प्रदीप शाक्यले विशेषगरी नेपाली कला पुस्तान्तरणमा आधारित रहेको बताउँदै ‘पुस्तान्तरण भएर नेपाली कलाकार कला सिक्दै, बनाउँदै भने, ‘नयाँ चीज थप्दै आएको देखिन्छ । यो पहिलेको पुस्ताबाट अहिलेको पुस्तामा पुस्तान्तरण भएर आएजस्तै यो पुस्ताले पनि अर्को पुस्तालाई पुस्तान्तरण सही तरिकाले गरोस् भन्ने उद्देश्यले प्रदर्शनी गरिएको हो ।’ शुक्रबारदेखि सुरु भएको तीन दिने प्रदर्शनीको पहिलो दिन सांकेतिक रुपमा अग्रज पुस्ताबाट दोस्रो पुस्तामा सीप स्तान्तरण स्वरुप आफ्नो विधासँग सम्बन्धित औजार हस्तान्तरण गरिएको थियो । यस्तै, अग्रज कलाकारले आफ्नो जीवनको अनुभव पनि साटासाट गरको थिए । प्रदर्शनीमा चित्र, मूर्ति, हस्तकलाका विभिन्न कलात्मक सामग्रीको प्रदर्शनी गरिएको छ । नेपाल हस्तकला महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा कला प्रदर्शनी कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया