स्याङ्जा । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा जिल्लाभित्रको करिब ८० किलोमिटर सडकखण्डको खाल्डाखुल्डी एकैसाथ पुरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा राजमार्गको खाल्डाखुल्डी पुरिएको हो । देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरा र लुम्बिनी जोड्ने यो राजमार्गअन्तर्गत स्याङ्जा जिल्लाभित्र पर्ने कुभिण्डेदेखि राम्दी सम्मको सडकलाई अस्थायी रूपमा खाल्डो मुक्त पार्ने प्रयास गरिएको हो । साँघुरो सडक खण्ड, तिखो मोड र बीचबीचमा खाल्डाखुल्डी भएको कारण दुर्घटना हुन सक्ने भन्दै यसको निराकरण गर्न यो अभियान एकै साथ लागू गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । उनले भने, ‘सडक स्तरोन्नतिको कुरा चलिरहेको छ, यद्यपि दुर्घटना निराकरण गर्न अस्थायी रूपमा खाल्डा पुर्ने प्रयास गरेका हौँ ।’
जिल्लाभित्र रहेका पाँच पालिका फेदिखोला गाउँपालिका तथा पुतलीबजार, भिरकोट, वालिङ र गल्याङ नगरपालिकाले आफ्नो क्षेत्रको सडक खण्डमा ग्राभेल गरेका हुन् । केही भूभागमा भने रातो माटोले खाल्डाखुल्डी पुरिएको विषय प्रतिप्रश्न उठेका छन् । लामो समयदेखि सिद्धार्थ राजमार्ग स्तरोन्नतिको चर्चा संसद्मा चलेको भए पनि राजमार्गमा यात्रा गर्ने यात्रुले गुणस्तरीय सडकको यात्रा गर्न पाएका छैनन् । राजमार्ग छेउछाउमा अतिक्रमण गरेर बनाइएका घर टहरा र सडक सुधारमा सरोकारवाला निकायको ध्यान पुग्न नसक्दा यात्रुले सास्ती भोग्न थालेपछि अस्थाई रूपमा खाल्डाखुल्डी पुर्ने काम गरिएको हो । पर्यटकीय गन्तव्य पोखरा र लुम्बिनी जोड्ने यो राजमार्गलाई फराकिलो बनाउनसके आन्तरिक तथा छिमेकी राष्ट्र भारतदेखिका पर्यटकको आकर्षण यो सडकखण्डमा अझ बढ्ने देखिन्छ ।
स्याङ्जा
प्रतिक्रिया