कास्की । पोखरा साङ्गीतिक कलाकार संघले तिहारमा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै गएको भन्दै यसलाई जोगाउन पहल गरेको छ ।
बजारमा रेकर्ड गरिएका गीतमा नाचगान गर्दै देउसीभैलो खेल्न थालेर मौलिक संस्कृति लोप हुँदै जाने देखिएकाले त्यसलाई अन्त्य गर्न कलाकारले आफैँ गाउँदै र नाच्दै पोखराका विभिन्न ठाउँमा भैलो खेलेका हुन् ।
देउसीभैलो कार्यक्रमको नेतृत्व संघका अध्यक्ष सुनिल थापाले गरेको र उनको समूहमा आनन्दराज बज्राचार्य, शान्तराज बज्राचार्य, भाइ गुरुङ, भाष्करध्वज श्रेष्ठल लगायत सदस्यहरु थिए । समूहलाई पोखराको चर्चित हिमाली सांस्कृतिक परिवारका सदस्यहरूले साथ दिएका थिए ।
भैलोको मौलिकता हराउँदै गएकाले आफूहरुले संरक्षणका लागि भैलो खेलेको संघका अध्यक्ष थापाले बताए । उनले भने, ‘हिजोआज अर्काको रेकर्डेड गीत पेनड्राइभबाट बजायो, नाच्यो, सकियो, यसबाट हाम्रो मौलिक संस्कृति लोप हुँदैछ, यसलाई बचाउन हामीले आफैँ गाउने, आफैँले बाजा बजाउने र आफैँ नाच्दै देउसीभैलो खेलिरहेका छौँ ।’
पोखराका गैहपाटन, चिप्लेढुङ्गा, विरौटालगायत स्थानमा भैलो खेलेको संघले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने सोचाइमा रहेको र संकलन भएको रकम संघको कोषमा राखेर कलाकारलाई कुनै समस्या पर्दा खर्च गरिने बताइएको छ ।
प्रतिक्रिया