विमान दुर्घटनामा ग्रामी अवार्ड विजेता गायिका मेन्डोन्काको निधन

एजेन्सी । चर्चित ब्राजिलियन युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घटनामा निधन भएको छ । मेन्डोन्का २६ वर्षकी मात्र थिइन् । ब्राजिलको दक्षिण पूर्वी ग्रामीण इलाकामा पर्ने क्षेत्रमा भएको विमान दुर्घटनामा अन्य चार जनाको पनि ज्यान गएको छ। मृत्यु हुनेमा मेन्डोन्काकी काका, निर्माता र दुई जना विमानका कर्मचारी रहेका छन् ।

मेन्डोन्का ग्रामी अवार्ड विजेता थिइन् । सम्बन्धमा असफल भएका महिलाको अनुभवमाथि केन्द्रित रहेर गाएका गीतका कारण उनी चर्चित थिइन् । ‘ब्राजिलमा क्विन अफ सफरिङ’ का रुपमा परिचित मेन्डोन्काले कोरोना महामारीका कारण स्टेजका प्रस्तुतिहरु रद्द भएपछि अनलाइनमार्फत गरेका ‘गिग्स’ मा एकैपटक ३३ लाखसम्म दर्शक ओइरिएका थिए ।

दुई वर्षीय छोराकी आमा मेन्डोन्काले शुक्रबार कन्सर्ट गर्ने कार्यक्रम थियो । कन्सर्ट हुने ठाउँ दुर्घटना भएको क्षेत्रभन्दा १२ किलोमिटर दूरीमा पर्छ। कन्सर्टका लागि निजी विमान चढ्नुअघि उनले सामाजिक सन्जालमा भिडियो पोस्ट पनि गरेकी थिइन् ।

प्रतिक्रिया