महानायक हमालको आवाजमा पहिलो गीत बजारमा

काठमाडौं । महानायक राजेश हमालको आवाज रहेको ‘मन बुढो भएन’ बोलको पहिले गीतको भिडियो बजारमा आएको छ । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । सो गीत महानायक हमालको आवाज रहेको पहिलो गीत हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।

गीतमा हमालको साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको पनि आवाज रहेको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको उक्त गीतको भिडियोमा हमालसँग रेश्मा घिमिरेले अभिनय गरेकी छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

चलचित्र करिअरको तीन दशकपछि आएर हमालले गीत गाएका हुन् । केहि चलचित्रहरुका गीतमा आवाज दिएको भएता पनि सुरमा रहेर गाएको उक्त गीत नै पहिलो भएको हमालले जानकारी दिए ।

संगीतकार दीपक शर्माले दिएको हौसलाले आफुले यो गीत गाउन सफल रहेको उनले जिकिर गरे । कार्यक्रममा हमालले आफ्नो विद्यार्थी जीवनमा गाउने गीतको पनि सम्झना गरे ।

‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थेँ । त्यो बेला सर, मिसहरुले मलाई गीत गाउनका लागि भन्नुहुन्थ्यो र म गीत गाउँथे, मैले कक्षा ५, ६ मा पढ्दा राम्रै गीत गाउँथें, तर त्यसपछि गीत गाउनै सकिएन’, उनले भने । कुनै संगीतकारले विश्वास गरे आफूले अन्य गीत गाउन पनि तयार रहेको उनले बताए ।

प्रतिक्रिया