शून्यताको यात्रामा एमाले

चमिना भट्टराई

आफ्नो स्वार्थ पूरा गर्न एकल निर्णयमा पार्टी एकता, पटकपटक संसद् विघटन, बोली नै पार्टीको विधान, आफूलाई जो मन पर्यो उसैलाई पार्टीको हर्ताकर्ता तोकिएको छ । सामूहिक निर्णयको छायासमेत देख्न नसक्ने ओलीले मनपरी गर्दै जाँदा आज एमालेले मात्रै होइन, मुलुकले पनि ठूलो क्षति बेहोर्न परेको छ ।

कुनै पनि घरको मुली स्वार्थी, दम्भी र सन्की छ भने त्यो घरका परिवारले सुख पाउँदैनन् । यति बेला नेकपा एमाले पार्टीको हालत पनि त्यस्तै भएको छ । पार्टी अध्यक्ष खड्ग प्रसाद ओलीको दम्भले आज एमाले सबै क्षेत्रबाट शून्यताको अवस्थमा पुग्दै छ । ०७७ पुस ५ सम्म दुईतिहाइका प्रधानमन्त्री र ६ वटा प्रदेशमा सरकार रहेको पार्टीका अध्यक्षसमेत थिए ओली । तर, आज ६ महिना बित्न नपाउँदै उनको सरकार संघमा छ न कुनै प्रदेशमा छन । नेकपा र एमाले विभाजनपछि पनि बाँकी रहेका चार बटा प्रदेशक मुख्यमन्त्री पनि एक/एक गर्दै पार्टी अध्यक्षको बाटो समाउँदै बार्दली यात्रामा लागे । यति हुँदा पनि उनको दम्भ घटेको छैन । अहंकार देखाउनुलाई बहादुरी ठान्दै छन् उनी ।

दम्भ र अहंकारले खरानी घस्ने अवस्थामा पुग्दा पनि उनका अनुयायी भने ताली पिटीपिटी रमाउँदै छन् । कहाँबाट कहाँ पुगियो भनेर समीक्षा गर्ने भन्दा पतनको बाटोमा रमाइरहेका उनका भक्तहरू देख्दा तिब्बतका धर्मिक नेता दलाइ लामाजस्तै लाग्न थालेको छ । एकताका तिब्बतमा दलाई लामामा हरेक कुरालाई ठीक भन्ने मात्रै होइन, उनका अनुयायीले उनलाइ खुसी पार्न केकेसम्म गर्थे भन्ने बारेमा पढेका थियौँ । उनै दलाइ लामा आज आफ्नो भूमिमा टेक्नसमेत नपाएर निर्वासनमा छन् । आज त्यस्तै देख्दै छौँ आफ्नै देशमा । त्यो पनि कम्युनिस्ट नामका नेताबाट । ओलीको मुखबाट निस्केका हरेक कुरा वाणी हुन्, जे बोले पनि सही मान्नुपर्छ भन्ने मान्यताले उनीसँगै एउटा कम्युनिस्ट पार्टी पतनको बाटोमा जाँदै छ ।

एमाले पार्टीमा जति नेता छन् भने पनि ओलीबाहेक त्यहाँ कसैको अस्तित्व देखिँदैन । उनले बोलेका हरेक कुरा लागू हुनैपर्छ । कसैले चुसम्म बोल्न सक्दैनन् । यस्तो दुनियाँका तानाशाहहरूले गर्थे । पार्टी सबैले बनाउने, तर त्यहाँ कोही केही बोल्न नपाउने । हिट्लर, मुसोलीन, सद्दाम हुसेन जस्ता धेरै तानाशाहले यसैगरी पार्टी चलाएको इतिहास छ । ओली र ओलीका मान्छेले धेरैलाई तीनै तानाशाहका बारेमा धेरै पढाए, तर आज आफैं तानशाही अभ्यास गर्दैछन् । पार्टीको नेतृत्वमा आएदेखि उनले गरेको कामले पार्टीलाई जनताबाट टाढा र दलाल पुँजीवादीसँग नजिक्याउँदै छ ।

आफ्नो स्वार्थ पूरा गर्न एकल निर्णयमा पार्टी एकता, पटकपटक संसद् विघटन, बोली नै पार्टीको विधान, आफूलाई जो मन पर्यो उसैलाई पार्टीको हर्ताकर्ता तोकिएको छ । सामूहिक निर्णयको छायासमेत देख्न नसक्ने ओलीले मनपरी गर्दै जाँदा आज एमालेले मात्रै होइन, मुलुकले पनि ठूलो क्षति बेहोर्न परेको छ । जनताले कम्युनिस्ट पार्टीप्रति गरेका आशा र भरोसालाई ओलीले चकनाचुर पारेका छन् । माक्र्सवादको खोल ओडेर धर्मकर्मका नाममा उनले गरेका हर्कतसँग आज हरेक नेपाली जानकार छन् । मदन भण्डारीले भन्थे, ‘जनता नै देवता हुन्’ । उनै मदनको बाटो समातेको हुइँया पिट्ने ओलीले सत्तामा रहेका बेला धर्मको नाम जप्दै राज्यको ठूलो धनराशि सकाए तर जनताका जीवनमा तात्विक पर्ने कुनै काम गरेनन् ।

आफूले भनेको जस्तो नभए केही बाँकी राख्दिनँ भन्ने उनको घमण्डले आजको अवस्था ल्याएको हो । ‘धनी बाबुका बिग्रेका सन्तान’ले आफूले भनेको हुनुपर्ने भन्दै परिवारलाई धम्क्याए जस्तै गर्दै आए ओलीले पार्टी नेतृत्वमा आएदेखि । न पार्टी बनाए न मुलुक । आफ्ना आशे पासे र व्यापारी पोस्नेबाहेक केही गरेनन् उनले । पार्टीलाई आफ्नो हैकम देखाउने र जनतालाई उट्पटयाङ गफ दिने काममा बिते उनका दिन । दन्त्य कथा भन्नु, रामायण र महाभारतका टुक्का सुनाउनु नै उनका दैनिकी बने । न दन्त्य कथाले मुलुक चल्छ न उखान टुक्काले । तर, यी कुरा उनका अनुयायीले बुझेर पनि नबुझे झै गर्दै भक्ति भावमा लागेका छन् ।

अहिले एमालेले तीन दिनको फरकमा दुई वटा प्रदेश सरकार गुमाएको छ । यसले पनि ओलीलाई केही फरक पारेको छैन । लाग्दै छ उनी हारेका होइनन, युद्ध जितेर विजय उत्सव मनाउँदै छन् । उनका अनुयायी भन्दैछन्, ‘आउने निर्वाचनमा बहुमत ल्याउनका लागि यो सब हुँदै छ ।’ मतलब यो हार बेइज्जती भनेको निर्वाचनको तयारी हो । त्यसो हो भने ओलीका नाममा किन चाहियो बहुमत ? हिजो दुईतिहाइ उनलाई पचेन अब के का लागि बहुमत ! दुईतिहाइ सरकारका प्रधानमन्त्री ओलीको पार्टी आज संघसहित सातै प्रदेशमा विपक्षी दल बन्न पुगेको छ तर पनि उनको दम्भ भने बढ्दो छ । जनताले दिएको जनमत प्रति गरिएको अपमानले उनलाई केही फरक पारेको छैन ।

धेरै टाढा जानु पर्दैन, ओलीले नेतृत्व गरेको पार्टीले २०७४ को निर्वाचनमा संघसहित ६ प्रदेशसभामा पहिलो शक्ति बनेको थियो । त्यसबेला कांग्रेस सबै प्रदेशमा विपक्षमा थिया । अहिले अवस्था उल्टिएको छ । हिजो विपक्षी बस्ने ठाउँमा उनी र उनका अनुयायी छन् । जनताले दिएको जनादेशको सम्मान गर्न नसक्दा आज एमाले सबैतिर विपक्षी दल बन्न पुगेको छ । अझै उनले आफ्नो जीवन कालमा पार्टीलाई कहाँ पु¥याउँछन् हेर्न बाँकी छ ।

आज ओलीको साथमा न हिजोको शक्तिशाली एमाले पार्टी छ न कतै सत्ता । सत्ता र शक्तिको उन्मादले उनीसँगै पार्टी र नेता कार्यकर्ताको ठूलो पंक्तिको भविष्य समाप्त पार्दैछन् । यति हुँदासम्म पनि उनका भक्तहरू अझै जयजयकार गर्दैछन् । आन्तरिक लोकतन्त्रको नाम जपेर उनले पार्टीलाई दासहरूको झुण्ड बनाउँदै छन् । सबै आदेशपालक मात्रै तयार गर्दैछन् ।

सनक चड्दा ओली कतिसम्म गर्छन् भन्ने कुरा ०७७ पुस ५ को घटनाले देखाउँछ । आफैँ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि उनले प्रधानमन्त्रीको हैसियतमा संविधानमै नभएको अधिकार प्रयोग गरी ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनको निर्णय गरे । संसद् विघटनको निर्णयले प्रतिनिधिसभामा दुईतिहाई नजिकको संसदीय बहुमत (२ सय ७५ मध्ये १ सय ७४ सांसद्) र सात मध्ये ६ (प्रदेश–२ बाहेक) प्रदेशमा दुईतिहाइ बहुमतको सरकार चलाइरहेको नेकपा विभाजित भयो । ओलीले नेकपाको एउटा समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अर्को समूहको नेतृत्व गरे । ११ फागुन ०७८ मा संसद् सर्वोच्च अदालतको आदेशबाट संसद् पुनस्र्थापना भयो । तर नेकपाको एकता जोगिएन ।

आज आफैँसरह अध्यक्ष बनाएका प्रचण्ड उनीसँग छन् न लामो समयसँगै राजनीति यात्रा गरेको माधव नेपाललगायतका नेता । राजनीतिमा हारजीत, पाउनु गुमाउनु हुन्छ नै । तर, त्यसका पनि धेरै कारण हुन्छन् । ओलीले त आफू शक्तिशाली देखाउन पार्टीमा दास प्रवृत्तिलाई स्थापित गरे । यसमा उनको मात्रै दोष छैन । उनको गलत कुरालाई आलोचना गर्न नसक्ने, मुर्ममुरीउर वा मुसुमुसु हाँसेर बस्नेहरूका कारण पनि एमाले आजको अवस्थामा पुगेको हो ।

ओलीले गरेका अराजनीतिक र असंवैधानिक कामलाई जसले स्वीकार गर्न सकेन उनीहरूले विद्रोह गरे । जसले त्यसलाई शिरोधार्य गरेर दासत्व स्वीकार गरे, ती त्यहीं छन् । कम्युनिस्टहरू दास बन्न सकदैनन् विचार, सिद्धान्त र जनताप्रति गर्नुपर्ने कर्तव्य गरिएन भने विद्रोह गर्छन् । आज त्यही भइरहेको छ । एकातिर हारमा ओली रमाइरहेका छन्, अर्कोतर्फ विद्रोहीहरू अगाडि लम्किरहेका छन् । अब संसदीय फाँटमा ओलीका लागि गुमाउने ठाउँ सकिएको छ । अब गुमाउने भनेको पार्टीको संगठानिक संरचना हो, त्यसको सुरुआत पनि तीव्र रूपमा भइरहेको छ । यहि गति रहीरहे अब एमालेको हालत शून्यतामा पुग्न धेरै दिन लाग्दैन भन्ने उनीहरूका काम गर्ने शैली र व्यवहारले देखाउँदै छ ।

प्रतिक्रिया