प्युठान । प्युठानमा नेपालीहरुको दोस्रो ठूलो पर्व शुभ दिपावली (तिहार) को अवसरमा खेलिने देउसीभैलो लगायतका जमघटका कार्यक्रम राति ८ बजेपछि खेल्न नपाइने भएको छ ।
सत्यको विजय उत्सवको रुपमा मनाइने महान चाड दिपावलीको अवसरमा खेलिने देउसी–भैलो छडपर्व नेपाल संबत लगायतका अन्य कार्यक्रम स्वास्थ्य मापदण्डको पूर्ण परिपालन गरि राति ८ बजेसम्म मात्र खेल्न पाइने गरि जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ ।
चाडपर्वका समयमा मादकपदार्थ सेवन गरी स्थानीय शान्ति सुरक्षालाई प्रत्येक्ष असर पर्ने गरी सार्वजनिक स्थानहरुमा होहल्ला गरि झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
धार्मिक मठमन्दिर, लगायतका धार्मिकस्थलमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजाआजा लगायतका मानिसलाई प्रत्येक्ष असर पर्ने अन्य क्रियाकलाप गर्न–गराउन बन्देज गरिएको छ ।
कोरोना महामारीको कारण देखाउँदै प्रशासनले देउसीभैलो कार्यक्रम मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । त्यस्तै पटका, प्रज्वलशील विष्फोटक भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र कानूनले बन्देज गरेका यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न नगराउन आग्रह गरिएको छ ।
त्यस्तै तिहारको अवसरमा सञ्चालन गरिने सरायनाच यस वर्ष नगर्न जिल्ला प्रशासन कार्यालय प्युठानले अनुरोध गरेको छ । प्रशासनका अनुसार कोरोना जोखिमलाई मध्यनजर गर्दै भीडभाडलाई नियन्त्रण गरि कोरोना जोखिम कम गर्न र चाडपर्वलाई मर्यादित बनाउन यसअघि सिसिएमसीले निर्धारण गरेको निषेधाज्ञाको नियमलाई निरन्तरता दिँदै आएको बताएको छ । यो सूचनालाई कुनै बर्खिलाप हुने गरि कुनै कार्य गरेर गराएमा कानून अनुसार कारवाही हुनेसमेत स्पष्ट भनिएको छ ।
प्युठान
प्रतिक्रिया