डोटी । बेमौसमी वर्षातका कारण आएको बाढीपहिराले बगाएका यहाँका खानेपानीका मुहानहरू मर्मत गर्न नसकिएका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । असोज अन्तिम सातादेखि यहाँ परेको अविरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरबजारको खानेपानी मुहान सलेनामा कम्तीमा पनि पाँच सय मिटर मुहानको पाइप बगाएपछि मर्मत गर्न सकिएको छैन । राजपुर खानेपानी सरसफाइ उपभोक्त समितिले बाढीपछि यहाँ खानेपानीको समस्या उत्पन्न भएको जनाएको छ ।
यहाँका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, दीपायल, राजपुर तथा सिलगढीमा खानेपानीको हाहाकार भएपछि दीपायल सिलगढी नगरपालिकाको दमकलले पानी वितरण गरेको थियो । अहिले केही दिनदेखि पानी वितरण पनि हुन सकेको छैन । यसका कारण यहाँका स्थानीय फोहर पानी पिउन बाध्य भएको स्थानीयवासी रामकुमार सिंहले बताए । उनले भने, ‘नजिकै रहेको सेती नदीमा खाली बालुवा र लेदो मात्रै बगिरहेको छ, धारामा पानी आउँदैन, नगरपालिकाले पनि पानी बाँड्न बन्द गरिदियो, अब के खाने निकै गाह्रो भयो ।’
यसैगरी लगातारको वर्षा र बाढीपहिराका कारण जिल्ला सदरमुकाम सिलगढीमा पनि खानेपानीको मुहानका पाइप बगाउँदा खानेपानीको हाहाकार भएको स्थानीयवासीहरू बताउँछन् । यहाँका बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी र पहिराले विभिन्न स्थानमा बगाएपछि खानेपानीकोे समस्या उत्पन्न भएको सिलगढी खानेपानी, सरसफाइ तथा उपभोक्ता समितिले जनाएको छ । पहिराले दिपायल सिलगढी नगरपालिका–९ को कलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ ।
बाढी र पहिराका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिएका र कतिपय ठाउँमा पाइप र मुहान नै बगाएर समस्या भएका कारण मर्मत गर्न समस्या भइरहेको सिलगढी खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष रामबहादुर धामीले बताए । उनले भने, ‘खानेपानी पुनः सञ्चालनका लागि हाम्रा कर्मचारी साथीहरू खटिइरहनुभएको छ, बाढीले कतिपय ठाउँमा तहसनहस गरेकाले समस्या भएको हो, जतिसक्यो चाँडै पाइप मर्मत गरेर जोड्ने प्रयासमा छौँ ।’
प्रतिक्रिया