गलेश्वर । भनिन्छ, जुन देश र परिवेशको मानिस हुन्छ, उसलाई सोही ठाउँको औषधि नै हितकारी हुन्छ । तर, औषधीय गुणले युक्त बहुमूल्य वनस्पति र जडीबुटीको भने सदुपयोग हुन नसक्दा नेपालमा त्यस्ता बहुमूल्य जडीबुटीले भिल्लाका देशमा मणिको नियति भोगिरहेका छन् । हिमाली जिल्ला म्याग्दीका उच्च हिमाली र लेकाली क्षेत्रका जंगल तथा भिरमा रहेका बहुमूल्य जडीबुटी पहिचान, उत्खनन र प्रशोधनको अभावमा जंगलमा नै खेर गइरहेका छन् । यहाँका जंगल र भिरमा पाइने शिलाजित, अष्टगन्धा, तुथो, खिरलहरा, पखनबेद लगायतका जडीबुटी खेरगइरहेका स्थानीयवासीले बताएका छन् ।
ठूलाठूला चट्टानमा गर्मी महिनामा चुहिने शिलाजितको उचित संकलन र प्रशोधन अहिलेसम्म हुन सकेको छैन । जिल्लाका धेरैजसो ठाउँमा शिलाजित भए पनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय म्याग्दीका प्रमुख प्रेमप्रसाद गौतमले बताए । कोरोनाका कारण आयुर्वेदिक औषधिको खोजी हुन थालेपछि गुर्जो, अस्वगन्धा, दालचिनी लगायका जडीबुटीप्रति सर्वसाधारणको चासो बढे पनि अन्य बहुमूल्य जडीबुटीतर्फ कसैको ध्यान नगएको उनले बताए । गाउँघरमा परम्परागत रूपमा ठूलाठूला चट्टानका भिरबाट स्थानीयवासीले निकालेर शिलाजित बनाउने गरेको तर व्यावसायिक रूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको धवलागिरि गाउँपालिका–३ मुनाका ४० वर्षीय पुर्म पुनले बताए ।
जडीबुटीका जानकारसमेत रहेका पुनका अनुसार पश्चिम म्याग्दीका जंगलमा करोडौँ मूल्यका जडीबुटी पाइने भए पनि उत्खनन् र प्रशोधन गर्ने सीपको अभाव र राज्यको उदासीनताका कारण ती जडीबुटी जंगलमा नै अलपत्र अवस्थामा रहेका छन् । म्याग्दीका भिर र पहरामा प्रशस्तै शिलाजित पाइने उनले बताए । हरेक बिरामीका लागि उपयोगी मानिने शिलाजितलाई हरेक रोगमा ‘टनिक’ का रूपमा प्रयोग गर्न सकिने, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीका लागि यो रामवाण सावित हुने पुनले बताए । बजारमा शिलाजित ‘क्याप्सुल’को रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भिरका चट्टान तथा ढुंगा पग्लेर शिलाजित निस्कने गरेको आयुर्वेद औषधालय म्याग्दीले जनाएको छ । म्याग्दीको मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण र धवलागिरि गाउँपालिकाका प्रायः सबै भिरमा शिलाजित पाइने स्थानीयवासीले बताएका छन् ।
शिलाजितलाई जडीबुटीको राजा मानिन्छ । बल पुष्टिकारक, ओजबर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजितमा पाइने आयुर्वेदिक चिकित्सक बताउँछन् । सूर्यको किरणमा शिलाजितयुक्त ढुंगा राखेर त्यसबाट शिलाजित संकलन गरिएमा त्यसलाई सूर्यतापी शिलाजित भन्ने गरिन्छ । शिलाजितयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसँग पकाएर संकलन गरेमा त्यसलाई अग्नितापी शिलाजित भन्ने गरिन्छ । भिरबाटै संकलन गर्नसके निकै शुद्ध शिलाजित निस्कन्छ । म्याग्दी जिल्लामा शिलाजितसँगै ६० भन्दा बढी अन्य जडीबुटी रहेको डिभिजन वन कार्यालयको तथ्यांक छ ।
शिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको वन तथा वातावरण क्षेत्रका जानकार चन्द्रमणि सापकोटाले बताए । आयुर्वेदअनुसार शिलाजितको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजित हो । हेर्दाखेरी यो अलकत्राजस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ ।
प्रतिक्रिया