प्रशासनले अनुगमन गर्दा सम्पर्कमा आउँदैनन् सञ्चालक

दैलेख । तिहार नजिकिँदै जाँदा दैलेखका बजारमा चहलपहल बढ्दै गएको छ । बजारमा विशेष गरी तेल, मैदा लगायतका खाद्यवस्तुको बिक्री वितरण बढेको छ । चाडपर्वको मुखैमा जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको समयमा हुन सक्ने महँगी र कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासनमा प्रशासकीय अधिकृत आएसँगै बजार अनुगमनलाई तीव्रता दिएको हो । प्रशासनले गरेको बजार अनुगमनमा नारायण नगरपालिकाका नागरिकहरू अखाद्य बस्तुहरूबाट ठगिने गरेको पाइएको छ । गएको मंगलवार दैलेख बजारमा गरेको अनुगमनका क्रममा नारायण नगरपालिकामा सञ्चालन भएका मासु पसल एग्रोभेट लगायतका पसलबाट ग्राहक ठगिने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले चार्डपर्बको बेला नागरिकहरू ठगिने जनगुनासो आएको भन्दै गएको मंगलबारबाट अनुगमन थालेको थियो अनुगमन थालेको पहिलो दिन नारायण नगरपालिकाको बजार क्षेत्र अनुगमन गर्दा अखाद्य बस्तुहरू फेला परेको प्रशासनले जनाएको छ ।
बिहीबार अनुगमनकै क्रममा प्रशासनले नौमाले गाउँपालिकाअन्तर्गत नौमाले बजार करिब २६ वटा पसलहरू अनुगमन गरिएकोमा मेडिकल क्षेत्रमा धेरै बेथिति पाइएको प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।

उनका अनुसार नौमुलेमा गरिएको अनुगमनमा मेडिकल क्षेत्रमा धेरै बेथिति भएको पाइएको छ । सरकारी कर्मचारी गाउँपालिकामा कार्यरत (अहेव) सुशील विष्टले करिब आठ लाखको अवैध औषधि बिक्री गरेको पाइएको छ । त्यो क्षेत्रमा सञ्चालन भएका अधिकांश पसलहरू दर्ता नै भएका छैनन् । गाउँपालिकामा कार्यरत कर्मचारी सुमन न्यौपानेले पनि बिनाअनुमति मेडिकल सञ्चालन गरिरहेको समेत स्थानीयले सूचना दिएको र उनीलाई फोन सम्पर्क गर्दा उनी सम्पर्कमा नआएको अधिकृतको भनाइ छ ।

अनुगमनलाई तीव्रता दिँदै अनुगमन टोली शुक्रबार डुंगेश्वर गाउँपालिकाको बजार क्षेत्रमा पसेको थियो । करिब ३० बटा पसल अनुगमन गर्दा पसलमा म्याद सकिएका खाद्य बस्तु भेटिएपछि प्रशासनले त्यस्ता बस्तुहरू नष्ट गरेको छ । अनुगमन गरिएका पसल मध्ये ६ वटा पसल दर्ता नै नभएर सञ्चालनमा आएका छन् । प्रायःजसो खाद्य खुद्रा, मासु पसल, एग्रोभेट तथा मेडिकल क्षेत्रमा बेथिति देखिएको प्रशासनले जानकारी दिएको छ ।

त्यस्तै आइतबार भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारमा रहेका ४३ पसलमा अनुगमन गरिएको थियो । अनुगमन टोली गएपछि बेस्तडामा सञ्चालन भएका मेडिकलहरू बन्द गरी सम्पर्कविहीन भएको अनुगमन टोलीले बताएको छ । बेस्तडामा सञ्चालन हुने शाही मेडिकल हल, दुर्गा मेडिकल हल र एक नाम नखुलेको मेडिकल विनादर्ता नै सञ्चालनमा आएको त्यहाँका स्थानीयहरूबाट गुनासो आएको र आपैmँले धेरैपटक सम्पर्क गर्दा मेडिकलका सञ्चालकहरू सम्पर्कमा नआएकोले उनीहरूलाई प्रशासनका कार्यालयमा बोलाएको उक्त टोलीले सौर्य दैनिकलाई जानकारी दिएको छ ।

अनुगमन टोलीले बताए अनुसार बेस्तडाका सञ्चालन भएका मासु पसल दुर्गन्धित छन् । होटेल तथा कस्मेटिक पसलहरू विनादर्ता सञ्चालन छन् । त्यहाँ सञ्चालन भएको किसान दूध डेरीमा पाइने पनिर, मिठाई बिस्कुटहरू समेत म्याद गुज्रेका पाइएकोले नष्ट गरिएको छ । फूलबारी गेस्ट हाउसबाट ठुलो मात्रामा म्याद गुज्रेका कोक फ्यान्टा लगायतका पेय पदार्थ नष्ट गरिएको छ । बेस्तडामा मात्र २ लाख भन्दा बढी म्याद गुज्रेका सामाग्री भेटिएपछि प्रशासनले अझै बजार अनुगमनलाई तीव्रता दिने भएको छ । आइतबार भएको अनुगमनमा उपभोक्ता हित संरक्षण कार्यालय कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

उपभोक्ता हित संरक्षण ऐन २०७५ तथा नियमावली २०७७ अनुसार प्रत्येक उपभोक्ताको हित संरक्षणको लागि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तीव्रता दिएको र सामान्य सुधार गर्नुपर्ने पसलहरूलाई आवश्यक निर्देशन दिँदै धेरै गल्ती भेटिएका पसलहरूलाई कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

यता पसल सञ्चालकहरू भने प्रशासनले अनुगमनको नाममा ज्याजती गरेको बताउँछन् उनीहरू भन्छन् प्रशासनले एक महिना अगावै यस बारेमा जानकारी दिनुपर्छ । जानकारी दिँदादिँदै कसैले अटेर गरेर यस्तो कार्य गरेमा उनीहरूलाई कानुनी कारबाही गर्नुपर्ने हो ।
यस विषयमा अधिकार कर्मीको धारण भने फरक छ । उनीहरू भन्छन् प्रशासनले हरेक तीन÷तीन महिनामा अनुगमन गर्नुपर्ने हो । दसैँ तिहारमा मात्र अनुगमन गरेर औचित्य नहुने हुँदा प्रशासनले अब तीन÷तीन महिनामा अनुगमन गर्नुपर्छ ।

प्रतिक्रिया