कञ्चनपुर । चाडपर्वकै मुखमै जिल्लामा तरकारीको मूल्य अस्वभाविक रूपमा बढेको छ । निरन्तरको वर्षापछि तरकारीको मूल्य दोब्बरदेखि तेब्बरले बढेको छ । तरकारीको मूल्य एक साताको अवधिमै २० देखि ८० प्रतिशतले बढेको छ । मूल्य बढेसँगै उपभोक्ता मर्कामा परेका छन् । सबैभन्दा बढी दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी मारमा परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबान पारेर नोक्सानी गरेका कारण तरकारीको मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ रहेको छ । ‘वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन’, मण्डी व्यवसायी संघका अध्यक्ष विसाल सोनारले भने, ‘किसानको खेतबारीमा वर्षाले केही बाँकी राखेन, तरकारीको अभाव भएसँगै मूल्य अकासिएको छ, माग धेरै छ, आपूर्ति थोरै छ, त्यसैले मूल्य वृद्धि भएको छ ।’
तरकारीको स्थानीय उत्पादन प्रर्याप्त हँुदा मूल्य थोरै हुने गरेको थियो । ९० प्रतिशत तरकारी वर्षाले बर्बाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उनले बताए । ‘केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउँथ्यो, केही स्थानीय उत्पादन हुन्थ्यो र केही तरकारी भारतबाट आउने गरेको थियो’, उनले भने, ‘त्यसैले मूल्य थोरै हुन्थ्यो, हाल भारतीय तरकारीले मात्रै यहाँको बजार धान्दै आएको छ ।’ उनका अनुसार हाल ८० प्रतिशत तरकारी भारतबाट, १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ भने पाँच प्रतिशत तरकारी मात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानीय स्तरमा नै उत्पादन हुने गरेको थियो ।
२० प्रतिशत तरकारी मात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानी रूपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यमा वृद्धि हुनु कारण रहेको बताइएको छ । भारतबाट हाल दैनिक पाँचदेखि ६ ट्रक बढी तरकारी भारतबाट आयात हुने गरेको छ । बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्य वृद्धि भएको व्यवसायीले नै बताउने गरेका छन् । व्यवसायीका अनुसार हाल बजारमा ३० प्रति किलोका दरले बिक्री हुने सेतो आलु ५०, ३५ मा बिक्री हुने रातो आलु ६०, ६० मा बिक्री हँुदै आएको पहाडी आलु ८० रुपैयाँमा खुद्रा मूल्यमा बिक्री भइरहेको छ ।
यसैगरी, ८० मा बिक्री हुँदै आएको प्याज सयदेखि १ सय २०, गोलभेँडा ठूलो ८० बाट १ सय २०, फर्सी ६० बाट सय, लौका ५० बाट ९०, बोडी ६० बाट १ सय २०, काउली ६० बाट ९० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । भन्टा ६० बाट १ सय २०, मिसला मिर्च १ सय २० बाट दुई सय, काँक्रो ६० बाट सय र हरियो साग ५० बाट १ सय २० रुपैयँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ । सिमी ८० बाट १ सय ६०, तितेकरेला ६० बाट १ सय ४०, खुर्सानी ८० बाट १ सय ३० रुपैयाँ प्रतिकिलोका दरले खुद्रा मूल्यमा बिक्री भइरहेको छ । व्यापारीले तरकारीमा प्रतिकिलोमा १० देखि २० प्रतिशतसम्म नाफा राखेर बेच्न सक्ने प्रावधान भए पनि ४० देखि ६० प्रतिशतसम्म नाफा राखेर बेच्ने गरेको उपभोक्ताको भनाइ छ । चाडपर्वका बेला तरकारीको मूल्य आकासिएको भए पनि स्थानीय प्रशासनले भने तरकारी बजारको हालसम्म अनुगमन नगर्दासमेत तरकारीको मूल्य अकासिएको बताइएको छ ।
प्रतिक्रिया