पर्वत । दक्षिण पर्वतको पैंयु गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलासँग ‘उपाध्यक्ष सन्चो बिसन्चो’ कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्रका कोही पनि गर्भवती महिला र नवजात शिशुहरु गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम सुरु गरिएको हो ।
आव २०७८–७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिला र नवजात शिशुको पोषणका लागि यो कार्यक्रम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए ।
उक्त कार्यक्रमका लागि सञ्चालन कार्यविधि २०७८ समेत पारित गरेर गर्भवती अथवा सुत्केरी महिलालाई पोषणका लागि प्रतिसुत्केरी रु पाँच हजार प्रदान गर्ने व्यवस्था गरिएको छ ।
विपन्न परिवारका महिला तथा बालबालिकालाई दुई पटक रु पाँच–पाँच हजारका दरले र अन्य महिलालाई एक पटक रु पाँच हजारका दरले रकम दिइने भएको छ । रकमसँगै आवश्यक सामग्रीसमेत सहयोग गरिने जनाइएको छ ।
यो कार्यक्रम गत आइतबार गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङले वडा नं ३ स्थित बेउलीबासमा शुभारम्भ गरेकी थिइन् । उक्त वडाका सुत्केरी महिलालाई उनले रु पाँच हजारका दरले नगद प्रदान गरेकी छन् ।
गाउँपालिकाले घरमै आएर सुत्केरी खर्च उपलब्ध गराएपछि महिला हर्षित बनेका थिए । गाउँपालिकाका सातवटै वडामा यो कार्यक्रम विस्तार गरिने भएको छ । यसबाट प्राय विपन्न परिवारका महिला र बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया