विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रदेश–१ स्तरीय प्रथम त्रैमासिक प्रगती समीक्षा गोष्ठी विराटनगरमा आइतबारदेखि सुरु भएको छ । तीन महिनामा परियोजनाले गरेको प्रगति तथा समीक्षाका विषयमा छलफल गर्न परियोजना कार्यान्वयन इकाई मोरङले गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा प्रदेश–१ का १४ जिल्लाका परियोजना कार्यान्वयन इकाई प्रमुख तथा ज्ञानकेन्द्रका प्रमुखहरूको सहभागिता रहेको छ । गोष्ठीको उद्घाटन गर्दै प्रदेश–१ भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.रामानन्द तिवारीले परियोजनाले गरेको काम सन्तोषजनक भए पनि नतिजा देखिने गरी कामको तथ्यांक बाहिर ल्याउन परियोजनालाई आग्रह गरे ।
उनले परियोजा सञ्चालनमा आएको ६ वर्ष पुगिसकेको छ भन्दै परियोजनाका कारण कति किसान लभान्वित भए कति किसानले रोजगारी पाए तथा उत्पादन कति बढ्यो त्यसको यकिन तथ्यांक बाहिर ल्याउनुपर्ने बताए । परियोजनाले माछा उत्पादनमा वृद्धि भएको यकिन तथ्यांक बाहिर ल्याउनसके भन्सार शुल्क बढाएर भए पनि बाहिरबाट आउने माछा रोक्न सकिने उनको भनाइ थियो । परियोजना कर्यान्वयनलाई थप प्रभावकारी वनाउन परियोजनासँग प्रदेश सरकार समन्वय र सहकार्य गरेर अघि बढन चाहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले परियोजना सञ्चालनमा आएपछि प्रदेश–१ मा व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्नुका साथै माछा फलपूmल तथा कृषि उत्पादन बढेको बताए । पर्याप्त बजेट नहँुदा किसानहरूले माग गरेअनुसार मेसनरी सामान परियोजनाले दिन नसकेको तथा परियोजनाले माग गरेअनुसार चक्लाबन्दी खेतीका लागि निवेदनसमेत नपरेको उनको भनाइ थियो । उनले माछा पोखरी खन्दा दिने अनुदानमा एकरूपता हुनुपर्ने भन्दै माछा तथा धानजोन सञ्चालनमा दोहोरोपन नभएको प्रष्ट पारे । उनले परियोजनाले प्रदेश–१ मा गरेको कामको समीक्षा तथा प्रगति विषयमा कार्यपत्रसमेत प्रस्तुत गरे ।
परियोजना व्यवस्थापन एकाई खुमलटारको वरिष्ठ कृषि अधिकृत मेघराज तिम्सिनाले परियोजनले सञचालन गरेको बालीहरूको उत्पादन बढाएर बाहिरबाट आउने वस्तुहरूको आयातमा कमी ल्याउनुपर्नेमा जोड दिए । परियोजना सञ्चालनमा जनशक्तिको अभाव देखिएकाले त्यसलाई कुनै विधि अपनाएर जनशक्ति पूर्ति गर्ने उनले बताए । उनले मुलुकभरी परियोजनाले कसरी सञ्चालन भएरहेका छन् त्यसबारेमा जानकारी गराएका थिए ।
माछा जोन सञ्चालक समिति मोरङका संयाजक देवराज चौधरी तथा कृषिज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराव तथा कृषि अनुसन्धान केन्द्र तरहराका निर्देशक केशवप्रसाद श्रेष्ठले ब्लकमा सञ्चालन भएका परियोजनालाई जोनमा विस्तार गर्दै जानुपर्नेमा जोड दिए । गोष्ठी दुई दिनसम्म चल्नेछ । एउटा सुपरजोनसहित प्रदेश–१ मा ३७ वटा जोन सञ्चालनमा छन । परियोजनले १५ प्रकारका बालीलाई लक्षित गर्दै जोन सञ्चालनमा ल्याएको छ । जोन सञ्चालनमा आएपछि माछा, धान, अलैँची, मकै तथा फलफूलको उत्पादन बढ्नुका साथै पशुपालन व्यवसायमा युवाहरूको आकर्षण बढेको पाइन्छ । जोन सञ्चालनमा आएपछि पोखरी खन्न तथा कृषि मेसनरी सामानमा तथा पशुपालन तथा कृषिमा तथा सिँचाइका लागिसमेत अनुदान सहयोग उपलव्ध गराउँदै आएको परियोजनाले जनाएको छ ।
प्रतिक्रिया