सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन्। पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हीराजडित ताज लगाउन सफल भएकी छन्। उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन् ।

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगितामा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो। नीनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप र डा केशु खड्का फोर्थ रनरअप घोषित भए । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए ।

प्रतिक्रिया