प्रधानन्यायाधीश विरुद्धको मोर्चा ढिसमिस हुने संकेत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको केही न्यायाधीशले र वरीष्ठ अधिवक्ताहरूको मोर्चाबन्दी अन्तत ः ढिसमिस हुने देखिएको छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले साथ नदिने भएपछि यो मोर्चाबन्दी पानीको फोका सरह हुने भएको हो । जवराले शुक्रवारदेखि सर्वोच्च अदालतका अधिकांश इजलासहरू सुचारु हुने संकेत गरेका छन् । कांग्रेस र एमालेनिकट संगठनका करिब एक दर्जन कानून व्यवसायीहरूसँगको भेटमा प्रधानन्यायाधीशले ‘शुक्रबारदेखि प्रायः इजलास चल्ने’बताएका हुन् ।

पूर्वन्यायाधीश भैरव लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न विहीबार करिब एक घण्टा फुल कोर्टको बैठक बसेको थियो । सो छलफल चलिरहँदा डीएलए र पीपीएलए सम्बद्ध वकिलहरू प्रधानन्यायाधीशको च्याम्बरबाहिर पर्खेर बसेका थिए । कार्की र शर्मा निस्केपछि करिब एक दर्जन वकिलले प्रधानन्यायाधीशसँग पछिल्लो अवस्थाको बारे छलफल गरेका थिए ।

सो अवसरमा प्रधानन्यायाधीशले आफूमाथि नियोजितरूपमा घेराबन्दी भएको भन्दै सडकबाट राजीनामा माग्दैमा नदिने बताएका थिए । उनले केही वरिष्ठतम न्यायाधीशले कर्मचारी सरुवादेखि न्यायाधीश सरुवामा समेत भागबण्डा खोजेको र त्यो नपाउँदा आफूविरुद्ध बाहिरी जमात सक्रिय गराएको बताए ।

सो अवसरमा वकिलहरूले इजलास बहिष्कारको अवस्थाबारे सोधेपछि राणाले भने– बिहीबारैैबाट बस्ने थियो तर शोक प्रस्ताव पारित गरेपछि भएन । भोलिबाट एकाधबाहेक अरु बेन्च बस्छ होला । राणाको संकेत हड्तालमा उत्रिएका केही वरिष्ठतम न्यायाधीश र उनीहरू निकटबाहेक अरु इजलासमा फर्किने रहेको भेटमा सहभागी एक कानून व्यवसायीले बताए ।

महाअभियोग नचाहिँदो हल्ला हो : देउवा 
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको लफडामा नपर्ने प्रष्ट पारेका छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गर्नुअघि निकटस्थहरुसँगको परामर्शका क्रममा महाअभियोगमा कांग्रेस नजाने बताएका हुन् । कांग्रेसकै केही ‘पपुलिस्ट नेता’ले मिडिया खपतका लागि आफूमाथि दबाब दिए पनि प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको कुरा वाहियात भन्दै ‘नचाहिने हल्ला’मा नलाग्ने बताएको बालुवाटारबाट निस्केपछि एक नेताले बताए ।

ती नेताले भने– शुक्रबारसम्म मिल्छ होला भन्दै उहाँले पहिलेकै महाअभियोग सम्हालिनसक्नु भएकाले अब लफडामा नपर्ने बताउनुभयो । उहाँले नचाहिदो हल्ला नपत्याउन राष्ट्रपतिलाई पनि भेटमा आग्रह गर्नु भएको रहेछ । हामीले राणाविरुद्ध महाअभियोग लाउनासाथ एमालेले अरु चारजना न्यायाशमाथि महाअभियोग लगाइहाल्छ, कांग्रेस फेरि कलंक किन बोक्छ । कांग्रेसले नगरेपछि प्रचण्ड–माधवले मात्र महाअभियोग लगाउन सम्भव छैन ।

विदेश भ्रमणमा जानुअघि ब्रिफिङ गर्ने प्रचलन अनुसार प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बिहीबार दिउँसो शीतल निवास गएका थिए । शीतल निवासबाट फर्केपछि देउवाले आफू निकटहरुसँग राष्ट्रपतिलाई पनि आफूले महाअभियोग नचाहिँदो हल्लामात्र भएको बताएको जानकारी दिएका थिए ।

राजीनामा माग्नु गलत : एमाले 
प्रमुख विपक्षी नेकपा एमालेले सडकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्नु गलत भएको बताएको छ । प्रधानन्यायाधीश नियुक्त गर्ने तथा हटाउने संवैधानिक विधि रहेको भन्दै उसले जबरालाई हटाउने भए महाअभियोग ल्याउनुपर्नेतर्फ संकेत गरेको छ । बिहीबार एमाले स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले न्यायालयमा गुटबन्दी र चरम अराजकता देखिएको बताए ।

न्यायाधीशहरुको गुटबन्दीका कारण संकटकालमा समेत रोक्न नपाइने बन्दी प्रत्यक्षीकरणको मुद्दाहरु प्रभावित भएका भएको भन्दै ज्ञवालीले भने, ‘नागरिकको संविधान प्रदत्त अधिकारको हनन गर्ने उहाँहरुको यो गतिविधि असाध्यै अशोभनीय र दुःखद छ ।’ निश्चित राजनीतिक दल वा नेताहरुको स्वार्थका लागि न्यायालयका केही व्यक्तिले गरेको अपवित्र साठगाँठ अहिलेको समस्या भएको ज्ञवालीले बताए । तर त्यसतर्फ बहस नै नभएको र एक जना (जबरा)लाई लक्षित गर्ने काम भएको बताए ।

प्रतिक्रिया