ओटिटीमा ‘डाँडाको वरपीपल’

काठमाडौं । शोभित बस्नेतले निर्देशन गरेको चलचित्र ‘डाँडाको वरपीपल’ ओटिटीमार्फत प्रदर्शनमा आएको छ । कोरोना कालपछि सिनेमा हल खुल्दा अन्य चलचित्रसँगको भिडन्तविनै एकल प्रदर्शनजस्तै अवस्था पाएको यो चलचित्रले खासै जम्न सकेन् । अर्को नेपाली चलचित्र ‘धन्धागिरी’ प्रदर्शनमा आए पनि प्रचार प्रसार र चलचित्रमा भएका अनुहारहरुको कारण ‘डाँडाको वरपीपल’ को एकल वर्चस्व नै थियो । तैपनि चलचित्रले दर्शक तान्न सकेन । हलमा दर्शकको लगभग शून्य उपस्थिति भएपछि चलचित्रलाई सिनेमा हलबाट हटाइयो । २६ असोजबाट प्रदर्शनमा आएको यो चलचित्र केही दिन पनि राम्रोसँग दर्शकको उपस्थितिमा सिनेमा हलमा प्रदर्शन हुन पाएको थिएन । दर्शकदेखि चलचित्रकर्मीले नै चलचित्र नचल्नुका थुप्रै कारण औंल्याए । कतिपयले शोभित बस्नेतले अनायासै निकालेको ‘महानायक’ विवादका कारण चलचित्रलाई नोक्सान भएको कारण बताए भने कतिपयले सिनेमा हलमा दर्शक आउने माहोल नभएको विचार व्यक्त गरे ।

निर्देशक शोभितले चलचित्र नचल्नुको कारण दर्शक सिनेमा घरसम्म आउने माहोल नभएको र कोरोनाले थलिएको चलचित्र क्षेत्र उठिनसकेको बताइरहे । उनले आफूले झिकेको ‘महानायक’ विवादको असरका कारण चलचित्र नचलेको भन्ने तर्कलाई नकार्न कुनै कसर बाँकी राखेनन् । तर, स्मरण होस, सँगै प्रदर्शनमा आएका अंग्रेजी चलचित्रमा उत्साहजनक दर्शकको उपस्थिति हुँदा शोभितको चलचित्रले भने एक दर्जन दर्शक पनि पाउन हम्मेहम्मे परेको थियो । सिनेमा हलमा आफ्नो चलचित्र फ्लप भएपछि उक्त चलचित्रलाई अब ओटिटी माध्यमबाट प्रसारण गर्ने जमर्को गरिएको छ ।

‘डाँडाको वरपीपल’ को निर्माण टिमले डिसहोमको चलचित्र प्रसारण हुने ‘च्यानल नम्बर ८८८’ बाट ११ कात्तिकदेखि प्रदर्शनमा आउने जनाएको छ । उक्त च्यानलबाट चलचित्रलाई २ सय २५ रुपैयाँ तिरेर एक सो हेर्न सकिने व्यवस्था गरिएको छ । एकातिर पुरानै कथामा पुरानै प्रस्तुतिसहित निर्माण भएको चलचित्र र अर्कातिर चलचित्रको प्रचारको लागि नेपाली दर्शकका सर्वप्रिय अभिनेता राजेश हमाललाई ‘महानायक’ होइन भन्ने विवाद झिकेका कारण ओटिटीमा पनि सिनेमा हलमा जस्तै शोभितको चलचित्रलाई नोक्सान नै हुने सम्भावना बढी देखिन्छ ।

प्रतिक्रिया