नेपालमा धेरै भयानक हुनसक्छ कोरोनाको तेस्रो लहर

डा. पल्लवी कोइराला

यो आलेख तयार गर्दै गर्दा नेपालको राजनीति मात्रै होइन न्याय क्षेत्रसमेत तरंगित अवस्थामा पुगेको खबर आइरहेको छ । कोभिड–१९ को खतरा अझै टरेको छैन । यद्यपि अस्पतालमा भर्ना हुनपर्ने, गम्भीर अवस्था, मृत्यु दरमा केही कमी देखिएको छ तर यी नयाँ घटनाहरूमा गिरावट मुख्यतया अपर्याप्त परीक्षण र ट्रेसिङको कारणले भएको हुनसक्छ । समयमा सजग नरहे तेस्रो लहरले भयावह अवस्थाको सामना गर्नुपर्ने ठूलो सम्भावना देखिन्छ ।

यो आलेख तयार गर्दै गर्दा नेपालको राजनीति मात्रै होइन न्याय क्षेत्रसमेत तरंगित अवस्थामा पुगेको खबर आइरहेको छ । नेपालमा अझै कोभिडको जोखिम कायम रहँदारहँदै पनि सावधानीपूर्वक दैनिक जीवन सुचारु गर्ने आह्वानका साथ सरकारले लकडाउन खुकुलो बनाएको छ । सायद यो सरकारका लागि बाध्यता थियो र जनताका लागि आवश्यकता पनि । निश्चय पनि असार महिना सरकारको लागि आर्थिक कारोबार सक्रिय हुने महिना हो । हिसाबकिताब फस्र्याेट हुने, बजेट निर्माण हुने, बढी कर संकलन हुने हुँदा खुल्ला गरिएको हुनसक्छ । त्यसपछि चाडवाडको मौसममा त जनताको दबाब पनि हुने नै भयो ।

कोभिड–१९ को खतरा अझै टरेको छैन । यद्यपि अस्पतालमा भर्ना हुनपर्ने, गम्भीर अवस्था, मृत्युदरमा केही कमी देखिएको छ तर यी नयाँ घटनाहरूमा गिरावट मुख्यतया अपर्याप्त परीक्षण र ट्रेसिङको कारणले भएको हुनसक्छ । समयमा सजग नरहे तेस्रो लहरले भयावह अवस्थाको सामना गर्नुपर्ने ठूलो सम्भावना देखिन्छ । तीन करोड जनसंख्याको २५ प्रतिशत कमले खोपको दुवै डोज पाएको हाम्रो देशमा तेस्रो लहर अत्यन्तै घातक हुने अनुमान यी आँकडाले पनि पुष्टि गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ को अवस्था विश्वव्यापी रूपमा अझैसम्म खतरा भई फैलिनुका प्रमुख चार कारणहरू रहेका छन् :
१. भाइरसको बदलिँदो भेरियन्टस्
२. बढ्दो सामाजिक मिश्रण र मान्छेको गतिशीलता
३. सार्वजनिक स्वास्थ्य र सामाजिक उपायको अनुपयुक्त प्रयोग
४. खोप असमानता ।
भारतमा प्रभाव पारेको भाइरसको तेस्रो लहरले नेपालमा पनि असर पार्ने सम्भावना देखिन्छ । यदि हामी यो कोभिड–१९ को संक्रमणलाई समयमा सावधानी अपनाएर नियन्त्रण गर्न सकेनौँ भने, अहिले भारतमा आउने अनुमान गरिएको तेस्रो लहर नेपालको भविष्यको डरलाग्दो पूर्वावलोकन हो जसले धेरैको ज्यान लिन सक्छ । बच्चाहरू यो भाइरसको सबैभन्दा जोखिममा पर्ने अनुमान गरिएको छ । जब दोस्रो छाल चरम सीमामा थियो, ०–९ र १०–१९ वर्षबीच भाइरस संक्रमितको संख्या द्रुत गतिमा बढेको थियो । खोप १८ वर्षभन्दा माथिका मानिसहरूलाई मात्र लगाएको हुनाले बच्चाहरू भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ । संक्रमणको पहिलो र दोस्रो लहरमा वयस्कहरूको जनसंख्यामा बढी ध्यान केन्द्रित गरिएकोले तेस्रो लहरको तयारी गरिरहँदा बच्चालाई पनि उपचार गर्न तयार हुन सम्बन्धित एजेन्सीहरूलाई सचेत गराउनु आवश्यक देखिन्छ ।

नेपाल कोभिड–१० को दुई फरक लहरबाट ग्रसित भइसकेको छ । पहिलो लहर सेप्टेम्बर २०२० मा चरम अवस्थामा पुगेको थियो भने दोस्रो लहर अप्रिल २०२१ मा सुरु भएर मे २०२१ मा बढ्दो रुपमा फैलिएको थियो । महामारीको दोस्रो लहरमा अपर्याप्त तयारीको कारणले विनाशकारी प्रभाव देखियो । धेरै जसो काठमाडौं र देश भरका अस्पतालहरूमा बेड र अक्सिजनको सिलिन्डरलगायत आइसियु सुविधाको अभावको कारण बिरामीहरूले निरन्तर संघर्ष गरिरहनुप¥यो ।

संक्रमित बिरामीलाई (घर–आधारित वा संस्था–आधारित) सख्त नियमहरू र निगरानीमा राखी स्थानीय सरकारमार्फत पूर्ण रूपमा कार्यरत हुनुपर्दछ । संक्रमित बिरामीलाई खाना, पिउने पानी, बारम्बार स्वास्थ्य जाँच र औषधिसहित सबै आवश्यक सुविधाहरूको साथ आइसोलेसन केन्द्रहरूमा राख्ने व्यवस्था मिलाउनुपर्छ । वर्तमान समयको आवश्यकता भनेको कुनै पनि माध्यमबाट कोभिड–१९ भ्याक्सिनको व्यवस्था तेस्रो लहरको थालनी हुनुभन्दा पहिले मिलाउनु हो । कोभिड–१९ खोप कार्यक्रम सफलतापूर्वक कार्यान्वयन नहुँदासम्म सेनिटाइजर, मास्क प्रयोग र सामाजिक दुरी रणनीतिमा ध्यान केन्द्रित गर्नुपर्दछ जुन तात्कालिक प्रभावकारी रणनीति हो । खतरनाक भेरियन्टहरू प्रारम्भिक पहिचान गर्न र निगरानी, रोकथाम र केस व्यवस्थापन वृद्धि गर्न महत्वपूर्ण छ ।

नेपालले चीन र अमेरिकाबाट प्राप्त गरेका खोपहरू धमाधम प्राप्त भई भण्डारण गर्ने क्रममा छन् । हालै अमेरिकाबाट नेपाल जोन्सन एन्ड जोन्सन कम्पनीका १५ लाख ३४ हजार ८ सय ५० डोज खोप उपलप्ध गराइएको छ । एकपटक लगाए पुग्ने यो खोप १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुनेछ । थप खोप उपलब्ध गराउने प्रतिवद्धता आइरहेका छन् । यो पहल र प्राप्ती प्रर्याप्त नभए पनि सन्तोषजनक छ । सरकारले रणनीतिक योजना बनाई कडा टाइमलाइन र आधिकारिक प्रतिबद्धताका साथ इच्छुक राष्ट्रहरूसँग सम्झौता गरी थप कोभिड खोपहरू उपलब्ध गराउनु आजको आवश्यकता हो ।

नियमित रूपमा भाइरस उत्परिवर्तन र भ्याक्सिनको अभावका कारण नेपालमा महामारीको तीव्र असरको सम्भावना देखिन्छ । निश्चय पनि हाम्रोजस्तो गाँस, वास कपासका लागि निरन्तर संघर्ष गर्नुपर्ने मुलुकका लागि लकडाउन जारी राख्नु एक व्यावहारिक विकल्प हुँदै होइन तर तेस्रो लहरको खतरा रहेको र सरकारको ठोस र दीर्घकालीन तयारी नभएको कारण तेस्रो लहर नेपालका लागि अधिक घातक हुनसक्दछ । स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्दै सावधानीपूर्वक जीवनशैलीलाई अनुशासित बनाएर महामारी परास्त गर्न हामी सबै सचेत बन्नु जरुरी छ ।

खोपहरू कोभिड–१९ बिरूद्धको लडाइँमा महत्वपूर्ण उपाय हुन्, र हामीसँग पहिले नै भएका उपकरणहरू प्रयोग गर्न स्पष्ट सार्वजनिक स्वास्थ्य र जीवन बचाउने लाभहरू छन् । कोभिड–१९ खोपहरू जुन हाल विकासमा छन् वा अनुमोदित गरिएको छ नयाँ भाइरस भेरियन्टहरू विरूद्ध कम्तिमा केही सुरक्षा प्रदान गर्ने अपेक्षा गरिन्छ । किनिक, यी खोपहरूले एन्टिबडी र कोशिकाहरूको दायरा समावेशी एक व्यापक प्रतिरक्षा प्रतिक्रिया दर्साउँछ । त्यसकारण भाइरसमा परिवर्तन वा म्युटेसनले खोपहरू पूर्ण रूपमा प्रभावहीन बनाउँदैन । प्रसारण घटाउने हालको उपायहरू – बारम्बार हात धुनु, मास्क लगाउनु, शारीरिक दुरी, राम्रो भेन्टिलसेन र भिड हुने ठाउँहरूबाट अलग रहनु । जब हामी अधिक सीमित स्थानहरूमा भेला हुन्छौँ, तब हामी भाइरसलाई विकसित हुन मौका दिइरहेका हुन्छौँ । मापदण्डहरू लागू गर्ने काम स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी होइन, यो सबैको उत्तरदायित्व हो । कम्तिमा एक मिटर दुरी आफू र अरूबीच कायम राख्नुहोस् । घरभित्र हुँदा आफू र अरू बीचको अझ ठूलो दुरी बनाउनुहोस् । जति टाढा त्यति राम्रो ।

मास्क लगाउनुलाई अन्य व्यक्तिको वरिपरि सामान्य बनाउनुहोस् । सकेसम्म प्रभावकारी बनाउन मास्कको उचित प्रयोग, भण्डारण र सफा गर्ने वा डिस्पोजल आवश्यक हुन्छ । हालै प्राप्त जानकारी अनुसार यो नियन्त्रणको लागि दुइटा मास्क प्रयोग गर्नु अझै प्रभावकारी देखिएको छ । कोभिड–१९ हुने जोखिमहरूमा भिड र अपर्याप्त हावा आवतजावत हुने स्थानहरूमा बढी हुन्छन् । जहाँ संक्रमित व्यक्तिहरू निकट समयको लागि सँगै लामो समय बिताउँछन् । त्यसैले सावधानी अपनाउनु अझ महत्त्वपूर्ण छ ।

यस्तो लाग्दैछ हामी सम्पूर्ण मानव हातहतियार बिनाको विश्व युद्ध लडदैछौँ । तत्कालै महामारी अन्त्य हुने सम्भावना न्यून छ । यो स्पष्ट छैन कि हामी खोपको वर्तमान स्तरको कारण र विश्वव्यापी रूपमा खोपको पहुँचको कारण प्रतिरोधात्मक क्षमता प्राप्त गर्नेछौँ । त्यसकारण जनस्वास्थ्यको मापदण्डको निरन्तर पालनासहित महामारीको अन्त्य गर्न विश्व मानव समुह नै एकजुट भएर निरन्तर प्रयत्नरत रहिरहनु नै हाम्रो विजय हो ।

प्रतिक्रिया