सर्यो कांग्रेस महाधिवेशन, यस्तो छ नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो । केन्द्रीय निर्वाचन समितिको आजको बैठकले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेशसभा क्षेत्र अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गर्नेगरी कार्यतालिका बनाइएको छ । निर्वाचन समितिले प्रस्ताव गरेको नयाँ कार्यतालिमा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने उल्लेख छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीका अनुसार मंगलबार कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गर्न निर्वाचन समितिलाई जिम्मा दिएको थियो । सोही अनुसार समितिले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । निर्वाचन समितिले नयाँ तालिका प्रस्ताव गरेपनि कांग्रेस महाधिवेशन सार्न केन्द्रीय समितिको बैठक बस्नुपर्ने हुन्छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको नयाँ मिति अनुमोदन गर्न केही दिनमै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् ।

कांग्रेसमा १३ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश २ का ८ र अन्य ५ गरी १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद पनि समाधान हुन बाँकी नै छ ।

नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ कार्यतालिका ः
कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा÷पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
मंसिर १० गते : जिल्ला अधिवेशन
मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
मंसिर २७ देखि पौष १ गतेः  केन्द्रीय महाधिवेशन

प्रतिक्रिया