संविधानले दिएको जिम्मेवारी पूरा गरेर मात्र बाहिरिन्छु : प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुको बीचमा आज भएको भेटमा उनले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताएका हुन् ।

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको छलफलपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेको कुरालाई उद्धृत गर्दै भने, ‘संविधान र कानूनबमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संवैधानिक दायित्व गर्नुपर्छ, म त्यो पूरा गर्न सक्षम छु, संविधान र कानून दिएको जिम्मेवारी पूरा गरेर म बाहिरिन्छु ।’

प्रधानन्यायाधीश जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरु न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि आफूले राजीनामा दिनेसमेत छलफलमा भनेका छन् । प्रवक्ता दाहालले प्रधानन्यायाधीशले भनेको कुरा उद्धृत गर्दै भने, ‘तपाइँहरुले भने जसरी म बाहिरिनु राजी छैन, यदि सेवाबाट मैले राजीनामा दिनुपर्ने हो भने जुन–जुन श्रीमान्का विषयमा प्रश्न उठेको छ उहाँहरुले पनि राजीनामा दिए म पनि राजीनामा दिन तयार छु ।’

प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । सर्वोच्च अदालतमा हिजो र आज पेशी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) सोमबार बस्ने भनिए पनि न्यायाधीशहरु उपस्थित नभएका कारण बस्न सकेन । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरु पूर्ण बैठकमा नगएपछि बैठक बस्न सकेको थिएन । बुधबार फेरि प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल हुनेछ ।

प्रतिक्रिया